क्लस्टरवाइज सेक्युरिटी, छुट्टै मोवाइल एक्सन टिम

गोरक्ष समाचारदाता
दाङ, ३० वैशाख । जिल्लाभर मतदानलाई भव्य, सभ्य, व्यवस्थित एवं सुरक्षित बनाउन सुरक्षा संयन्त्रले अन्तिम तयारी गरिरहेको छ । मानव सुरक्षासँगै प्राकृतिक विपदको सुरक्षामा पनि सुरक्षा अधिकारीहरू लागेका छन् ।

मतदान स्थलको सुरक्षा व्यवस्थापनमा कुनै कम्प्रोमाइज नहुने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन् । यहाँ कुनै पनि भूमिगत गिरोह वा निर्वाचन बहिस्कार गर्ने समूहको विशेष प्रभाव नभएको निष्कर्ष पनि सुरक्षा निकायको छ । यद्यपि, सम्भावित सुरक्षा चुनौतीको पनि सूक्ष्म विश्लेषण सुरक्षा अधिकारीहरूले गरेका छन् ।

जिल्ला निर्वाचन सुरक्षा विशेष व्युरोसँगै दाङ जिल्लालाई तीन सुरक्षा क्लस्टरमा विभाजन गरी हरेक क्लस्टरमा विशेष सुरक्षा टोली बनाइ सकिएको बताइएको छ । एउटा क्लस्टरले तुलसीपुर सेक्टर हेर्ने छ भने अर्कोले घोराही क्षेत्र र अर्को टोलीले लमही क्लस्टरलाई हेर्ने व्यवस्थापन भइसकेको छ । हरेक मतदान केन्द्रमा कम्तिमा ८ जनादेखि आवश्यकताअनुसार ४० जनासम्मको सुरक्षाकर्मीको टोली परिचालित भइसकेको छ । हरेक मतदान केन्द्रमा कम्तिमा ५ मिनेटदेखि ३० मिनेटभित्रै पुग्न सक्ने विशेष मोवाइल सुरक्षा टिम समेत परिचालन गरिने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन् ।

कुनै पनि क्षेत्रमा आवान्छित गतिविधि भएको सूचना पाउनासाथ थप सुरक्षाबल पुग्ने गरी जगेडा टिम निर्माण भइसकेको छ । सो टिम आवश्यकताअनुसार मात्रै परिचालित हुनेछ । निर्वाचनका लागि सशस्त्र प्रहरीको सुरक्षा घेरा पनि रहने व्यवस्थापन भइरहेको छ । आवश्यकता परेको अवस्थामा नेपाली सेनालाई पनि परिचालन गरी निर्वाचनलाई सुरक्षित एवं व्यवस्थित बनाइने छ ।

निर्वाचन बहिस्कार समूहको व्यवस्थापन भइसकेको जिल्ला सुरक्षा अधिकारीहरूको दाबी छ । नवगठित नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले शुक्रवार हुने निर्वाचन शान्तिपूर्ण गराउन बास्तोलालाई नियनत्रणमा लिइएको जानकारी दिए ।

उक्त पार्टीले निर्वाचन बहिस्कार गर्ने नीति लिएको छ । बुटवलमा विहीवार मात्रै बम विष्फोर्ट भएको थियो । त्यसैलाई मध्यनजर गर्दै सोधपुछ गरिएको र बास्तोलालाई निर्वाचन नसकिँदासम्म निगरानीमै राखिने प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका नेता बास्तोलालाई प्रहरीले विहीवार बिहान ४ बजे सोधपुछका लागि भन्दै दाङको भालुवाङमै रोकेको थियो । उनको समूहसँगको छलफलका क्रममा निर्वाचन वहिष्कारको कुनै अभियान नरहेको बताइएपछि उनलाई विहीवार रिहाइ गरिएको सुरक्षा स्रोतले बताएको छ ।

प्रतिकूल मौसमको चुनौती

यसैबीच निर्वाचन सुरक्षा संयन्त्र पछिल्लो समयमा मौसमी सुरक्षाको व्यवस्थापनमा पनि लागेको छ । मौसम पूर्वानुमान अधिकारीहरूले निर्वाचनका दिन पनि भारी वर्षात हुनसक्ने चेतावनी दिएकाले अहिले जिल्लाका हरेक मतदान केन्द्रमा झरीको प्रभाव न्यून बनाउँदै सुरक्षित रूपमा मतदान गर्नका लागि त्रिपाल व्यवस्थापनलगायत सुरक्षित कोठामा मतदानको व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी रेग्मीले गोरक्षलाई बताएका छन् ।

‘झरीले भिजेर मतदान असहज हुने वा मतपत्र बिग्रन नदिन हामी अत्यन्तै गम्भीर छौँ, त्यसका लागि सबै मतदान केन्द्रमा व्यवस्थापनको तयारी अन्तिम चरणमा छ’, प्रजिअ रेग्मीले भने । मतगणना सर्वदलीय बोर्डको निर्णयपछि

यसैबीच मतगणनाको काम कतिवेलादेखि सुरु हुने भन्ने सर्वदलीय बोर्ड बौठकको निर्णयपछि हुनेछ । शुक्रवार साँझैबाट मतगणना हुने वा शनिवारदेखि हुने भन्ने सन्दर्भमा निर्वाचन समितिले अझै निर्णय गरेको छैन । मतगणना सम्पन्न भएपछि दशवटै पालिकामा एक÷एक स्थानमा मतगणनाको काम हुनेछ ।

हरेक पालिकाको मतगणना स्थलमा सिसी क्यामेराको निगरानी सहित सुरक्षा व्यवस्थापन भइसकेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताएका छन् । त्यसका लागि एजेन्ट, गणकलगायत थप कर्मचारीको व्यवस्थापन पनि मतगणना सुरु हुनु अघि टुङ्ग्याइने बताइएको छ । सकेसम्म मतगणनालाई छरितो र व्यवस्थित बनाउनका लागि उपयुक्त व्यवस्थापन गर्नमा आफुहरू गम्भीर रहेको र निरन्तर यो विषयमा छलफल पनि भइरहेको प्रजिअ रेग्मीले बताएका छन् ।

‘हामी दाङ जिल्लामा नमुना निर्वाचन बनाउन प्रतिबद्ध छौँ, यसमा सबै राजनीतिक दल, नागरिक समाज, निर्वाचन पर्यवेक्षक एवं परिचालन भएका कर्मचारीहरूको पूर्ण साथ र सहयोगको अपेक्षा गरेका छौँ’, प्रजिअ रेग्मीले भनेका छन् ।