खेमराज रिजाल
दाङ, ९ जेठ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्थास्थ्य सेवामा स्तरबृद्धि तथा मेडिकल शिक्षाका लागि अन्तिम तयारी गरेको जनाएको छ । गत बैशाखदेखि चौबीसै घण्टा निःशुल्क प्रसुतिसेवा पूर्णरुपमा कार्यान्वयनमा ल्याएको बताएको छ । त्यसैगरी सम्भवतः आउँदो असोज÷कार्तिकदेखि बिएस्सी नर्सिङ शैक्षिक कार्यक्रम सञ्चालन हुने आइतवार प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा बताइएको छ ।
प्रतिष्ठानमा दोस्रो कार्यकालका लागि नवनियुक्त उपकुलपति डा. विकाश लामिछानेसहितको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका रजिष्टार प्रकाश थापाले प्रतिष्ठानले विगत एक बर्षको अवधिमा गरेका स्वास्थ्य सेवाका विषयमा जानकारी गराउँदै चिकित्सा शिक्षा आयोगले अनुमति दिएलगत्तै शैक्षिक कार्यक्रम सञ्चालनका लागि प्रतिष्ठान तयारी अवस्थामा रहेको बताएका छन् ।
प्रसुति सेवाका लागि विशेषज्ञ चिकित्सक थप गरी बैशाख १ गतेदेखि नेपाल सरकारले निःशुल्क गरेको आमा सुरक्षा कार्यक्रमलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याएको बताउँदै रजिष्टार थापाले असार १ गतेदेखि एमआरआई सेवा सञ्चालन गर्ने उद्घोष गरे । एकजना रेडियोलोजिष्ट थप गरेर एमआरआई सेवा सञ्चालनमा ल्याएपछि अस्पतालमा आउने बिरामीको रोग निदानमा निकै सहयोग पुग्ने पनि उनले अपेक्षा गरे ।
मृगौलाका बिरामीहरुको बढ्दो चापलाई मध्यनजर गर्दै प्रतिष्ठानले हाल सञ्चालनमा आएका ७ वटा मेसिनमा ४ वटा थप गरी ११ वटा डायलायसिस मेसिन सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि पत्रकार अन्तत्र्रिmयामा बताइयो । हाल प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकसहित ४० जना डाक्टरहरु कार्यरत रहेको बताउँदै प्रतिष्ठानले नेपाल सरकारले निःशुल्क गरेका ओसिएमसी, एआरटी, डट्स, हेमोडायलायसिस, सिकलसेल एनिमिया तथा सामाजिक सेवाका कार्यक्रमलाई पनि निःशुल्करुपमा सेवा प्रवाह गरिरहेको उल्लेख गरे ।
साथै प्रतिष्ठानलाई स्वायत्त बनाउन तथा बिरामीको मनोभावनालाई पनि मध्यनजर गर्दै प्रतिष्ठानले विस्तारित स्वास्थ्य सेवा पनि चाँडै सञ्चालन गर्ने योजना बनाएको पनि पत्रकार अन्तत्र्रिmयामा बताइएको छ । दिउँसो ३ बजेदेखि नियमितभन्दा थप अतिरिक्त शुल्क लिएर बिरामीको च्वाइस अनुसारका विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह गरिने पनि सो अवसरमा बताइएको छ ।
प्रतिष्ठानले पछिल्लो समयमा चारवटा आधुनिक अप्रेशन थिएटर सञ्चालनमा ल्याउनुको साथै आधुनिक प्रयोगशाला र आफ्नै अस्पताल फार्मेसी र दातको शल्यक्रिया सेवा समेत सुरु गरेको बताइयो । आवश्यकताअनुसार न्युरो तथा नेफ्रोका चिकित्सक थप गर्न प्रतिष्ठान आतुर रहेको बताउँदै अस्पताललाई बिरामीको गन्तव्य बनाउनका लागि सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ ।
त्यस्तै निर्माणाधीन नयाँ भवन पनि अन्तिम चरणमा रहेको बताउँदै आकस्मिक उपचार कक्षलगायत शैक्षिक कार्यक्रमका लागि पनि सो भवन उपयोगको अन्तिम तयारी भएको पनि रजिष्टार थापाले बताए । उनले दुई सातामै नयाँ भवन प्रतिष्ठानलाई हस्तान्तरण हुने पनि बताए ।
