भुवन पोख्रेल
हिमालहरु पग्लिँदै नाङ्गा डाँडा बन्दै छन् । सहरी क्षेत्रका नदीहरु ढल बन्दै गइरहेका छन् । यहाँका नदीहरु आज सौन्दर्यहीन मात्र होइन लगभग मृत अवस्थामा छन् । पहिले नदीहरु सभ्यताका मुहान थिए, अचेल नदीहरु फोहर मिल्काउने स्थान बन्न पुगेका छन् । नदी अमूल्य प्राकृतिक सम्पत्ति हुन् । पानीका मुहान संरक्षण गर्नु पर्छ ।
सहरी पर्यावरण सन्तुलनको दृष्टिले नदी संरक्षणको निकै महत्व छ । नदीलाई प्राकतिक स्वरुपमै व्यूँताउन पर्छ । यी धर्ती सबैको साझा थलो हो । पृथ्वी सबैको साझा घर हो । यो बासस्थान भावि पिढीका लागि बाँच्न योग्य र सुरक्षित राख्नु हामी सबैको दायित्व हो । वातावरण जीवनको अस्तित्वसँग जोडिएको विषय हुँदाहुँदै पनि आज विश्वमा मानवकै कारण थुप्रै समस्या उत्पनन भइ वातावरण प्रतिकूलता थपिएका छन् । विकासको नाममा प्राकृतिक सम्पदामाथि अनियन्त्रित दोहन र शोषण भइरहेको छ ।
विकासको नाममा हुने विनाशले भावि पुस्ताको जीवनलाई संकटतर्फ धकेलिदिन्छ । हामीले एउटा रुख काट्छौँ भने दशवटा रुख तत्काल रोप्ने अभियान थाल्नु पर्छ । हरियाली डाँडाहरु अहिले मरुभूमिकरणमा जाँदै छन् । जसले पहिरो, भूक्षय बढिरहेको छ । पृथ्वीको बढ्दो तापमान अहिलेको मुख्य चुनौती बनेको छ । वर्षेनी शून्य दशमलव १८ डिग्री सेन्टिगे्रटका दरले पृथ्वीको उत्तरी ध्रुवमा बरफका चुचुरा पग्लिँदै गएका छन् ।
प्राकृतिक विपतका घटना वृद्धि भइरहेका छन् । हाम्रो इकोसिस्टम जति स्वस्थ हुन्छ त्यति नै स्वस्थ ग्रह र मानिसहरु हुन्छन् । हाम्रो क्षतिग्रस्त इकोसिस्टमको पुनःस्थापनाले गरिबी अन्त्य गर्न जलवायु परिवर्तनसँग लड्न जरुरी छ । वन फडाणी, भू–उपयोग परिवर्तन, तीव्र कृषि र पशुपालन उत्पादन वा बढ्दो अवैध वन्यजन्तुको व्यापारले ग्रहको विनाशको गतिलाई तीव्र बनाउन सक्छ ।
अप्रिल २२ मा विश्व पृथ्वी दिवस मनाइन्छ । पृथ्वीका लागि रुख नाराका साथ यो दिवस १९२ भन्दा बढी राष्ट्रहरु मनाए । सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो । पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने गरिन्छ । पृथ्वी हाम्रो आधार हो । सनातन धर्मले आमाको रुपमा मानेको यस सर्वव्यापी धरातलको महत्व अपरिहार्य छ ।
मानिस आफ्नै पैतालामुनि भएको पृथ्वीको अवलोकन गर्दै विज्ञान अनि विकासको मातमा आकाश र अर्को ग्रहको सपनामा हराउँदा पृथ्वी अनि वातावरणमा पर्न गएको नकारात्मक असरलाई आँखा चिम्लिन पुगेको छ । ठूल्ठूला अणुबम, परमाणु, हवाइजहाज, क्षेप्यास्त्र निर्माण गर्न सक्ने उच्चतम प्रयोगशालाहरुमा समेत एक चिम्टी माटो निर्माण गर्न सक्ने सामथ्र्य छैन ।
