calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

समीरको ‘चिया घर’

विपुल पोख्रेल
चियामा के त्यस्तो ताकत छ ? भन्न सक्दैन, तर चियालाई साक्षी राखेर धेरै सिर्जना भएका छन्, यस्को स्वाभाविक मतलव हुन्छ, चियाले मानिसलाई बिन्दास बनाउछ, उत्प्रेरित गर्छ र सकारात्मक सोच्न प्रेरित गर्छ । यसैकारण चियाको चुस्कीसँगै धेरै साहित्य जन्मिएका छन् ।
घोराहीमा खुलेको ‘चिया घर’मा बिहीबार चिया पिएपछि केही लेख्न मन लाग्यो । आदिम के.सी, रोशनमान श्रेष्ठ, देवेन्द्र बस्नेतहरुले त्यहाँ चिया पिएको फोटोहरु फेसबुकमा पोस्टिएको देखेको थिएँ । जान मन लागेको थियो, बिहीबार मात्र साइत जु¥यो । आज भाइ आरके शीतल पनि पहिलो पटक पुग्यो । आजको बसाइँमा भाइ सुदन थापा पनि सँगै थिए ।
‘चिया घर’ छिर्दा नै आकर्षक लाग्यो । दुई वटा कारणले आकर्षित भएँ । एउटा थियो, त्यहाँको विशेषता र अर्को थियो पसल सञ्चालकको अनुहार ।


काउन्टर कलात्मक थियो । दाउरा सजाएर बनाइएको । त्यस्तो सजावट काठमाडँौमा देखेको थिएँ । अनि त्यहाँको खास विशेषता माटोको भाडोमा चिया खान पाइने । ‘मट्का चिया’ भनेर काठमाडँौमा यस्तै कपमा चिया खाएको थिएँ । अनि अर्को रमाइलो कुरा, टेवल कुर्सी दुबै गाडीको टायरको प्रयोग गरेर बनाइएको थियो ।


पसल सञ्चालन गर्दा रहेछन् समीर वलीले । उनी केही गरौं गरौं भन्ने चाहना राख्ने युवा हुन् । सामाजिक अभियानहरुमा जोडिन चाहने, त्यो पनि नयाँ र फरक ढङ्गले । डा.गोबिन्द केसीको अनशनको समर्थनमा अभियान चलाउनेबेला देखि राष्ट्रिय पोशाकको प्रयोग गर्न प्रेरित गर्ने गरी अग्रसरता लिने सन्दर्भमा उनको भूमिकाले मलाई प्रभावित पारेको थियो । त्यही केही गरौ गरौ भन्ने भन्ने भावनाले ओतप्रोत उनी नयाँ ढङ्गले चिया बेच्न तम्सिएका रहेछन् । त्यहाँ नपुगुन्जेल थाहा थिएन मलाई उनी साहुजी हुन् भन्ने । उनको त्यो उत्साह नमरोस् भन्ने शुभकामना दिएँ भेटेर ।
घोराहीमा चिया पसलहरु टन्नै थिए, छन् । तर उनी फरक विशेषता बोकेर आएका छन् । पसलको भित्ताहरु सजाइका छन्, फोटो खिच्न मात्र पनि त्यँहा जाउँ जाउँ लाग्ने । आखिर चिया भनेको मान्छेको मन बहलाउने, फरक ढङ्गले सोच्न उत्प्रेरित गर्ने र तनावबाट राहत दिने कुरा न हो । त्यसले न त भोक मेट्ने हो, न त प्यास नै । मन बहलाउने चियासँगै त्यहाँको चित्र पनि उत्तिकै सहयोगी देखियो । पैसा भने अलिक धेरै । बस्तुको मुल्य धेरै मानिए पनि बसाइँको हिसाव गर्दा त्यत्ति अपत्तिजनकै चाहीँ लागेन । माटोको कपमा चिया पिएमा प्रति कप ४०, अनी साधारण कपमा पिएमा प्रतिकप ३० । फरक फरक मुल्यमा चिया कफी गरेर १७ आइटम बनाइदो रहेछ । तर बढी चल्ने भनेकै ३० र ४० दरकै चिया रे । ‘क्रमशः अरु थरीका चिया कफीका आइटम पनि चल्नेछ दाइ’ समीरले आशावादी हुँदै भने,‘असोज ५ गतेदेखि शुरु गरेको, अहिलेसम्मको अनुभवले त्यही भन्छ ।’


