निर्वाचन र मतदाता

सुभाष न्यौपाने

के हो निर्वाचन बुझाउ लोकका मतदाता को भनेर
निर्वाचनमा आउने परिणाम खरखरी हो गनेर
अधिक मतले जित्दछ चुनाव त्यसपछि दोस्रो, तेस्रो
नागरिकको अधिकार हेर शक्तिशाली गजबको !

संसारका हरेक प्रजातान्त्रिक मुलुकमा आम निर्वाचनको रुपमा स्थानीय निकाय तथा संघीय र प्रदेशको निर्वाचन हुनेगर्छ । नेपालमा पनि विगतदेखि नागरिकहरु निर्वाचनमा सहभागी हुँदै आएका छन् । २०१५ सालदेखि नेपालमा पनि लोकसम्मतिमा आधारित आम निर्वाचनको शुरु भएको हो । पहिलो आम निर्वाचन जसरी लोकसम्मतिको आधारमा भए त्यही निर्वाचनले कतै राजालाई नै अवस्थामा फरक ल्याउने पो हो कि भन्ने त्रासले तत्कालीन राजा महेन्द्रले बहुदलीय पद्धतिमा आधारित आम निर्वाचन र त्यसबाट नेपाली कांग्रेसको नेतृत्व गर्दै महामानव विपी कोइराला अग्रपंक्तिमा उभिए ।

सायद त्यही त्रासले पो हो कि राजा महेन्द्रले बहुदलीय पद्धतिमा आधारित लोकसम्मत निर्वाचन प्रणालीमा समेत असर पर्ने गरी पञ्चायती शैलीको शासन प्रणाली शुरु गर्ने उद्देश्यका साथ २०१७ साल पुस १ गते पद्धति नै खारेज हुने गरी सदन र सरकार दुबै क्षेत्र अपदस्थ गरी आफ्नो कब्जामा शासन पद्धति लिए । त्यसपछि सरकारको र संगठनको नेतृत्व गरेर व्यक्ति महामानव विपी कोइराला र गणेशमानजी, सुवर्ण शमशेर र किशुनजी तथा कम्युनिष्ट पार्टीका नेताहरु मनमोहन, पुष्पलाललगायतका नेताहरु पार्टी प्रतिबन्धित भएपछि प्रवास बास र भागाभागको अवस्थामा रहे ।

जसले गर्दा पञ्चायती पद्धतिको निर्वाचन शुरु भयो । बहुदलीय पद्धति अनुसारको निर्वाचन प्रणालीमाथि आक्रमण भयो । त्यो पद्धति ३० वर्षसम्म चल्यो । त्यसपछि २०४६ को जनआन्दोलन जुन प्रथम ऐतिहासिक जनआन्दोलनको रुपमा वर्तमान इतिहासमा अंकित छ । जुन इतिहासलाई आजका दिनसम्म बहुदलीय पद्धतिको आधारमा निरन्तरता दिइरहेको छ । सोही पद्धतिअनुसार स्थानीय तहको निर्वाचन आज हुन गइरहेको छ ।

लोकसम्मतमा आधारित जनपक्षीय पद्धति भएपनि राजनैतिक दलका नेताहरुको आफ्नो कर्तव्यप्रतिको उदासीनता राजनीतिलाई सेवाको रुपमा लिनुपर्नेमा व्यवसायको रुपमा लिनु, अकुत सम्पत्ति राजनीतिबाटै कमाउनु र कमाउने चेष्टा गर्नु, आफ्ना आसेपासेलाई मोटाउने गरी राजनैतिक भण्डारमा भित्र्याउनु यी आदि कुराहरुले गर्दा वर्तमान राजनीतिका नेतृत्व कर्ताहरुप्रति जनता अलि विमुख देखिएका छन् ।

जनताको निर्णय र आदेशलाई मान्दै राजाले आफ्ना शक्ति र सुविधाहरु कटौती गर्दै पछिल्ला समयमा राजगद्धी समेत त्याग गरेको यो मुलुकमा राजसंस्थाले आफ्नो इतिहासलाई सुधार्न त सुधारेको छ तर पनि जनताले अझै राजसंस्था पुनः स्वीकार गरेका छैनन् । त्यही कुरा जनताका नेताहरुले किन बुझ्न नसकेका होलान् ? यस्तो परिस्थितिमा नेताहरु किन जनतासँग एकाकार भएर जनताको साथ पाउन गाह्रो भइरहेको छ ? राजावादी र भूतको रुपमा रहेको राप्रपा हजारौँ मान्छेलाई सडकमा ओरालिरहेको छ । के त्यो जनमानसको उभार राप्रपाप्रतिको विश्वास र भरोसा, माया हो त ? त्यो किमार्थ होइन ।

त्यो त वर्तमानको राजनीतिमा हालीमुहालीकर्ताहरुका विरुद्धको आक्रोश र असन्तुष्टि मात्र हो । त्यति कुरा पनि नबुझेर नेताहरुले मतदातालाई भेडा बनाउन खोजेको आक्रोश र आपत्ति प्रकट मात्र हो । हाम्रो मुलुकका लोकतान्त्रिक पद्धतिको नेतृत्वकर्ता नेताहरु आफ्नो ओज गुमाइरहेका छन्, थकित छन् र स्खलित देखिन्छन् । अब भन्नोस् यिनीहरुले देश विकास र देशको निकास दिने कुरालाई कसरी अगाडि बढाउँलान् ? अहिले निर्वाचनको मुखमा आएर सामान्य जनलहर राप्रपाको पक्षमा देखिए तापनि परिवर्तनकामी जनता भने मतदान गर्ने अवसरमा परिवर्तनकै पक्षमा मतदान गर्छन् ।

