खेमराज रिजाल
बिजौरी, ५ जेठ । ‘तोरी फल्दै बोटमा मिसिएर फल्छ भने त्यो मलाई थाहा भएन, हामीले मीलमा मिसाउने भनेको गोबीतोरी र लोकल तोरी हो, ताकि तोरीको तेलको गुणस्तर कायम हुन सकोस्’, तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हकहित संरक्षण शाखाले बुधवार विहान बजार अनुगमन गरिरहँदा तुलसीपुर उपमहानगरपालिका—१९ स्थित जय बागेश्वरी तेलमिलका प्रोपाइटर पुष्पा डाँगीले दिएको अभिव्यक्ति हो, यो ।
बिजौरी बजारका मिलमा तोरीको तेलको मूल्य चर्को भो, गुणस्तरको विषयमा धेरै गुनासा पुगे भन्दै उपमहानगरपालिकाको टोली बिजौरीका मिलमा पुग्दा अर्का व्यवसायी तथा दुर्गा आयल मिल बिजौरीका सञ्चालक बालकृष्ण रेग्मीले पनि बिजौरी बजारमा मूल्य केही महंगो अनुभूति हुनुमा शुद्ध तोरीको तेल बेच्दा भएको बताए ।
‘ठूला उद्योगहरुको मारमा हामी परेका छौं, खासमा हामी साना व्यवसायीहरुमाथि अन्याय भएको छ, ट्यांकरमा सोयाविन तेल ल्याएर लोकल प्याकिङ गरी तोरीको तेलको लेवल लगाएर बेच्नेहरुसँग हामीले प्रतिस्पर्धा गर्नुपरेको छ, यसको अनुगमन हुनुपर्ने होइन र ?’, बालकृष्णले अनुगमन टोलीसँग प्रश्न तेस्र्याए । ठूला नाम चलेका मिलहरुले अन्यत्रैबाट ट्यांकरमा तेल ल्याएर लेवलिङ र प्याकेजिङ गरी बेच्दा अनुगमन मौन रहेको उनको भनाइ थियो । तर आफूहरुले किसानका घरखेतमा पुगेर तोरी खरिद गरी लागत मूल्य मात्रै लिएर बेच्दा महंगो हुने गुनासाका विषयमा उनले आक्रोश पोखे ।
बिजौरी क्षेत्रका ४ वटा तेलमिलमा अनुगमन गर्दा तेलको खुद्रा मूल्य प्रतिलिटर ३ सय ९० रुयैयाँ र ५ लिटरको ग्यालेनमा बिक्री गर्दा १ हजार ९ सय रुपैयाँमा बिक्री गर्ने गरेको बालकृष्णले बताए । उनी तुलसीपुर मिल व्यवसायी समितिका अध्यक्ष पनि हुन् । अन्य व्यवसायीहरुले पनि सोही अनुसारको मूल्यमा तोरीको खाने तेल बेच्ने गरेको अभिव्यक्ति दिए ।
मिलहरुमा स्थानीय तोरी पेलेर बिक्री गर्दा त्योभन्दा सस्तो मूल्यमा आफूहरुले तेल बेच्न नसक्ने मिल व्यवसायीहरुको भनाइ थियो । तर तुलसीपुर तथा घोराही बजारमा भने यही उत्पादन भएको लेवल गरी ग्यालेन र पाउचमा बेच्ने तेल भने केही सस्तो पाइने गरेको यी व्यवसायीहरुले बताएका छन् । ट्यांकरमा तेल आयात गरी यहाँ उत्पादित तोरीको तेल भनेर बेच्नेहरुप्रति अनुगमनको ध्यानाकर्षण हुनुपर्ने पनि उनीहरुको आग्रह थियो ।
भारत लगायतका मुलुकबाट तोरी आयात गरी पेलाएर बेच्न व्यवसायीहरु तयार छन् । तर पछिल्लो समयमा तोरी आयात पनि रोकिएको छ । सरकारले एलसी खोल्नै रोक लगाएपछि विदेशबाट तोरी आयात गर्न व्यवसायीहरुले सकिरहेका छैनन् । एलसी नखोली भारत लगायत विदेशी मुलुकबाट तोरी आयात गर्न व्यवसायीहरुले पाउँदैनन् । यहाँ उत्पादन भएको तोरीले मात्रै स्थानीय बजारको माग थेग्न सक्ने अवस्था छैन ।
त्यही कारण स्थानीय तोरीको तेलको मूल्यबृद्धि भएको व्यवसायीहरुले बताएका छन् । तेल मिल व्यवसायीहरुले स्थानीय तोरी प्रतिक्वीन्टल १७ सय रुपैयाँमा खरिद गर्दै आएका छन् । प्रतिक्वीन्टल ३७ लिटरसम्म तेल आउने उनीहरुले बताएका छन् । तोरीनै महंगो भएपछि तेलको मूल्य बढाउनुको कुनै विकल्प नभएको पनि अनुगमनका क्रममा व्यवसायीहरुले बताएका छन् ।
