स्थानीय तहको निर्वाचन संघारमा आइसकेको छ । यस बीचमा विभिन्न सपनाहरु बाँडिएका छन् । समानुपातिक विकास, समावेशी विकास, घोराही र तुलसीपुर क्षेत्रमा आकाशे–पुल, मोनो–रेल, प्लाइओभर सडक, घर–घरमै ज्येष्ठ नागरिकलाई औषधी उपलब्ध गराउन, सामुदायिक स्कूलहरुको स्तर वृद्धि गर्ने, सबै वडामा पर्यटकीय पूर्वाधारलगायतका घोषणापत्रहरु मुख्य राजनीतिक दलहरुले सार्वजनिक गरिसकेका छन् ।
त्यही घोषणापत्र लगेर चुनावी अभियानमा राजनीतिक दलहरु लागिरहेका छन् । हरेक कार्यक्रममा चुनावी प्रतिबद्धताका पोकाहरु बाँडिएका छन् । एक दर्जन होइन, दुई–तीन दर्जन चुनावी नारा राजनीतिक दलहरुले सार्वजनिक गरेका छन् तर समग्र दाङको आर्थिक समृद्धिका मुद्दा भने ओझेलमा परेका छन् ।
दाङको समृद्धि टरिगाउँ विमान स्थलको स्तर पृद्धिमा छ । दाङको समृद्धि अमिलिया–तुलसीपुर–कपुरकोट सडकको स्तर वृद्धिमा छ । दाङको समृद्धि दाङ–सुर्खेत सडकको स्तरोन्नतिमा अल्झिएको छ अनि दाङको समृद्धिको महत्वपूर्ण विषय भनेको नेपाल संस्कृत विश्वविद्यालयलाई चलायमान गराउँदै समयोपयोगी शिक्षाका लागि केन्द्रित छ । तर खोइ चुनावी नारा यी बृहत स्वार्थका विषयमा ?
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार वर्ष पूरा गर्दैैगर्दा यहाँका नेताहरुले यो संस्थाबाट केही अपेक्षा गर्न किन खोजिरहेका छैनन् ? स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमै सञ्चालन भइरहँदा राजनीतिक एजेण्डामा यहाँ मेडिकल कलेज सञ्चालन हुनु पर्दैन र ? आम नागरिकले यही खोजिरहेका छन् ।
स्थानीय तहको निर्वाचन एउटा उत्सव मात्र होइन, अवसर पनि हो । दाङको समृद्धिको खाका पनि हो । यी विषयलाई सम्बन्धित पालिकाले सम्बोधन गर्न सकेनन् भने पार्टीका नारालगायर मत मागेको कुनै अर्थ रहँदैन । घोराहीका उम्मेदवार नरुलाल चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सञ्चालनको खाका ल्याउन आवश्यक छ, डायमण्डले त्यसलाई अपनत्व बनाउन आवश्यक छ ।
गेहेन्द्र गिरी र टीकाराम खड्काहरुले तुलसीपुरको एअरपोर्टलाई सम्बोधन गर्न आवश्यक छ । राप्ती प्रादेशिक अस्पताल र पश्चिम दाङको भविष्यमा तुलसीपुरले अहम भूमिका निर्वाह गर्न आवश्यक छ तर उम्मेदवारहरुले यी समस्याका विषयमा अझै पनि गम्भीर रुपमा प्रस्तुत हुन सकेका छैनन् । दर्जनौँ एजेण्डा ल्याएर चुनावी मैदानमा आउनु आवश्यक छैन । ती सबै समानुपातिक र समावेशी विकासका क्रममा सम्बोधन हुने एजेण्डा हुन् तर खास एजेण्डामा प्रवेश गर्न नसक्नु दुर्भाग्यको कुरा हो ।
चार वर्षसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान किन चलायमान हुन सकेको छैन ? वि.सं. २०११ सालमा सञ्चालनमा आएको टरिगाउँ विमान स्थललाई आधिकारिक रुपमा ठूला विमान सञ्चालन गर्न किन सकिएन ? कुन दलले यो राजनीतिक दाउँपेच खेलिरहेको छ ? भन्ने विषयमा बोल्न पर्छ कि पर्दैन, राजनीतिक दलहरुले ? गम्भीर बनौँ, दाङको समृद्धिमा । फल पाएर पनि स्वाद चाख्न नखोज्नु जस्तै राजनीतिक दरिद्रता नदेखाऔँ । दाङका समृद्धिका विषयमा जानकार बन्दै मत मागौँ, मतको अधिकार जनतालाई सुम्पौँ ।