त्यसैगरी प्रतिष्ठानमा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक अस्पताल निर्माणका लागि प्रतिष्ठानको स्वामित्वमै रहेको करीब २० बिगाहा जग्गामा ४ सय बेडको आधुनिक अस्पताल भवन निर्माणको गुरुयोजनासहित भवन निर्माणको सहयोगार्थ यसको फाइल राष्ट्रिय योजना आयोगमा पेश भइसकेको बताइएको छ ।
‘स्वास्थ्य मन्त्रालयबाट स्वीकृत गराएर ४ सय बेडको अस्पतालको मास्टरप्लान सहित योजना आयोगको प्रोजेक्ट बैंकमा फाइल पुगिसकेको छ’, रजिष्टार थापाले भने । त्यस्तै प्रतिष्ठानका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया पनि मन्त्रालयमा पुगेको छ । नवलपुरमा उपलव्ध भएको ५ कित्ताको जग्गामध्ये एउटा कित्तामा सार्वजनिक कुलो परेकाले त्यसको पनि स्वामित्व लिनका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पत्राचार हुने क्रममा रहेको पनि बताइयो ।
जिल्ला प्रशासन कार्यालयबाट सो कित्तामा रहेको सार्वजनिक कुलो पनि हाल चल्तीमा नरहेको भावनासहितको पत्र सम्बन्धित मन्त्रालयमा पुगेपछि जग्गाको स्वामित्व लिने काम पनि सहज हुने पत्रकार अन्तत्र्रिmयामा बताइएको छ ।
शैक्षिक कार्यक्रम भने अन्योल
प्रतिष्ठानले आउदो असोज महिनादेखि नै बिएस्सी नर्सिङ वा विएन सञ्चालनको अन्तिम तयारी भइरहेको बताए पनि चिकित्सा शिक्षा आयोगले भने अझै पनि सञ्चालनको अन्तिम स्वीकृति दिएको छैन । दुई महिनाअघि स्थलगत अनुगमनमा आएको आयोगको टोलीले हालसम्म कुनै आधिकारिक जवाफ नदिएको प्रतिष्ठानका उपकुलपति डा. विकाश लामिछानेले बताएका छन् ।
‘अनुगमनको काम सम्पन्न भइसकेको छ, आयोगले हुन्छ पनि भनेको छैन, हुन्न पनि भएको छैन, त्यसैले शैक्षिक कार्यक्रमका विषयमा अझै अन्तिम टुंगो लागेको छैन’, उपकुलपति लामिछानेले भने । प्रतिष्ठानले नर्सिङ कार्यक्रम चलाउनका लागि लेक्चरर हल, अडिटोरियम हल, प्रयोगशाला, क्यान्टिन, क्याथ ल्यावलगायतका अत्यावश्यक संरचना निर्माण भइसकेको बताएको छ ।
साथै शैक्षिक कार्यक्रम सञ्चालनका लागि पाठ्यक्रम निर्माण तथा जनशक्ति व्यवस्थापनको काम समेत पूरा भइसकेको बताइएको छ । पत्रकार अन्तत्र्रिmयामा उपकुलपति लामिछानेले शैक्षिक कार्यक्रम सञ्चालन सामान्य नभएको बताउँदै आयोगले चाहेजस्तो फाउण्डेशन र पूर्वाधारहरु तयार भएपछि मात्रै शैक्षिक कार्यक्रम सञ्चालनको अन्तिम टुंगो लाग्ने बताए ।
सम्भवतः पूर्वाधार निर्माणमा ढिलासुस्ती भएकै कारण आफ्नो कार्यकालसम्म एमबिबिएस कक्षा सञ्चालनको सम्भावना नरहेको पनि उनको अभिव्यक्ति थियो । तैपनि अस्पतालको स्वास्थ्य सेवालाई आधुनिक, स्तरीय एवं प्रभावकारी बनाउन प्रतिष्ठान अहोरात्र खटिरहने उनले बताए । त्यसका लागि प्रतिष्ठानले सञ्चार क्षेत्रको भूमिकाको पनि अपेक्षा गरेको छ ।
‘प्रतिष्ठानमा स्तरीय स्वास्थ्यसेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हुनेछ, यो क्रममा त्रुटि भए औल्याइदिनुहोला, सेवा स्तरीय भएको अवस्थामा प्रचारात्मक अभियानलाई तीब्र बनाइदिनुहोला’, उपकुलपति लामिछानेले भने । ४ सय बेडको अस्पतालको निर्माणको प्रक्रिया भने सम्भवतः आगामी आर्थिक बर्षदेखि नै सुरु हुने उनको अपेक्षा थियो ।