खेमराज रिजाल
मनिकापुर (दाङ), २२ जेठ । चर्को खडेरीबीच उम्सो मौसममा मैले उनै टोपबहादुर जनैदारलाई सम्झिरहेको छु । दुई वर्ष अघि सायद यस्तै उम्सो मौसममा एकाबिहानै उनी घरछेउको बरपिपलको ठुटोलाई तर्पण दिइरहेका थिए, घर ढलेको छ, फोक्सोको अक्सिजन रित्तिएको छ …।
संयुक्त राष्ट्रसंघको आह्वानमा आज (आइतवार) विश्वभर विश्व वातावरण दिवस मनाइँदै छ, सायद । ‘ब्रह्माण्डमा अर्बौँ आकाशगंगा छन्, आकाशगंगामा अर्बौँ ग्रहहरू छन्, बचाऔँ केवल एउटा पृथ्वी’, यही नारा दिएको छ संयुक्त राष्ट्रसंघले आफ्ना सदस्य मुलुकहरूलाई ।
यही विश्व वातारण दिवस मनाइरहँदा मैले फोर्टिनाइन चोक मनिकापुर कर्नरका उनै टोपबहादुरलाई सम्झेँ । चारलेन सडक विस्तार गर्ने नाममा घोराही–तुलसीपुर सडक खण्डका हजारौँ वरपिपलका रूखहरू काटिए । एक पटक पनि यसको वातावरणीय प्रभावका विषयमा कतैबाट पनि आवाज उठेन । एक हजार वर्ष उमेरसम्मका रूखहरू पनि काटिए । अहिले सडक उजाड छ ।
बटुवाहरूले ती पिपलको रूखमनी बस कुरिरहेका हुन्थे, ज्येष्ठ नागरिक तीनै पिपल चौतारामा भलाकुसारी गरेर दिवा सेवा केन्द्रजस्तै रमाइरहेका हुन्थे, भरियाहरू तिनै बर–पिपल चौतारोमा भारी टेकाएर अपुग भएको अक्सिजनको व्यवस्थापन गर्थे । अर्थात्, टोपबहादुर जनैदारको पनि आधा–आधि समय बिताउने त्यही पिपल चौतारो ।
‘मैले त्यो पिपललाई मेसिन लगाएर अघिल्लो रात काटिरहँदा हेर्न समेत सकेको थिएन, अहिले बल्लतल्ल यही पिपलको ठुटोमा आएर जल चढाउँदै छुँ’, भर्खरै काटिएको पिपलको ठुटोमा जसरी जमिन मुनिबाट रस आएको थियो, त्यसरी नै रसिला आँखामा टोपबहादुर उपस्थित थिए, पिपलको किरियामा … ।
उनी वहकिँदै थिए, ‘मैले बुवाआमाजस्तै एउटा अभिभावक गुमाएको छु, यो पिपल मेरो पुस्तामा कहिल्यै हुर्किएर आउने छैन ।’ उनी सरकारलाई वातावरणप्रेमी नभएको भनिरहेका थिए, ‘रूख काट्ने ठेकेदारलाई हत्याराकै उपमा दिन्थेँ ।’ सरकारलाई वातावरणप्रति चिन्ता हुन्थ्यो भने यति हतारोमा सडक किनाराका सबै रूखहरू सखाप पार्ने थिएन, रूखको वल्लो–पल्लो पट्टिबाट पनि त सडक विस्तार हुन सक्थ्यो ।
चारलेनको ठेक्कामा जोडिएको ग्रीनबेल्टलाई उनी सरकारको दिवास्वप्न भनिरहेका थिए । यदि त्यसो भइहाले पनि ग्रीनबेल्टमा सिउँडी, दुवो, धुपी बाहेक यति ठूला बर–पिपल हुने छैनन्, शीतलता दिने छैनन् । यो विषयमा सरकार कत्ति पनि गम्भीर देखिएन, उनी बहकिँदै थिए ।
हो, उनले दिनदिनै आश्रय लिने पिपलको रूख काटिँदा दश दिनसम्म अलिनो बसेका थिए । वातावरण दिवसको अवसरमा केवल एउटा पृथ्वी बचाउ भनेर संयुक्त राष्ट्रसंघले आह्वान गरिरहँदा दाङको बंगलाचुलीको महाभारत शृङ्खला घोराही सिमेन्टले चुनढुङ्गा उत्खनन् गरेर मैदान बनाउन थालिसकेको छ ।
सोनापुर सिमेन्टले दाङको उत्तरी सीमाना रोल्पाको रुण्टिगढीको डुम्रिङको चुनढुङ्गा एक तमासाले निकालिरहेको छ । रोल्पा सिमेन्टले कपुरकोट—तुलसीपुर सडकलाई पनि क्षतविक्षत बनाउँदै रोल्पाका विशाल डाँडाहरूलाई उजाड बनाइरहेको छ । घनाबस्तीबीच यी सिमेन्ट उद्योगहरूले विश्व वातावरण दिवसको नारालाइ गिज्याइरहेका छन् ।
यी त ठूला उद्योगका कुरा हुन् । मुलुकमा संघीयता आएपछि स्थानीय सरकारलाई चलाउने जनप्रतिनिधि होइनन्, सरकार चलाउने यिनै ठेकेदारहरू हुन् । जसले जता–जता ढुङ्गा उतै–उतै सडक लगिदिन्छन्, जता ठूला रूख छन्, उतै–उतै सडकका ट्रयाक खोलिदिन्छन् । ‘किन चाहिएको छ, बगरपुरदेखि गँगटेसम्म १२ मिटर चौडा बाटो ?’, स्थानीय सरकार वेखबर छन्, जिल्ला वनबाट स्वीकृति छैन, ठेकेदारले धमाधम बाटो बनाउने नाममा ढुङ्गा र भीमकाय रूखहरू कटान गरिरहेका छन् । के यसले पृथ्वी बचाउन सक्ला ?