माटो प्रकृति हो, हावा प्रकृतिको सञ्चार हो अनि पानी जीवन हो । नदीहरु नसाहरु हुन् । वृक्षहरु प्राणवायु दिने शरीर हुन् । रती हाम्री जीवन दातृ माता हुन् । यी सबैको अस्तित्व जोगाउन सकेनौँ भने मानवीय अस्तित्व संकटमा पर्दछ । जीवन रक्षाका लागि हामीले माटो, पानी, हावा, बोटविरुवा, हिमाल, पहाड, जैविक विविधता र दिगो विकास जस्ता पक्षको रक्षा गर्नु पर्छ ।
अहिले पृथ्वीको बढ्दो तापमान र जलवायु परिवर्तन ठूलो चुनौतीको रुपमा हाम्रा सामू देखापरेको छ । सूर्यबाट आउने परावैजनी किरणलाई रोक्ने ओजोन तहको नास, डरलाग्दा आँधी तुफान र सुनामी जस्ता प्राकृतिक विपतका घटनाहरु वृद्धि भइरहेका छन् । यसमा मानव जाति संयम, जिम्मेवार छ । प्रकृति र पर्यावरणमाथिको खेलवाडले जलवायु परिवर्तनको चपेटामा पृथ्वी पर्न थालेको छ । पृथ्वीमाथि मानिसले अव्यवस्थित दोहन गर्दा प्राकृतिक विपत्ति बढ्दै गएको छ ।
औद्योगिक विकासको अस्तव्यस्त होडबाजीले जल, जमिन, जंगल, जडिबुटी, जीवजनतुलाई नकारात्मक असर पर्दै गएको छ । अहिले जमिन मरुभूमिकरण बन्दै गएको, समुद्रको सतह बढ्दै गएको, हिमालको हिउँ पग्लिँदै गएको, आगलागी, वनविनाशजस्ता घटनाले पृथ्वी संकटमा छ । नेपाल विश्वसँगै जलवायु परिवर्तन र बढ्दो प्रदूषणको चपेटामा पर्दै गएको छ । गत वर्षदेखि उच्च पहाड र हिमालमा पर्याप्त हिउँ परेको छैन ।
देशभरि प्रदूषण फैलिएर मानव जीवनमा असर पर्ने भएकाले केही दिन सार्वजनिक बिदा पनि दिइयो । पृथ्वी बचाउन मानिसले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनु आवश्यक देखिन्छ । पृथ्वी हाम्रो आधार हो । यसमा लगानी ग¥यौँ भने भावि पुस्ताले यसको प्रतिफल पाउने छ । वातावरण सम्पूर्ण प्रणालीका लागि साझा घर हो । वातावरणसँग नै प्राणीको अस्तित्व जोडिएको छ । वातावरणका प्राकृतिक स्रोतहरुको प्रयोगबाट नै जीवन प्रक्रिया अघि बढेको हुन्छ । मानव आज जुन अवस्थामा छ त्यो सम्पूर्ण देन वातावरणको हो ।
वातावरणलाई विशेष गरी प्राकृतिक वातावरण र सामाजिक÷सांस्कृतिक वातावरण गरी दुई भागमा बाँड्न सकिन्छ । साधारण अर्थमा हामी मानव समाजका आसपासमा रहेको हावापानी, माटो, वनजंगल, पशुपक्षी, तापक्रम, खनिज आदिलाई प्राकृतिक वातावरण भनेर बुझ्दछौँ भने मूल्य, मान्यता, रीति, परम्परा, धर्म सामाजिक सम्बन्ध, लेनदेन आदि सामाजिक÷सांस्कृतिक वातावरणमा पर्दछन् ।