दाङमै उत्पादन भएको माटोको कपको प्रयोग भएको रहेछ, सुन्दै खुशी लाग्ने । कम्तीमा आफ्नो माटो चुम्ने र माटोसँग प्रेम साट्ने अवसर जुराइदिएका रहेछन् भाइ समीरले । तर, दुःख लाग्यो दाङको पर्सेनीले आवश्यकता अनुसार र समयमै माटोको भाँडा उपलब्ध गराउन सकिरहेको छैन भन्ने सुन्दा । काठमाडाँैबाट भाँडा झिकाउन बाध्य हुदाँ रहेछन् कहिलेकाहीँ समीर । ‘काठमाडाँैबाट मगाउँदा बाटोमा धेरै फुटीहाल्छन् । दाङमै उपलब्ध हुन सक्यो भने सजिलो हुने थियो’ होचो, अनि गोलो अनुहार भएका समीरले भने । मैले देउखुरीमा पनि सम्पर्क गर्न भने उनलाई । ‘गढवादेखि अल्ली पर माटोको भाँडा बनाउछन्’ रोशनमानले थप्यो ।
चियाको स्वाद पनि मिठो । आर.के.ले चिया खादैनँ भन्यो । समीरले ‘दुधमा चकलेट हालेर ल्याइदेऊँ ?’ भनी सोध्यो ।
नयाँ स्वादका लागि आर.के.ले मगायो, पियो । सन्तुष्ट देखियो ऊ त्यो पिएर ।
‘ओपनिङ अझै भा’को छैन, हामी अभ्यस्त हुँदै छौ’ समिरले मसँग आशा गर्दै भन्यो,‘ओपनिङसम्म दाइ दाङमै भैदिए हुन्थ्यो ।’ मैले ‘केही दिन यतै छु’ भन्ने जनाउ दिएँ उस्लाई । समीर एक्लैको लगानीमा बनेको ‘चिया घर’मा अहिले कामदार पनि उनी एक्लै छन् । ‘स्टाफ खोजिरहेको छु दाइ, भेटेको छैन’ समीरले सुनाए । अबको २÷४ दिनमै औपचारिक उद्घाटनको तयारीमा छन् उनी । कामदार नभएका कारण आफै पकाउछन् चिया कफी उनी ।
आफूले खाएको माटोको भाडोमा केही लेख्न पाइदो रहेछ, अनि त्यसरी लेखिएका कपहरु काउन्टर छेउमा सजाएर राखिदो रहेछ । आदिमले यो जानकारी दिएपछि मलाई पनि केही लेखौं लेखौ लाग्यो । धेरैबेर सोंचे केही बिशेष लेख्न । अनी मार्कर मागेर लेखिदिएँ—आहा…..चुस्की चियाको ! तलवाट आफ्नो नाम पनि लेखँे । यस्को छुट्टै फाइदा त केही नहोला, तर ग्राहकलाई अपनत्व जगाउने नयाँ तरिका भने पक्कै हो । समीरलाई यो तरिकाका लागि पनि धन्यवाद ।


इन्टरनेटको इजी एक्सेस दिने हो भने, ल्यापटप लगेर धेरै सिर्जनाको उत्पादन गर्ने रमाइलो ठाँउ बन्छ झै लाग्यो समीरको चिया घर । चिया घरले बिस्तारै चियाका पारखी बढाउँदै लैजाने सम्भावना पनि त्यति नै बलियो देखिन्छ । चिनी, चियापत्ति, पानी र दुधले बनेको परम्परागत चिया पिइरहेका हामीलाई सत्र प्रकार चिया बन्दारहेछन् भन्ने अवगत दिलाउने काम चिया घरले गरेको छ । त्यसो त चियाका प्रकार यो भन्दा नि धेरै रहेछन् । चिया भन्ने बित्तिकै सामान्य परम्परागत चिया सम्झने हामीलाई अब बिस्तारै चिया अर्डरका लागि मेन्यु आवश्यक पर्नेछ र पारखी बन्दै जानेछौँ पनि ।