गिद्ध संरक्षणका लागि अन्तरक्रिया

गोरक्ष समाचारदाता
तुलसीपुर, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीमा आइतवार गिद्ध संरक्षण अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । डाँडाखुट्टीस्थित सम्झना सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा आयोजना भएको कार्यक्रमलाई सम्वोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले वातावरणमा जैविक शक्तिको व्यापक ह्रास भइरहेकाले यसमा गम्भीर हुन सरोकारवाला निकायहरुलाई आग्रह गरेका छन् ।

पंक्षी संरक्षण संघको सहयोग तथा पर्यावरणीय दिगो विकास अनुसन्धान केन्द्रको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि खड्काले ठूला औद्योगिक मुलुकहरुले उत्सर्जन गरेका हानिकारक ग्यासका कारण मानवजाति नै संकटमा फस्न थालेको बताए । ‘पृथ्वीको तापमान दिनदिनै बढिरहेको छ, यसले पृथ्वीमा करोडौं जैविक शक्तिको नोक्सानी भइरहेको छ’, प्रमुख खड्काले भने ।

उनले वातावरण जोगाउने सन्दर्भ स्थानीय पालिकाको मात्र नभएर आम नागरिकको सहयोग अपरिहार्य रहेको पनि उल्लेख गरे । नागरिकहरु वातावरण जोगाउने सन्दर्भमा सबै सचेत हुनुपर्ने पनि प्रमुख खड्काको सुझाव थियो । अस्वाभाविक प्राकृतिक दोहन रोक्न तुलसीपुर उपमहानगरपालिका कटिबद्ध भएर लाग्ने पनि खड्काले बताए । त्यसैगरी प्रकृतिको कुचिकारका रुपमा रहेका गिद्धहरुको संरक्षण गर्न पनि अहिले उत्तिकै आवश्यकता रहेको उनको अभिव्यक्ति थियो ।

पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा पंक्षी संरक्षण संघका कार्यक्रम अधिकृत भूपाल नेपालीले वातावरण दिवस र यसको सन्दर्भका विषयमा जानकारी गराउँदै वातावरणीय विनास रोक्ने र गिद्ध संरक्षण गर्ने सवालमा सबै सरोकारवाला निकाय सहकार्य गरेर अघि बढ्न पनि उनको सुझाव थियो ।

नेपालमा ९ प्रजातिका गिद्धहरु रहेको उल्लेख गर्दै नेपालीले गिद्धको आवास रहेका सम्बन्धित क्षेत्रका स्थानीयबासी तथा वन उपभोक्ता समूहलाई यसको संरक्षणमा सहकार्य गर्न पनि उनको आग्रह थियो । सरसफाइको व्यवस्थापन, रोग संक्रमणको व्यवस्थापन तथा धार्मिक एवं सांस्कृतिकरुपमा पनि अर्थपूर्ण भूमिकाका रुपमा रहेका गिद्धहरुको संरक्षण गर्न सबै सरोकारवाला निकायसँग सहकार्य गर्न संघ तयार रहेको पनि उनको अभिव्यक्ति थियो ।

सम्झना सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष ललिता वली केसीको स्वागत मन्तव्यबाट सुरु भएको अन्तत्र्रिmया कार्यक्रममा इलाका वन कार्यलय तुलसीपुरका सहायक वन अधिकृत कमल पुन, सम्झना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवराज वली, पत्रकार भरत शर्मा, गोकर्ण पौडेललगायतले गिद्ध संरक्षणको अभियानमा सबै सरोकारवाला निकायले सहकार्य गरेर अघि बढ्न सुझाव दिएका थिए । साथै स्थानीय सरकारले पनि गिद्ध संरक्षण कार्यक्रममा साथ र सहयोग दिन आग्रह गरिएको थियो । कार्यक्रमको सहजीकरण मेनका शर्माले गरेकी थिइन् ।