मानव बाहेक सम्पूर्ण प्राणी प्राकृतिक वातावरणमा मात्र बाँचेका छन् भने मानव जातिलाई भने प्राकतिक र सामाजिक÷सांस्कृतिक वातावरण आवश्यक पर्दछ । वातावरण सम्पूर्ण प्राणीको साझा घर हो । वातावरण मानिसको जीवनको अस्तित्वसँग जोडिएको हुन्छ । अहिले पृथ्वीमा जल प्रदूषण, वायु प्रदूषण, माटो प्रदूषण, ध्वनि प्रदूषणले मानिसमा क्यान्सरजस्ता भयानक रोगहरु निम्तिएका छन् । पृथ्वीको घेरालाई तोडेर कहीँ जान सकिँदैन । त्यसर्थ, पृथ्वीलाई बचाएर राख्नु हाम्रो दायित्व हो ।
मानिस पृथ्वीमा जन्मन्छ, हुर्कन्छ र यही पृथ्वीमा नै उसको अस्तित्व बिलिन हुन पुग्दछ । हाम्रो वरिपरि हामीले देखेका माटो, हावा, पानी, प्राणी, वनस्पतिलगायतका सबै सन्तुलित अवस्था वातावरण हो । हामीले देखेको वातावरणमा असन्तुलन आउनु वातावरण प्रदूषण हो । अहिले वातावरण प्रदूषण विश्वव्यापी समस्या बनेको छ । वातावरण भनेको पृथ्वी हो । वातावरण संरक्षण गर्नु भनेको हाम्रो बासस्थानलाई सुरक्षित र मानव अस्तित्वको जगेर्ना गर्नु हो । वातावरण संरक्षणमा हातेमालो गर्न सकिएन भने हामीले भावि पुस्तालाई कालकोटरीमा जन्म दिन विवश हुने छौँ ।
वातावरण प्रदूषणका कारणहरुमा औद्योगिक विकास गर्नु, जथाभावी उत्खनन् गर्नु, वैज्ञानिक कृषि प्रणाली अवलम्बन नगर्नु, जथाभावी फोहर गर्नु वा व्यवस्थापन नगर्नु, प्लास्टिकहरुको प्रयोग तथा प्लास्टिकजन्य वस्तु जलाउनु, पुराना सवारी साधनहरुको प्रयोग गर्नु, वनजंगलको विनाश गर्नु, वातावरण शिक्षाको कमी वा जनचेतनाको कमी तथा नदीनालामा ढल मिसाउनु आदि ।
वातावरण प्रदूषणका कारण ओजोन तहमा विनाश हुने, दीर्घ रोग लाग्ने, मौसममा परिवर्तन हुने, अम्ल वर्षा हुने, श्वासप्रश्वासमा असर हुने, दमलगायतका रोग लाग्ने, कृषि उत्पादनमा ह्रास आउने, वन्यजन्तुको लोप हुने तथा विश्वव्यापी उष्णता र हरितगृहमा प्रभाव हुने गर्दछ । वातावरणको रक्षा मानव जातिको सुरक्षा भनेजस्तै वातावरण संरक्षणले हामीलाई दिगो जीवनको अनुमति दिन्छ । वातावरण स्वच्छ र सफा राख्न सबैले दिगो विकासको अवधारणालाई आत्मसात गर्न सक्नु पर्छ ।
वातावरण प्रदूषणलाई समयमै रोकथाम गर्न सकिएन भने हामी हाम्रो जीवनलाई स्वस्थ अनि दिगो बनाउन सक्दैनौँ । हरेक स्थानीय तहले प्रदूषणमा कमी ल्याउन नीति तथा कार्यक्रममा समेटि हरेक नागरिकलाई जागरुक बनाउन जरुरी छ । वायुप्रदूषण धुम्रपानभन्दा खतर्नाक हुन्छ । वायुप्रदूषणले फोक्सो र आँखामा असर पार्न सक्छ । वायुप्रदूषणका कारक डढेलो, सवारी साधनको धुवाँ, इट्टाभट्टाको धुवाँ, अव्यवस्थित सहरीकरण, बिग्रिएका सडक आदि ।
