Goraksha

National Daily

विरामी लिन अप्ठ्यारो नमान : स्वास्थ्य मन्त्रालय

दाङ, चैत १८ । अस्पतालहरुमा ज्वरो र रुघाखोकीका विरामीहरुलाई लिन अप्ठ्यारो मानिरहेका खबरहरु आइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्ता घटनाप्रती ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले ‘त्यसो नगर्न’ अस्पतालहरुलाई आग्रह गरेको छ ।

बुधबार प्रेस सम्मेलनमार्फत मन्त्रालयले यस्ता घटनाप्रती आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयका प्रबक्ता डा.विकास देवकोटाले भने, ‘ज्वरो अरु कारणले पनि आउँछ, रुघा खोकी पनि अरु अबस्थामा पनि आउँछ, त्यस्ता विरामीहरुलाई कोरोनाको संक्रमण नै छ भनेर लिन नमानेका खबरहरु प्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’ उनले सबै बिरामीहरुलाई सेवा दिने तर्फ सरकारी र निजी अस्पतालको ध्यानाकर्षण गराएका हुन् ।

त्यसैगरी पत्रकार सम्मेलनमा स्वास्थ्यकर्मीहरुले पीपीएको प्रयोग गर्दा त्यसको आबश्यकता र औचित्यको आधारमा गर्न सुझाव दिएका छन् । एकजनाको स्वाव परीक्षणका लागि तिनचार जना स्वास्थ्यकर्मीले पीपीएको प्रयोग गरी फोटो खिचाएर सामाजिक सञ्जालमा राखेका घटनाले मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै मन्त्रालयका तर्फवाट त्यसरी प्रयोग गर्दा महामारी फैलिएमा समस्या आइलाग्ने तर्फ गंभिर बन्न आग्रह पनि गरिएको छ ।