तुलसीपुरमा एमालेका वडाध्यक्ष उम्मेदवारको निधन

घोराही, २७ बैशाख । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार लवरू चौधरीको निधन भएको छ ।

तुलसीपुर उपमहानगरपालिका १७ मा वडा अध्यक्षका उम्मेदवार रहेका ५३ बर्षीय चौधरीको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । चुनाव प्रचारप्रसारका क्रममा विरामी भएपछि सुरुमा चौधरीलाई नेपालगन्जस्थित भेरी अस्पतालमा लगिएको थियो । तर त्यहाँ उपचार संम्भव नभएपछि चार दिनअघि उपचारका लागि काठमाडौं लगिएको थियो ।

काठमाडौंको शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार विहान चौधरीको मृत्यु भएको नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका कमिटी अध्यक्ष माधव वलीले जानकारी दिनुभएको छ । उहाँका अनुसार चौधरी मिर्गौला र कलेजो सम्वन्धी बिरामी हुनुन्थ्यो । चौधरी ०७४ को स्थानीय तह चुनावमा तुलसीपुर १७ को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

वडाध्यक्षका उम्मेदवारको निधन भएपछि वैशाख ३० गते हुने चुनाव अन्यौलमा परेको छ । वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएको खवर निर्वाचन आयोगलाई केन्द्रमा जानकारी गराएपनि निर्वाचन के गर्ने भन्ने जानकारी आयोगले अझै नदिएको तुलसीपुर उपमहानगरपालिका अधिकृत राजेश्वर अर्यालले जानकारी दिनुभएको छ । ‘वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएको जानकारी निर्वाचन आयोगलाई पठाएका छौ’,उहाँले भन्नुभयो,‘आयोगले जानकारी गराएपछि निर्वाचन के गर्ने भन्ने हुन्छ ?’