राजनीतिक र जीवनको पाटो

विनोद पोख्रेल
२०७७ फागुन २२ गते
मलाई आफ्नै भनाइ एकपल्ट फेरि सम्झनामा आएको छ । प्रत्यक्ष रुपमा जनतासँग बसेर राजनीति गर्न सक्नेहरु कमै हुन्छन् । ठूला मान्छे धेरै हुन्छन् तर जनताको माया जित्ने थोरै हुन्छन् । मैले सम्झेको भनेको झण्डै यस्तै गरी माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गर्दाखेरिको हो ।

त्यतिबेला गिरिजाप्रसाद कोइरालाले त्यतिबेलाको माओवादीलाई जनस्तरीय खुला राजनीतिमा उभ्याइदिएका थिए । त्यसैको प्रतिक्रिया स्वरुप मैले एउटा छलफलमा भनेको थिएँ– ‘खुला सडकमा ल्याएर माओवादीलाई छाडिएको छ । अबको बाटो माओवादीले आफै बनाउने वा रोज्ने हो ।’ आज विप्लव पनि खुला सडकमा आएका छन् । उनले पनि आफ्नो बाटो रोज्न वा बनाउन सक्नु पर्छ ।

ओली वा अरु कसैको भरमा राजनीति गर्छु भनेर उनी पक्कै आएका होइनन् भन्ने मेरो बुझाइ छ तर यदि बाटो रोज्न पनि सकेनन् र बनाउन पनि सकेनन् भने उनी पनि प्रचण्डजस्तै ओलीसँग सूर्य चिह्न वा यस्तै केहीका लािग झगडा गरेर चित्त बुझाउनमै सीमित हुने छन् । हिजोको भनाइमा उनको जनमत संग्रहको कुरा त उठाएका छन् तर अमूर्त रुपमा कुरा उठाएर मात्रै हुँदैन । के–के विषयमा जनमत संग्रह गर्ने भन्ने कुरा पनि प्रष्टसँग आउनु पर्छ । यस्ता कुरा कुरामै मात्र सीमित हुनु पनि हुँदैन ।

त्यसका लागि धेरै विषय, वस्तु र व्यवस्था चाहिँ छ । समय पनि चाहिन्छ । भनेजस्तो सजिलो पटक्कै हुँदैन । उनको क्षमता र जिम्मेवारी कति छ भन्ने कुराको निक्र्योल उनका गतिविधिले नै गर्ने हो । उनको मूल्यांकन पनि यिनै गतिविधिको आधारमा हुने हो । यो हिजो भएको सहमतिको एउटा पक्ष हो । अर्को पक्ष पनि छ । हिंसाको राजनीतिले आजित पनि र त्रसित पनि भएका आम नेपालीले अब यस परिवेशबाट मुक्ति पाइन्छ कि भनेर आश गर्ने कुरा भएको छ । यसको स्वागत हुनु पर्छ ।

यसको महत्व देशलाई नै उत्तिकै छ तर नेताहरुका बानी र बोलीअनुसार यसमै पनि भोलिको दिनमा राजनीतिका दाउँ खेल्ने कुरा आउन सक्छ । श्रेय लिने होड पनि हुन सक्छ । आफैले प्रतिबन्ध लगाएका ओलीले आफै प्रतिबन्ध फुकुवा गर्दा समेत जितकै महसुस गरेका छन् जस्तो लाग्छ । यो आम नागरिकको मतलवको विषय नहुन पनि सक्छ । नागरिकको मतलव त शान्ति, समुन्नति, समृद्धि, नागरिक सुरक्षा र नागरिक हकको संरक्षणमै सीमित हुन्छ ।

राजनीतिक गतिविधि यसैका लागि हुनुपर्छ भन्ने अपेक्षा हुन्छ । नागरिकलाई न त विप्लवसँग मतलव छ न त ओली वा अरु कुनै व्यक्तिसँग । उसलाई मतलव त उनीहरुमध्ये कसका गतिविधिले उसलाई राम्रो प्रभाव पार्छ र यसका गतिविधिले नराम्रो प्रभाव पर्छ भन्ने कुरामा मात्रै हो । त्यसैले हिजोको सहमतिको प्रभाव र परिणाम देखिने दिन आजै पटक्कै होइन । समयले सबै कुरा प्रष्ट पार्दै जान्छ ।

