अबको नेतृत्व जनताको नेतृत्व

विजय जिएम
नेपाल सरकारले बैशाख ३० गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरिसकेको छ । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदै छ । स्थानीय तहको चुनाव नजिक आइसकेको छ । राजनीतिक दलहरु चुनावी तयारीमा व्यस्त छन् । राजनीतिक पण्डितहरु चुनावबारे टीकाटिप्पणी गर्नमै व्यस्त देखिन्छन् ।

स्थानीय तहको चुनावको माहोलले बजार तातेएको अवस्था छ । अहिलेको अवस्थामा स्वतन्त्र र निष्पक्ष भएर नेतृत्व चुन्न चुनौती छ । जनतामा आलोचनात्मक चेतनाको कमी छ । मानिसहरु कुनै न कुनै पार्टीमा आबद्ध छन् । कुनै स्वतन्त्र व्यतिm भेट्नै गाह्रो छ । बौद्धिक व्यतिmहरु पनि दलगत रुपमा विभाजित छन् । देशका कर्मचारी शिक्षकदेखि लिएर मिडियाकर्मी, मजदुर, उद्योगी र व्यवसायीहरु कुनै न कुनै दलको भ्रातृ संगठनमा आबद्ध छन् ।

राजनीतिक दलहरुले सबै मानिसहरुलाई दलगत रुपमा विभाजनको रेखा कोरिदिएका छन् । राजनीतिक दलहरुप्रति गरिने टीकाटिप्पणी र विश्लेषणहरु दलगत स्वार्थको आधारमा हुने गरेका छन् । कुनै मुद्दा र विषयको बारेमा बहस गर्दा दलगत रुपमा विभाजित भएर बहस गरिरहेका हुन्छन् । राजनीतिक विश्लेषकहरु दलगत रुपमा विभाजित छन् । राजनीतिक दलहरुबीच एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने अवस्थामा छन् । देशको यस्तो अवस्थामा नेतृत्व कस्तो हुनुपर्छ ? नेतृत्व कसरी छनोट गर्ने भन्ने कुरा अत्यन्त कठिन काम हो ।

चुनाव एक लोकतान्त्रिक प्रक्रिया हो । चुनावको माध्यमबाट जनताले आफ्नो नेता चुन्दछन् । जनताले आफ्नो र देशको लागि एउटा सक्षम नेतृत्व चयन गर्ने मौका हो । नेतृत्वको गुण र दोषको आधारमा नेतृत्वको निरन्तरता वा नयाँ नेतृत्व छान्ने अवसर हो । नेतृत्वलाई लोकतान्त्रिकीकरण गर्ने माध्यम हो । नेतृत्वले जनअपेक्षाअनुसार काम गरेको छ कि छैन भनेर नेतृत्वलाई परीक्षण गर्ने माध्यम हो ।

नेतृत्व सधैं जनतासँग नजिक हुनु पर्दछ । जनताका दैनिक समस्यासँग परिचित हुनु पर्दछ । जनताका समस्यालाई समाधान गर्ने हुनु पर्दछ । जनताका समस्यालाई समाधान गर्न अग्रसर हुनु पर्दछ । चुनावको समयमा मात्र जनताको घरदैलो आउने नेतृत्व होइन, सधैं जनताको घरदैलोमा आएर जनताका गुनासोहरु सुन्ने हुनु पर्दछ ।

जनतासँग अन्तरघुलित भएको हुनु पर्दछ । हिजोका दिनमा पार्टीमा गरेको कामको आधारमा ब्याज खान खोज्ने नेतृत्व होइन, आजको दिनमा पनि पार्टी र जनताको निम्ति काम गर्ने सक्रिय नेतृत्वको आवश्यक छ । परिवारले राजनीति गरेको आधारमा भाग खोज्ने नेतृत्व होइन, जनताको मन जित्ने नेतृत्वको आवश्यक छ ।

धेरैजसो राजनीतिक दलहरुभित्र सामन्ती र जमिन्दारी सोच भएका नेतृत्व पनि छन् । आपूmलाई मालिक र अरुलाई दास ठान्ने नेतृत्वको कमी छैन । पुरानो नेता र कार्यकर्ताको आधारमा होइन, नयाँ र पुराना कार्यकर्तासँग घुलमिल गर्न सक्ने नेतृत्व आवश्यक छ । पुरातन सोच र शैली भएको नेतृत्व होइन, आधुनिक सोच र शैली भएको नेतृत्वको आवश्यक छ ।