उद्योगधन्दाबाट निस्कने ग्यासहरु र कलकारखानाका फोहर आदि वायु प्रदूषणले मस्तिष्कमा पनि असर पार्छ । हामीले पिउने पानी, स्वास फेर्ने हावा, खोलानाला सबै प्रदूषित र अप्राकृतिक भइरहँदा पनि हाम्रा कानमा खतराको घण्टी अझै किन बज्न सकेन ? वृथ्वीको भारवहन क्षमता भन्नाले पृथ्वीले अधिक्तम जनसंख्या कतिलाई वहन गर्न वा धान्न सक्छ ? जसलाई वातावरणले बाँच्नका लागि सहयोग गर्न सक्छ भन्ने अवधारणा हो ।
जनसंख्याको वृद्धि त्यो तहसम्म हुन्छ जबसम्म प्राकृतिक स्रोत साधनले उनीहरुलाई आफ्नो जीवन निर्वाहका लागि आवश्यक वस्तुहरुलाई परिपूर्ति गर्न सक्छ । तसर्थ, वातावरणले मानिसहरुको आवश्यकता पूरा गर्न सक्नेसम्मका जनसांख्यिक मात्रालाई भारवहन क्षमता भन्न सकिन्छ । पृथ्वीमा रहेको प्राकृतिक स्रोत साधनहरुको विनाश र दुरुपयोग बढ्दै गएको खण्डमा पृथ्वीको भारवहन क्षमता पनि घट्ने र वातावरणीय संरक्षण र प्रबद्र्धन, जैविक विविधताको संरक्षण, इको सिस्टमलाई जीवन्त राख्ने हो भने भारवहन क्षमता पनि वृद्धि हुने हुन्छ । तसर्थ, पृथ्वीको भारवहन क्षमता मानिसहरुले गर्ने उपभोगसँग सम्बन्धित हुन्छ ।
पृथ्वीको भारवहन क्षमता जैविक विधिताका विभिन्न प्रजातिहरुले प्राकृतिक अन्य वस्तुहरुलाई कुनै निश्चित भूखण्डमा कति उपभोग गर्छन् भन्ने सवालसँग पनि जोडिन्छ । तसर्थ, उपभोग्य वस्तु वा खानाको उपलब्धताले पृथ्वीको भारवहन क्षमता निर्धारण गरेको हुन्छ । पृथ्वीमा रहेका जीवनजनावरका प्रजातिहरुको संख्या र प्राकृतिक वातावरणले परिपूर्ति गर्ने उपभोग्य वस्तुहरुको सन्तुलनको अवस्था नै पृथ्वीको भारवहन क्षमता हो ।
विश्वमा हाल सात खर्बभन्दा बढी मानव जनसंख्या भइसकेको छ तर यो जनसंखया वृद्धिको असीमितता हुँदैन । किनभने अधिक जनसंखयाले पृथ्वीको क्षमताभन्दा बढीको आवश्यकता परिपूर्ति गर्न नसक्ने अवस्था आउँछ । किनभने पृथ्वीमा रहेका प्राकृतिक स्रोत साधन सीमित हुन्छन् तर यो जनसंख्यालाई अनुमान गर्न गाह्रो हुन्छ । त्यसैगरी मानिसहरुको जीवनशैली र व्यवहारलाई अनुमान गर्न गाह्रो हुन्छ ।
