दाङ, १५ जेठ । स्थानीय सरकारको तर्फबाट महिला अधिकारसँगै सीपको माध्यमबाट आत्मनिर्भर बनाउने विषयलाई प्राथमिकताका साथ उठाउने एक कायक्रमका सहभागीहरूले बताएका छन् ।
१५ औं गणतन्त्र दिवस तथा चौथो राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा महिला मानवअधिकार रक्षकहरूको सञ्जाल दाङले घोराहीमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई सुझाव एवं सम्मान कार्यक्रममा बोल्ने वक्ताहरूले महिला अधिकारसँगै सीपका माध्यमबाट आत्मनिर्भर बनाउने विषयमालाई आ–आफ्नो पालिकामा प्राथमिकता दिनेमा जोड दिएका हुन् ।
शिक्षा, स्वास्थ्य, खानेपानीसँगै महिलाको क्षमता अभिवृद्धिका लागि महिलासँगै छलफल गरेर कार्यक्रम ल्याउने सहभागीले बताएका हुन् । उनीहरूले सस्तो लोकप्रियताका लागि मात्रै नभएर जनताले अनुभूति गर्ने गरी विकास निर्माणका कामहरूलाई प्राथमिकता दिन समेत आग्रह गरेका थिए । वक्ताहरूले महिलालाई उपप्रमुखमा मात्रै नभएर आगामी निर्वाचनदेखि प्रमुख कार्यकारी पदहरूमा समेत निर्वाचित गराउने गरी लाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी, लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी, राजपुर गाउँपालिका उपाध्यक्ष धनपति यादव, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, उपाध्यक्ष पिमा खड्का वली, शान्तिनगर गाउँपालिका उपाध्यक्ष प्रेमा बुढाथोकी, बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्का, र बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, मानवअधिकारकर्मी श्रीमन न्यौपाने, निर्मला गौतम रेग्मी, सुष्मा गिरी, सञ्चारिका समूहकी अध्यक्ष सुलोचना गौतम, सीसा संस्थाका अध्यक्ष साजिदा सिद्दिकी, स्वास्थकर्मी राधा पौडेललगायतले बोलेका थिए ।
कार्यक्रममा विषयवस्तुको बारेमा मानवअधिकारकर्मी एवं पत्रकार लक्ष्मी आचार्यले प्रकाश पारेकी थिइन् । महिला मानवअधिकार रक्षकहरूको सञ्जाल दाङका संयोजक सुशीला पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव पद्मा चौधरीले गरेकी थिइन् ।