समय र परिस्थितिअनुसार चल्नसक्ने गतिशील नेतृत्वको आवश्यक छ । कार्यकर्ता र जनतालाई रैती ठान्ने नेतृत्व होइन, कार्यकर्ता र जनतालाई भगवान ठान्ने नेतृत्व चाहिएको छ ।जनतालाई विभिन्न प्रलोभन देखाएर चुनाव जित्ने धेरै नेता छन् । जनतालाई भ¥याङ बनाएर सत्तारोहण गर्ने नेताहरुको जीवनस्तरमा रातारात परिवर्तन भएको धेरै उदाहरणहरु छन् तर जनताको जीवन स्तरमा परिवर्तन छैन ।

जनता सधैँ गरिबी र अभावमा बाँच्न बाध्य छन् । चुनावको समयमा मात्र गाउँघरमा देखिने टुरिष्ट नेताहरु पनि छन् । गाउँघरबाट जनताले चुनाव जिताएर पठाउने तर नेताहरु गाउँघर नै बिर्सने परम्परा छ । जनताले टुरिष्ट नेतृत्वलाई चिन्न आवश्यक छ । हामी संघीयताको अभ्यासमा छौँ । केन्द्रिकृत राज्य व्यवस्थाबाट विकेन्द्रिकृत राज्य व्यवस्थामा छौँ । देशमा व्यवस्था परिवर्तन भएको छ तर राज्य सञ्चालन गर्ने नेतृत्व र राजनीतिक दलहरुको मानसिकता परिवर्तन भएको छैन ।

संघीयताको मर्मअनुसार राज्यका निकाय सञ्चालन हुन सकिरहेको छैन । नेतृत्वको असक्षमताले अहिले संघीयतालाई बदनाम गर्ने काम गरिरहेका छन् । संघीयता कार्यान्वयन गर्ने तीन तहका सरकारहरुमध्ये शतिmशाली तह स्थानीय सरकार पनि हो । जनताबाट निर्वाचित नेतृत्वले संघीयतको मर्म नै बुझेको देखिँदैन । नेतृत्वमा राज्य सञ्चालनसम्बन्धी अध्ययनको कमी छ । तसर्थ, नेतृत्वले संविधान बुझेको हुनु पर्दछ । अन्यथा संघीयता बाँदरको हातमा नरिवल साबित हुने छ ।
स्थानीय, प्रदेश र केन्द्रको अधिकार संविधानमा उल्लेख गरिएको छ । स्थानीय सरकार सञ्चालन गर्न संविधानमा उल्लेखित स्थानीय तहको अधिकार बुझेको नेतृत्व हुनु पर्दछ । स्थानीय तहको अधिकार कार्यान्वयन गर्नसक्ने नेतृत्व जनताको रोजाइ हुनु पर्दछ । संविधानमा उल्लेखित स्थानीय तहको अधिकार बारेमा कतिपय नेतृत्व अनभिज्ञ छन् । नेतृत्वको शैक्षिक योग्यता हुनै पर्दछ । जनताका समस्या बुझ्न र समस्याहरुको समाधान गर्न नेतृत्व शिक्षित हुनै पर्दछ ।

जनताका अपेक्षाहरु धेरै छन् । जनअपेक्षाअनुसार काम गर्न नेतृत्वमा शैक्षिक योग्यतो हुनै पर्दछ । जनतासँग घुलमिल गर्नसक्ने खुबी भएको हुनु पर्दछ । जनताको घरदैलोमा गएर जनताका समस्या सुन्ने हुनु पर्दछ । जनताका समस्याहरु समाधान गर्न तत्पर र अग्रसर हुनु पर्दछ । दैनिक रुपमा जनताको सेवामा समर्पित व्यतिm नै जनताको रोजाइ हुनु पर्दछ । राजनीतिक र प्रशासनिक पहँुच भएको व्यतिm हुनु पर्दछ । सामाजिक कामहरुमा क्रियाशील व्यतिm हुनु पर्दछ । पार्टीभित्र र बाहिर समन्वय गर्न सक्ने क्षमता भएको हुनु पर्दछ ।