दिगो विकासले एकपक्षीय विकासको मात्र कुरा गर्दैन । यसले बहुआयामिक विकासको वकालत गर्ने भएकाले यसको महत्व पनि बहुआयामिक हुन्छ । दिगो विकासले मानिसहरुलाई स्रोत र साधनहरुको कम प्रयोग गर्न सिकाउँछ । जस्तै हानिकारक किटणु नाशक औषधीको प्रयोग, तेल, खानेपानी, रासायनिक मल, वनजन्य उत्पादनको सही र उचित ढङ्गले प्रयोग गरी वातावरण विनाशलाई रोक्न सकिन्छ । व्यक्ति वा समुदायलाइृ न्यूनतम स्रोत साधनको प्रयोगबाट अति कम लाभ लिने अभ्यास गर्न मद्दत गर्दछ । यसका साथै कम फोहरमैला उत्पादन र त्यसको सही व्यवस्थापन गरी प्रदूषणमुक्त समाज निर्माणमा मद्दत पु¥याउँछ ।
दिगो विकासले व्यक्ति वा समुदायको ज्ञान, सीप, धारणा र सोचमा परिवर्तन ल्याउन सक्दछ । मानिसहरुलाई स्रोत र साधनको प्रयोग, संरक्षण, र व्यवस्थापन गर्न सहयोग गर्दछ । यसले समाजमा प्राकृतिक वस्तुहरु साझा सम्पत्ति हो भन्ने भावनाको विकास गरी प्राकृतिक र सामाजिक वातावरण संरक्षणमा सहयोग पु¥याउँछ ।
दिगो विकासले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने भएकाले यसबाट मानव जीवन र प्रकृतिमा पर्ने नकारत्मक असरहरु जस्तै सुख्खा, खडेरी, आधिँहुरी, हिउँ पग्लने, बाढी पहिरो, खण्डवृष्टि भइ धनजनको क्षति हुने, उत्पादन घट्ने आदि प्राकृतिक विपत्तिहरुलाई पनि रोक्न मद्दत गर्दछ । दिगो विकासले जैविक विविधताको संरक्षण गर्ने र त्यसको प्रबद्र्धन गर्ने भएकाले पृथ्वीमा रहेका मानव जाति र अन्य सजिव तथा निर्जिव वस्तुहरु बीचको अन्तरसम्बन्ध, अन्तक्र्रिया, अन्तरनिर्भरतालाई बलियो बनाउन सहयोग गर्दछ ।
वातावरणीय दिगोपनाको अवधारणा प्राकृतिक वातावरणलाई दिगो रुपमा संरक्षण र प्रबद्र्धन गर्ने सवालसँग् सम्बन्धित छ । दिगो विकासको अवधारणाअनुसार प्राकृतिक वातावरणलाई बुद्धिमत्तापूर्वक प्रयोग गर्नु पर्छ । जब कि प्रकृतिद्वारा प्रदत्त स्रोत साधनहरु भविष्यको पुस्ताले पनि उनीहरुको आवश्यता पूरा गर्न सकून् । प्राकृतिक वातावरणलाई दीर्घकालसम्म उत्पादनमूलक बनाइराख्नु पर्दछ ।
जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभावहरु जस्तै सामुद्रिक सतह बढ्ने, हिम पहिरो जाने, सुख्खा लाग्ने, खण्डवृष्टि हुने, बेमौसमी पानी पर्ने, खडेरी लाग्ने, हिमपात हुने, समुद्रमा एसिडको मात्रा बढ्ने, जैविक विविधतामाथि नकारात्मक असर पर्ने र पृथ्वीको तापक्रम वृद्धि भइ बोटविरुवा र जनावरको प्रजनन्मा असर पारेको छ । अत्यधिक मात्रामा उत्सर्जन भएको कार्बन्डाइअक्साइड ग्यासले परिवर्तीत सूर्यको किरणलाई अवरुद्ध गरी पृथ्वीको तापक्रम वृद्धि भएको छ । कतिपय जीवजन्तु वा वनस्पति लोप भएर गइरहेका छन् । तसर्थ, दिगो वातावरणीय संरक्षण र प्रबद्र्धन आजको आवश्यकता हो ।