प्रेरणाको विन्दु : काठको कचौरा

एकजना बुढो व्यक्ति छोरा–बुहारीसँगै सहरमा बस्न गयो । बढ्दो उमेर संगै ऊ निकै कमजोर भईसकेको थियो । हात काँप्ने र आँखा पनि कम देख्थ्यो ।

उनीहरू एउटा सानो घरमा बस्थे । पूरै परिवार र उसको चार वर्षको नातिले खाने टेबलमा सँगै खाए । तर बुढ्यौलीका कारण त्यो व्यक्तिलाई खाना खान निकै समस्या हुन्थ्यो । कहिले उसको चम्चाबाट मटर निस्केर भुइँमा झर्ने गर्दथ्यो त कहिले हातबाट दूध छिल्केर टेबुलमा खस्थ्यो ।

छोरा–बुहारीले एक–दुई दिन त यो सबै सहेर बसे तर केही दिन पछि उनिहरू आफ्नो बुवाको हर्कतबाट रिसाउन थाले ।

एकदिन छोराले भन्यो, ‘हामीले अब यो बुढाको बारेमा केही गर्नुपर्छ ।’ बुहारीले पनि टाउको हल्लाउदै भनी, ‘कतिन्जेल यो बुढाको कारणले हामी आफ्नो खानाको मजा नलिने हो ! र यसरी चिज–बस्तु बिग्रिएको म त अब देख्न सक्दिन ।’
भोलिपल्ट खाना खाने बेला भयो, छोराले कोठाको कुनामा एउटा पुरानो टेबुल राखीदियो । अब बूढा बाबुले त्यहीँ एक्लै बसेर खाना खानुपरेको थियो । खानाको लागि भाँडाको सट्टा काठको कचौरा पनि दिइयो, ताकि थप भाँडाहरू फुट्न नपाओस् ।

बाँकी सबैले पहिले जस्तै आरामले खाना खाए । उनिहरूले कहिले काँही बुढालाई हेर्थे । उसको आँखाबाट आँसु झरीरहेको हुन्थ्यो । यो देखेर छोरा–बुहारीको मन कत्तिपनि पग्लिएन अझै उनिहरू बुढाको सानो–सानो गल्तीमा पनि धेरै कुराहरू सुनाउने गर्थे । त्यहाँ बसेको बच्चाले पनि यो सबै ध्यान दिएर हेरिरहेको थियो र कुनै सोचमा डुबेको प्रतित हुन्थ्यो ।

एक रात खाना खानु अघि उसको आमाबाबुले सानो केटालाई भुइँमा बसेर केहि गरिरहेको देखे र सोधे, ‘के गर्दैछौ ?’

निर्दोष बच्चाले जवाफ दियो, ‘म तपाईहरूको लागि काठको कचौरा बनाउँदैछु ताकि म हुर्किएपछि तपाईहरू पनि यसमा खाना खान सक्नुहोस् ।’

यत्ति भनेर ऊ फेरी आफ्नो काममा लाग्यो । तर उसको आमाबुवामा भने यो कुराको ठूलो असर पर्यो । उनिहरूको मुखबाट एक शब्द पनि निस्किएन र आँखाबाट आँसु बग्न थाल्यो । अब के गर्ने भन्ने कुरा उनिहरू दुवैले बुझीसकेका थिए । त्यो रात उनिहरूले आफ्नो बुढा बुबालाई डिनर टेबलमा फिर्ता ल्याए र फेरि कहिल्यै दुर्व्यवहार गरेनन् ।

त्यसकारण हामी प्रायः आफ्ना छोराछोरीलाई नैतिक शिक्षा वा नैतिक मूल्यहरू सिकाउने गर्छौं । तर हामी यो बिर्सन्छौं कि वास्तविक शिक्षा शब्दमा होइन हाम्रो कर्ममा लुकेको हुन्छ । हामीले बालबालिकालाई ठूलालाई आदर गर…सबैलाई सम्मान गर…भनेर उपदेश त दिन्छौ तर आँफैले भने उल्टो व्यवहार गरिरहेका हुन्छौ भने बच्चाले पनि त्यसै गर्न सिक्छ ।

त्यसैले आफ्नो आमाबुवालाई यस्तो व्यवहार नगर्नुस कि भोलि तपाईंको छोराछोरीले पनि तपाईंको लागि काठको कचौरा बनाउन थालुन् ।