के.पी.सुवेदी
राजनीति अहिले अन्यन्तै प्रदूषित भइरहेको छ । किन प्रदूषित भइरहेको छ र यसको सही मापन सम्भव छ कि छैन ? यो अलि सोचविचार गरेर मात्र भन्नु पर्छ । किनकि यो कुनै मिटर वा तराजुले थाहा पाउन सकिने चीज होइन ।
प्रदूषणका प्रमुख तत्वहरुलाई निकालेर फ्याक्न सकियो भने निर्मल नभइहाले पनि केही मात्रामा शुद्ध हुन सक्छ तर कसरी फ्याक्ने सबैभन्दा ठूलो चुनौती यही हो । यो चुनौतीको डटेर सामना गर्नु भनेको मुसाले बिरालोको घाँटीमा घण्टी बाँध्ने कुरा जत्तिकै कठिन काम हो । जसरी पानि सफा हुन मुहान सफा हुनु पर्छ । मुहानमा दूषित पदार्थको भण्डारण गरेर तलतिर सफा राख्छु भन्ने मूर्खता कसैले पनि नगरेको राम्रो हो ।
त्यस्तै राजनीतिको मुहान राजनीतिक दलको केन्द्रीय संरचना र त्यसको शीर्ष तहको नेतृत्वलाई सम्झनु पर्छ । जसरी पुस्तान्तरमा वयस्क र युवाहरुको बीचमा एउटा असमझदारी बनिरहेको हुन्छ । त्यसरी नै राजनीतिमा प्रत्येक पुस्ताको बीचमा एकप्रकारको द्वन्द्व हुन्छ । त्यसको व्यवस्थापन राम्रोसँग हुन सक्यो भने राजनीतिक संस्कार पनि माथि उठ्न थाल्छ ।
राजनीतिक बेथितिबाट सबै थरिका व्यथितिको उत्पादन र पालनपोषण हुने भएकोले सबै किसिमका विभेद चुलिएका छन् । यसको अन्त्य पनि राजनीतिक इच्छाशक्ति भएपछि मात्र हुने भएकोले त्यहीँ त्यसको निरुपण गर्न इमानदार नेतृत्वको खोजी भइरहेको हो ।
हाम्रो नेतृत्वको कुरा गर्न पनि कुरैको दुःख भनेझैँ छ । आफूले राम्रो भन्ने केही गर्न सकेको हुँदैन । सारा मानिसलाई चिढ्याएर, नजिकका आफन्त र नातागोतालाई नजिक राखेर तिनीहरुलाई सुविधा लुटाएर अरुलाई विभेद गर्नेले कसरी समाज बदल्ने जिम्मेवारी पूरा गर्न सम्भव हुन्छ ? राजनीति त्यत्तिकै प्रदूषित भएको होइन ।
प्रदूषित गर्नमा राजनीतिक दलको अगुवाहरुकै प्रमुख भूमिका छ । सडकमा निमुखा जनता पछि लगाएर तमासा गर्ने भाषा छुट्टै हुने, प्रशिक्षणको बहानामा बन्द कोठामा आफ्नो अन्धभक्त जम्मा गरेर जनतालाई मूर्ख बनाउन सफल भएको खुसी व्यक्त गर्ने भाषा अर्कै ? राजनीति सिद्धान्तविहीन हुन सक्तैन तर नेताले चाहेपछि जनताले के चान्छन् र राजनीतिक दलका नेता कार्यकर्तालाई कसरी निर्देश गर्नु पर्छ भन्ने हेक्का समेत छैन ।
जनप्रतिनिधिमा निर्वाचन लडेका विजयी कार्यकर्तालाई के भन्न पर्ने हो भन्नेतर्फ नगइ साझेदार दललाई धम्क्याउने माओवादी केन्द्रका अक्ष्यको अभिव्यक्ति, संसदमा तीन घण्टा लामो भाषण गर्दै आफू सत्तामा हुँदा गर्न नसकेका अथवा नचाहेका प्रसङ्गहरु जोडेर आफैलाई गिज्याइरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनि कुर्सीका लागि आफ्नो पार्टीको इतिहास बङ्ग्याएर अर्कालाई खुसी पार्न खोज्ने कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा उस्तै उस्तै लाग्न थाल्यो ।
केपी ओली आफैलाई विशिष्ट खालको नेता सम्झने गर्छन् । उनका कार्यकर्ता उनका दासहरुझैँ ओलीलाई पिताभन्दा माथिको विधाताझैँ हावामा उचाल्छन् । भ्रष्टाचार र मनपरीतन्त्र चलाउँदा तथास्तु भनेर हात छेकेर अपराध लुकाउन सफल भएर हो कि ?