उपमहानगरपालिकाको समन्वयमा भएको अनुगमनमा इलाका प्रहरी कार्यालय तुलसीपुर, बिजौरी उद्योग वाणिज्य संघका प्रतिनिधि, सञ्चारकर्मीहरु, तुलसीपुर उपमहानगरपालिका सरसफाइ शाखाका प्रतिनिधि तथा तुलसीपुरस्थित नापतौल तथा गुणस्तर कार्यालयका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा बिजौरी क्षेत्रका तेल मिल व्यवसायीहरुको एउटै आग्रह थियो ट्यांकरमा ल्याएर प्याकिङ गरी बेच्ने तेल र हामीले तोरी पेलेर बेच्ने तेलको गुणस्तरका विषयमा केही बोलिदिनुस् न ? । तर तापतौल तथा गुणस्तर कार्यालयले तेलको गुणस्तरमा के भिन्नता छ भन्ने विषयमा प्राविधिक परीक्षण गर्ने हैसियत अहिलेसम्म राखेको छैन । तर यसको मारमा उपभोक्ताहरु पर्दै आएका छन् ।
अनुगमनकै क्रममा ग्यालेनको तेलमा पनि फरक–फरक मूल्य भेटिएको छ । बिजौरीकै ए टु जेड सप्लायर्समा बिक्री हुँदै आएको स्वस्तिक तेल र अर्को पसलमा रहेको मूल्यमा फरक थियो । ए टु जेड सप्लायर्सले ग्यालेनमा उल्लेख भएको भन्दा पनि महंगोमा आफूले तेल बेच्नुपरेको गुनासो गरेको छ ।
सप्लायर्सका प्रोपाइटर शिवलाल पन्थी भन्छन्– ‘बस्तुमा अंकित मूल्यमा सप्लायर्सले नै हामीलाई दिँदैनन्, माथिबाटै महंगो भएको बताउँछन् ।’ सामानमा अंकित मूल्यभन्दा पनि महंगोमा सामान बेच्ने हैसियत राज्यका अधिकारीहरुले राख्दैनन् । नत सप्लायर्सका विषयमा छानबिन छर्न सरकारी अधिकारीहरु तयार छन् । यो अवस्थाले पनि उपभोक्ताहरु ठगिएको ठगिएै छन् ।
खाने तेलको मूल्य करीब डेढ बर्षको अवधिमा मात्रै प्रतिलिटर साढे २ सय रुपैयाँबाट बढेर प्रतिलिटर ४ सयसम्म पुगेको छ । स्थानीय बजारको तोरीको तेलको मूल्य मात्र नभएर भारतबाट आयातित ग्यालेनको तेलको मूल्य पनि त्यही आधारमा महंगिएको छ । दुई बर्ष अघि ६ सय रुपैयाँ प्रतिग्यालेन पर्ने तेलको मूल्य बढेर अहिले प्रतिग्यालेन १६ सय रुपैयाँ पुगेको छ । युक्रेन रसिया युद्धका कारण त्यस क्षेत्रबाट खानेतेल आयात हुन छाडेपछि खाने तेलको मूल्य अस्वाभाविक रुपमा बृद्धि भएको व्यवसायीहरुले बताएका छन् ।
यसैबीच अनुगमन टोलीले त्यस क्षेत्रका फलफूल तथा किराना पसलमा समेत अनुगमन गरेको थियो । किराना पसलमा म्याद नाघेका दैनिक उपभोग्य सामग्रीहरु भने फेला परेका थिएनन् । होटलहरुमा अनुगमन गर्दा सरसफाइको अवस्था कमजोर थियो । चिया नास्ता पसलमा सरसफाइमा ध्यान दिन अनुगमन टोलीले आग्रह गरेको थियो भने किराना पसलहरुमा दर्ता नवीकरण गर्न तथा मूल्यसुचि राख्न निर्देशन दिएको थियो ।
अनुगमनमा तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हकहित शाखा प्रमुख रेखा शर्मा, तुलसीपुर उपमहानगरपालिका–१८ का सचिव रामकुमारी मरासिनी, सरसफाइ शाखाका माधव पौडेल, इलाका प्रहरी कार्यालय हेमन्तपुरका तिलक केसी, विजौरी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष बालकृष्ण रेग्मी, पत्रकारहरुलगायत सहभागी थिए । अनुगमनका क्रममा उपभोक्ता शाखा प्रमुख शर्माले तेल व्यवसायीहरुलाई मिसावटयुक्त तेल बिक्री वितरण नगर्न तथा मूल्यमा एकरुपता ल्याउन आग्रह गरेकी थिइन् ।