विसं २०७२ सालमा दाङ जिल्लामा बर्बइले वितण्डा बच्चाइरहँदा सयौँ घरपरिवार विस्थापित भए । हजारौँ हेक्टर खेतीयोग्य जमिन डुबानमा प¥यो । त्यसको केही वर्षपछि भूक्षयको त्रास फैलियो, कपुरकोट खसेर तुलसीपुरलाई डुबाउँदै छ । यी सबै त्रास स्वाभाविक बन्दै आएका छन् । किनकि सडकको ट्रयाक तराईदेखि उच्च पहाडसम्म खोलिँदै छ । वातावरणीय प्रभाव मूल्याङ्कन वातावरणविदले होइन, ठेकेदारले गरिदिन्छन् ।
स्थानीय सरकारले सिफारिस दिएकै आधारमा खानी विभागले पानीका मुहानमाथि चुनढुङ्गा उत्खनन्को लाइसेन्स दिइरहेको छ । सडक बनाउने डिजाइन इन्जिनियरले होइन, स्काभेटरको ड्राइभरको विवेकले भइरहेको छ । कति स्लोपमा सडकलाई कता मोड्ने हो, सबै तजवीज स्काभेटर चालककै । स्थानीय सरकारकै प्रतिनिधिको संरक्षणमा खोलानालाहरूमा अनियन्त्रित दोहन मात्र होइन, अतिक्रमण गरी निकै साँघुरा बनाइएको छ । यसले कुनै पनि बेला ठूलो खतरालाई निम्तो दिइरहेको छ तर वेखबर छ, सरकार ।
दिनदिनै जलवायु परिवर्तनको असर विश्व समुदायले खेपिरहेको छ । नेपाल पनि त्यसमा अछूतो छैन । अघिल्लो साता घोराहीमा एक तमासले मुसलधारे वर्षात भइरहँदा सर्रादेखि पश्चिम घाम लागिरहेको थियो । त्यही समयमा सामाजिक सञ्जालहरूमा घोराही डुबेका तस्वीरहरू भाइरल भए ।
यो तीतो यथार्थ हो । साच्चै घोराहीको सहिदगेट क्षेत्रका सडकमा अटोरिक्साहरू आधा डुबिरहँदा तुलसीपुर खडेरीको चपेटोमा थियो । ‘सायद घोराहीमा यति छोटो समयमा यति धेरै वर्षात भएको मैले कहिल्यै थाहा पाएको छैन’, घोराही उपमहानगरपालिका–१५ ट्राफिकचोक निवासी गोविन्दवहादुर केकेले गोरक्षसँग भनेका थिए ।
बेमौसमी वर्षात, अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टिले वातावरणीय सन्तुलन बिगारिरहेको छ । हिमाल पग्लने समस्याले हिमशृङ्खलाहरू नाङ्गिँदै गएका छन् । बढ्दो तापमानका कारण हिमतालहरू फुट्ने खतरामा छन् । अघिल्लो साता घोराहीको वर्षात पनि यस्तै बेमौसमी वर्षात अर्थात् कतै अतिवृष्टि त कतै अनावृष्टिकै कारण थियो ।
अनियन्त्रित र अप्राकृतिक अतिक्रमणका कारण तुलसीपुर उपमहानगरपालिकाको मुटुबाट बग्ने पातुखोलाका दुई किनराहरू भेटिनै लागेका छन् । पातुखोला पातुकुलाजस्तै भएको छ । पत्रे, जुर्गे, कटुवा र बबईमा पनि यसरी नै अतिक्रमण र अनियन्त्रित रूपमा नदीजन्य पदार्थको दोहन भइरहेको छ । खेतीयोग्य जमिनमा अव्यवस्थित प्लटिङ भइरहेको छ ।
मुहान संरक्षणका कुनै दीर्घकालीन योजना स्थानीय सरकारले ल्याएका छैनन् । वर्षातको पानी त कम्तिमा सञ्चय गर्न सकिन्थ्यो नि तर स्थानीय सरकारका हाइड्यामका योजना सपनाजस्तै लाग्न थालेका छन् । पानी पर्ने दर पनि घटिरहनु र पानी संचिति गर्ने आधार पनि भत्कँदै जानुले के सुख्खा मरूभूमीकरणबाट बच्न सक्ला, दाङ ? जोगिएला त पृथ्वी ?