प्रधानमन्त्री देउवासँग नजिकका भनिनेहरु पनि विवेकमा बिर्को लगाएरै मौन साधना गरेको देखिन्छ । स्थानीय चुनावमा गठबन्धन गर्ने कुरादेखि पार्टीको सिद्धान्त र गौरवपूर्ण इतिहास बिर्साउने गरी माओवादीको योगदानको बखान गरिरहनु किन प¥र्यो ? गणतन्त्र ल्याउन आफ्नो पार्टीकै भूमिका अहं रहेको सगर्व प्रस्तुत हुनु पर्ने अवसरबाट आफैलाई च्युत किन गरिरहेका होलान ? कांग्रेसका निष्ठा र संघर्षका प्रतिमूर्तिहरुप्रति यति बढी कृतघ्न हुनु हुँदैनथ्यो भन्ने लाग्छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसलाई यति धेरै होच्याएर तेजोबध गर्ने गरी प्रस्तुत हुँदा अझै गठबन्धन चाहिएकै छ । प्रधानमन्त्री जान्छ कि भन्ने ठूलो चिन्ता लागिराछ । प्रचण्डको अहिलेको जस्तो सनक चढिरहने, आफ्नो कार्यकर्तालाई दुरुत्साहन गरिरहने र प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति अर्कैको प्रशस्ती गाउन व्यस्त हुने हो भने माओवादीबाट कांग्रेस कार्यकर्ता प्रताडित हुने र हीनताबोध गर्ने अवस्था आउन सक्छ ।
कांग्रेसका निष्ठावान र कर्मठ कार्यकर्ताले पार्टीभित्रै विद्रोह गर्ने परिस्थिति निर्माण हुन सक्छ । पार्टीले नीति सिद्धान्त कुल्चेर आफ्ना कार्यकर्तामाथि अन्यायी निर्णय गर्न थाल्यो भने चितवनमा जगन्नाथ जन्मेजस्तै देशैभरि स्वतन्त्र जन्मिने छन् । त्यो अवस्थामा पार्टी राजनीतिक मानचित्रमा कहाँ रहन्छ, अहिले कसैले अनुमान गरे हुन्छ ।
कम्युनिस्ट सिद्धान्त मान्नेहरु जहिल्यै दाब्रे हुन्छन, अंग्रेजीमा लेफ्टिस्ट भनिन्छ । त्यसको पूरापुर प्रतिनिधित्व माओवादी नेता प्रचण्डले गरिराखेका छन् । एकजना कथित कम्युनिस्ट पगरिवाल एमालेका नेताले कांग्रेसलाई निकै अपमानजनक भाषामा टिप्पणी गरेका छन् । उनको भनाइ छ, ‘कांग्रेस जस्तो अलोकप्रिय पार्टी कम्युनिस्टसँग गठबन्धन गरेका कारण स्थानीय चुनावमा सबैभन्दा ठूलो पार्टी बन्न सक्यो ।’
ती नेताको राजनीतिक शब्दकोशमा लोकप्रिय शब्दको परिभाषा के रहेछ कुन्नि ? उनी प्रचण्डले गरेको टिप्पणी शब्द फरक भए पनि आशय र प्रवृत्तिमा समानता देखिन्छ । त्यसैले भनेको होला बायाँ त दुवै बायाँ हुन् । मिलनविन्दु उनीहरुको एउटै हो भन्ने कुराको पुष्टि थोरै भए पनि भएको हुनु पर्छ । तर दुर्भाग्य, हाम्रो लोकतान्त्रिक यात्राका सहयात्री यिनै हुन् ।
यिनीहरुको अभीष्ट भनेको अधिनायकवाद हो । यो कुरा आफै भनिरहेका छन् । कोही गठबन्धनमा हाबी हुने वहाना बनाउँदै छन् त कोही बामपन्थी गठबन्धन आजको आवश्यकता भनेर भट्याइरहेका छन् । राजनीति भनेको सत्ताको लागि गरिने विभिन्न दाउँपेच चलिरहँदा संस्कारी राजनीति गर्ने सोच जन्मिनै सकेन । त्यसैले राजनीतिक बेथिति चरमविन्दुमा पुगेको छ ।