लमहीमा सेटलाइट अस्पतालको तरक्की

गोरक्ष समाचारदाता
लमही, ९ जेठ । स्तरीय एवं विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको देउखुरीले बालबालिकाको विशेषज्ञ स्वास्थ्य उपचार सेवा पाएको छ । तुलसीपुरस्थित तुलसी बाल अस्पतालले लमहीमा तुलसी सेटलाइट अस्पताल सञ्चालनमा ल्याएपछि लमहीबासीले तुलसी अस्पतालको तरक्की भन्दै प्रशंसा गरेका छन् ।

‘बच्चालाई नियमित चिकित्सकीय सेवा आवश्यक थियो, यसअघि नियमित चेकजाँचका लागि तुलसीपुर पुग्नुपथ्र्यो, अब दैलोमै अस्पताल आएको जस्तो अनुभूति भएको छ’, देउखुरीको गढवा गाउँपालिका ४ का स्थानीयबासी प्रदिप विकले भने । उनको बच्चालाई जन्मदै म्यानेन्जाइटिसको समस्या थियो । त्यसपछि उनले करीब दुई बर्षदेखि बच्चाको नियमित उपचारका लागि तुलसीपुरस्थित तुलसी बाल अस्पताल धाउँदै आएका थिए ।

प्रदिपजस्तै गढवा–४ कै शोभा विश्वकर्मालाई पनि आफ्नो काखे नानी च्यापेर अब तुलसीपुरसम्म पुग्नुपर्ने छैन । ‘तुलसी अस्पतालले लमहीमै शाखा खोलेर विशेषज्ञ सहितको बाल उपचार सेवा सुरु गरेपछि हामीहरु निकै खुसी छौं, अब हामीलाई तुलसीपुर पुग्नुपर्ने छैन’, शोभाले खुसी हुँदै गोरक्षलाई भनिन् । उनको बच्चालाई पनि दीर्घरोगको समस्या छ । केही बर्षसम्म नियमित रुपमा चिकित्सकीय निगरानी चाहिने उनलाई चिकित्सकहरुले बताउँदै आएका छन् । शोभा र प्रदिप मात्र होइन, पुरै देउखुरीबासीलाई तुलसी स्याटलाइट अस्पतालले बालबालिकाका लागि विशेषज्ञ स्वास्थ्य उपचार प्रदान गर्ने छ ।

तुलसीपुरस्थित तुलसी अस्पतालले आफ्नै स्वामित्व र व्यवस्थापनमा चौबीसै घण्टा मेडिकल अफिसर र दिनदिनै बालरोग विशेषज्ञसहितको स्वास्थ्य उपचार सेवा प्रदान गर्न लमहीको कोलहीमा केही दिनअघि अस्पताल सञ्चालनमा ल्याएको छ । वरिष्ठ बालरोग विशेषज्ञ डा. किशोर खत्रीसहितको विशेषज्ञ चिकित्सकको टोलीले लमहीको तुलसी स्याटेलाइट अस्पतालबाट बालबालिकाहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।

अत्याधुनिक एक्सरे सेवा, प्रयोगशाला सेवा, बालबालिकाहरुका लागि खेल तथा मनोरञ्जन कक्षसहित बिरामीहरुलाइ भर्ना समेत गरेर उपचार गर्नेगरी अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालका सञ्चालक डा. किशोर खत्रीले बताएका छन् । ‘सामान्य रोगकालागी विशेषज्ञसहित दैनिक चेकजाँच र बिरामी भर्ना पनि यही हुनेछ, गम्भीर प्रकृतिका बिरामी, एनआइसियु सेवा चाहिने नवजात शिशु तथा शल्यक्रिया गर्नुपर्ने बालबालिकालाई तुलसीपुरमै लगेर उपचार गरिने छ’, डा. खत्रीले भने ।

अस्पतालले त्यसका लागि आइसियु सेवासहितको एम्वुलेन्स समेत व्यवस्थापन गरेको छ । ‘हामी सघन उपचार चाहिने बालबालिकालाई आफ्नै एम्बुलेन्समा चिकित्सकसहितको टोलीले तुलसीपुर पु¥याएर स्वास्थ्य उपचार सेवा दिनेछौं’, डा. खत्रीले भने । त्यसैगरी सामाजिक उत्तरदायित्व निर्वाहका लागि पनि अस्पताल तयार रहेको सञ्चालक डा. खत्रीको भनाइ थियो ।

‘पैसा नभएर कुनै पनि बालबालिकाले उपचार नपाएर ज्यान गुमाउनुपर्ने छैन, त्यसका लागि निःशुल्क उपचार गर्न पनि अस्पताल तयार छ’, डा. खत्रीले भने । अत्यन्तै विपन्न परिवारका बच्चालाई आवश्यकता अनुसार उपचारमा सहुलियत प्रदान गर्ने पनि डा. खत्रीले बताए । देउखुरी क्षेत्रमै बालरोग विशेषज्ञसहितको स्वास्थ्य उपचारगर्ने निजी तथा सरकारी अस्पताल नभएकाले आफूले लमहीमा तुलसी स्याटलाइट अस्पताल सञ्चालनमा ल्याएको पनि उनले बताए । सो अस्पतालले देउखुरी मात्र नभएर कोइलाबास सिमादेखि रोल्पा, प्युठान र अर्घाखाँचीका बिरामीहरुका लागि पनि स्वास्थ्य उपचार सेवा प्रदान गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् ।