किनभने राप्रपाको यो मुलुकको लागि नत परिवर्तनकारी हो, न त विकाशशील सोच भएको पार्टी हो । तर पनि विकास र परिवर्तनका बाहक दलहरु नै आफ्नो ओज र शाख गुमाइरहेका कारण पनि जनताले निराशा पोखेका मात्र हुन् । जब शासकहरुको ओज घट्दै जान्छ तब तब दलीय व्यवस्थामा व्यवस्थामाथि नै ठूलो आर्थिक भाररुपी थेग्नै नसक्ने गरी रोग लाग्न सक्छ । जसको कारण मुलुक अर्थतन्त्रको बाटोमा ओरालो लाग्दै जान्छ भने राजनैतिक अस्तित्वको धरातल खुम्चिँदै जान्छ । जसको कारण मुलुकमा राजनैतिक अस्थिरता र राजनैतिक गतिविधिहरु संकुचन हुँदै जान्छ ।

मुलुकमा निर्वाचनलाई अलि मनगढन्ते रुपमा लिन्छ । निर्वाचन भनेको यस्तो पद्धति हो जसले क्रमिकरुपमा निर्वाचनसम्बन्धी गतिविधिमा क्रमिक सुधार ल्याउँछ । राज्यका जतिसुकै पहुँचवाला होऊन् या सामथ्र्य नभएका नागरिकहरु होऊन्, उनीहरु समान अवसर तथा समान अवस्थामा पुग्नको लागि गरिने गतिविधि नै निर्वाचन हो । हुनसक्छ निर्वाचनमा केही समयसम्म मनि, मसलले प्रभाव पार्न सक्छ तर नतिजापश्चान् आउने गतिविधिले ती सबै कार्यक्रमलाई सुधार्दै जान्छ ।

निर्वाचन लोकसम्मत हुनुपर्छ, निर्वाचन न्यायिक हुनुपर्छ तर यो मुलुक अहिलेसम्म न त लोकसम्मत बन्न सकेको छ न त विधिसम्मत बन्न सकेको छ । मुलुकको बहुसंख्यक सदस्य संख्या रहेको पार्टी नेकपा एमाले अहिले प्रमुख प्रतिपक्षी दलमा रहेको छ । जसले पटक–पटक संविधान र मुलुकको कानुनमाथि बलात्कार गर्ने कोशिस ग¥यो, तर अन्तमा मुलुकका न्यायकर्मी जसले राजनीति र राज्यको न्यायिक प्रणालीलाई जोगाउने कोशिस गरे ।

अहिले जसका विरुद्धमा महाअभियोगको प्रस्ताव दर्ता भएको छ, त्यस्तो अवस्थामा पनि नेपाली कांग्रेस न्याय र कानुनको पक्षमा उभिन सकेन । हेर्नुस्, कस्तो विडम्बना ! आज शुक्रवार नेपालमा जनमैत्री संविधान र कार्यान्वनयको लागि मतदान हुँदैछ । दलहरुमाथि विश्वास हुन नसक्दा मुलुकका प्रतिगमनकारीहरु सल्बलाइरहेका छन् । अग्रगमन भन्नेहरु पश्चगमनकारीहरुको लंगौटी समातिरहेका छन् ।

तसर्थ नेपाली जनतासँग के आग्रह छ भने जसबाट नेपाल र नेपाली जनताको अग्रगमनको विकास हुनसक्छ भन्ने विश्वास लाग्छ त्यही मतदान गर्नुस् । अग्रगमनकै कुरा गर्ने हो भने नेपालमा नेपाली कांग्रेस र कांग्रेसले नेतृत्व गरेको दल वा गठबन्धन नै हो, जसले जति गफ गरे पनि मुलुकको लागि नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनसँग सहकार्य गरेर नेपाली जनताका पक्षधर उम्मेदवारहरुलाई विजयी बनाउने कार्य गरौँ ।

नेपाली राजनीति अझै पनि कसैलाई निम्ता दिँदैमा सफल हुने सम्भावना कमै छ । तसर्थ राजनीतिलाई कसैको पनि पेवा र उपहास सम्झेर यदि कुनै पनि दल र त्यसका नेताहरु सिंग्रन खोज्छन् भने त दल र दलको नेताहरुले अलिकति पनि लाज अनुभूत गर्नुपर्छ । यदि गर्दैनन् भने उनीहरुबाट न त मुलुकको सम्मान हुन्छ न त नागरिकको नै । तसर्थ हामी सबैले मुलुक र नागरिकको इज्जत र सम्मान गर्न सक्ने राष्ट्र विकास गर्नसक्ने प्रजातन्त्रप्रेमी नेताहरुलाई आफ्ना हरेक संकाय र निकायमा निर्वाचित गरौँ ।

मुलुकको विकासका लागि सम्प्रदाय र जातीयको प्रचार गर्नेलाई बहिष्कार गरौँ । मुलुकको समुन्नतिको लागि आफ्ना तह र तप्काका विभिन्न असल नागरिक र नेतृत्वलाई रोजौँ । यही नै आजको आवश्यकता पनि हो । निर्वाचन र मतदाताबीचको सम्बन्धलाई यदि कसैले फरक दृष्टिकोण र भिन्न दृष्टिले हेर्न खोज्छ र व्याख्या गर्न खोज्छ भने त्यो जति नै जान्ने भए पनि बहुलठ्ठक नै हो ।