२०७७ फागुन २३ गते

हिजो लोकमणि गिरीको मृत्यु भएछ । उहाँसँग मेरो व्यक्तिगत रुपमा राम्रो सम्बन्ध थियो । कति कुरामा मेरो र उहाँको स्थिति एकै जस्तो पनि लाग्थ्यो । अझ भनौँ मैले त्यस्तो मूल्यांकन पनि गर्थेँ । म अहिले त्यहाँ घरमा पुग्न सक्दैन । मेरो घरमा त्यहाँ पुग्नलाई छोराहरु पनि छैनन् । यस्तो अवस्था आयो भने पनि दिक्क लाग्ने रहेछ ।

मन पुगे पनि धेरै ठाउँमा विपुल पुग्थ्यो । म हिड्न नसक्ने भएको पनि ६ महिनाभन्दा बढी भएछ । लकडाउनले बाधा पु¥याएको त चैत ११ गतेबाट हो । अबका १७–१८ दिनमा त एक वर्ष नै हुन्छ । कुरो लोकमणि गिरीको मात्रै होइन । कुरो मेरो आफ्नो पनि हो । मानिसलाई अरुबेला काम नलागे पनि जिउँदाको जन्त र मर्दाको मलामीको रुपमा मानिस काम लाग्छ भन्ने एउटा भनाइ छ, हाम्रो समाजमा ।

म कतै त्यत्ति पनि काम नलाग्ने हुन लागेको त होइन ? यो आफैमा एउटा डर र एउटा पीडा हो । कति ठाउँमा त जानु वा नजानुलाई त्यति महत्व दिइएला तर कतै आफूले महत्व दिन मन लाग्छ भने कतै घरका मानिसले महत्व दिने कुरो पनि हुँछ । चाहेर पनि पुग्न नसक्नुले अलि पीडा हुन्छ । यो पीडा आफूभित्रै हुने हो । थाहा छ यस्तो धेरैलाई पर्छ । कति वाध्य छ, मानवजीवन । जीवनको निरीहताको एउटा पक्ष यो पनि हो । धेरै परिवेश र धेरै कारणले मानिस निरीह बन्छ तर यो कुरा स्वीकार गर्ने इच्छा हुँदैन । सकेसम्म यो अवस्था अभिव्यक्त हुन दिँदैन । आफू पूर्ण रुपमा सक्षम भएको देखाउन चाहन्छ ।

जो वास्तवमा देखावटी कुरो मात्रै हो । त्यसमा पनि शारीरिक आदि रुपमा भएका कारण त केहीले बुझ्छन् । कतिपल्ट त मानसिक वा बौद्धिक पक्षमा पनि मानिस आफ्नो हैसियतभन्दा माथि देखिने प्रयास गर्छ । सकेसम्म आफ्नो कमजोरी र वाध्यता दुवैलाई ढाक्ने वा लुकाउने प्रयास गर्छ । वास्तविकतालाई पन्छाउने प्रयास गर्छ । जब कि यो कुरो सबैलाई थाहा छ । सबै भोगाइ हो, यो । बरु यो कति उचित वा आवश्यक हो त्यतातर्फ मेरो ध्यान गएको हो ।

जहाँ पनि वास्तविकताको नाममा आफ्ना वाध्यता वा कमजोरी प्रदर्शन गर्दै जानुको पनि त राम्रो प्रभाव पर्दैन । धेरै ठाउँ मेरो कमजोरी वा मेरा वाध्यताको कसैलाई मतलव नै हुँदैन । त्यसकारण पनि त यस्ता परिवेशलाई पन्छाएर जीवन अघि बढाउनु पर्छ । अझ भन्ने हो ने कमजोरीले देखावटी हमदर्दी जति पाइन्छ त्यति हाँसोको विषय बनाउन सक्छ । त्यसकारण पनि यिनी स्थितिहरु आफूमै सीमित गरेर समाज सँगसँगै अघि बढ्नु पर्ने हुन्छ ।

सबै कुराको प्रसंग हुन्छ, स्थान हुन्छ र सीमा हुन्छ । यो भनदा बाहिर गएको राम्रो मानिँदैन । कतिपल्ट त यसको उल्टो प्रभाव पनि पर्न सक्छ । राम्रो, नराम्रो, सजिलो अप्ठ्यारो, खुसी, पीडा सबैलाई स्वाभाविक रुपमा लिनै पर्छ र सबैलाई सहन र त्यसबाट निकास पाउन सक्नै पर्छ । विवशतालाई कामले नसके मनले भए पनि जित्नै पर्छ । जीवनको एउटा पहिचान यो पनि हो ।