पार्टीभित्र र बाहिर आफ्नो कुरा राख्नसक्ने हुनु पर्दछ । नेतृत्व तुलनात्मक रुपमा स्वच्छ छवि भएको हुनु पर्दछ । आलोचनात्मक चेतना भएको हुनु पर्दछ । राजनीतिको सामान्य ज्ञान भएको हुनु पर्दछ । व्यापारिक मानसिकताबाट मुक्त भएको हुनु पर्दछ । राजनीतिक दलमा आबद्ध नेतृत्वको गलत क्रियाकलापले गर्दा नेपालको राजनीति अत्यन्त दूषित भएको छ । राजनीतिक दलहरुप्रति जनतामा वितृष्णा पैदा भएको छ । देशका कर्णाधार युवाहरु राजनीतिप्रति चासो छैन । देशको अस्थिर राजनीतिक अवस्थाले गर्दा युवाहरु विदेश पलायन हुन बाध्य छन् ।

युवाहरुलाई आशा, भरोसा र उत्प्रेरणा दिन सक्ने एक्सन ओरिएन्टेड नेतृत्वको खाँचो छ । जनतालाई कम बोल्ने र काम गर्ने नेतृत्वको आवश्यक छ । जनतालाई परेको सुख–दुःखमा साथ दिने नेतृत्वको आवश्यक छ । राजनीतिमा अवसरवादीहरुको बिगबिगी छ । पार्टीप्रति प्रतिबद्ध कार्यकर्ताहरु निष्क्रिय र पलायन हुनेक्रम छ । इमान र जमानको राजनीतिक गर्ने नेता तथा कार्यकर्ताहरुको पार्टीमा ठाउँ साँघुरिँदै गएको छ । हरेक राजनीतिक दलहरुमा दलाल, तस्कर र व्यापारीहरुको दब्दबा छ ।

चुनाव धेरै महँगो भएको छ । एउटा सामान्य नेता चुनाव लड्न सक्ने अवस्था नै छैन । राजनीतिक खोल ओढेर दलाली र तस्कर गर्ने नव धनाढ्यहरु मात्र चुनाव लड्न सक्ने र जित्न सक्ने अवस्था छ । अहिले राजनीतिमा जबर्जस्त तरिकाले राजनीतिको सामान्य ज्ञान नभएका व्यतिmहरु पैसा र पहँुचको भरमा नेतृत्वको दाबी गरिरहेको देखिन्छ । राजनीतिक विचार र सिद्धान्तभन्दा पनि पैसाको भरमा चुनाव जित्न सकिन्छ भन्ने भ्रममा छन् । छेपारोझैँ रँग फेरिरहने अवसरवादी चरित्र र प्रवृत्ति देखाउने नेतृत्व विरुद्ध जनताको मत हुनेछ ।

राजनीति विशुद्ध समाजसेवा हो । राजनीति त्याग हो तर राजनीतिक नेतृत्वले राजनीतिलाई अकुत सम्पत्ति कमाउने वैधानिक बाटो बनाएका छन् । राजनीतिक नेतृत्व गर्ने व्यक्तिहरु नै व्यापारीमा परिणत भएका छन् । बैंक, होटेल, हाइड्रोपावर, ट्राभल एजेन्सी, घरजग्गा, मेनपावर, क्रसर उद्योगमा लगानी गर्ने व्यापारी बनेका छन् । एउटा व्यापारिक मानसिकताबाट ग्रसित नेतृत्वले कसरी देशको राजनीतिलाई सही दिशानिर्देश गर्न सक्छ ? सोच्न जरुरी छ । राजनीतिलाई कमाइ खाने भाँडो बनाउने भिखारी नेतृत्वबाट सचेत हुनु जरुरी छ ।

यो पाँच वर्षको अवधिमा स्थानीय तहमा नेतृत्वले गरेका कामको आधारमा नै नेतृत्वको निरन्तरता वा नयाँ नेतृत्व जनताले चुन्ने हुन् । नेतृत्वको आर्थिक, राजनीतिक र सामाजिक पृष्ठभूमिको बारेमा जानकार हुनु आवश्यक छ । नेतृत्वको जीवनशैली, व्यवहार र आचरणको बारेमा जनताले सुक्ष्म निगरानी राख्नु पर्दछ । तसर्थ, पारदर्शी नेतृत्व आजको आवश्यकता हो ।

नेतृत्वले सबै जनतालाई समान तरिकाले व्यवहार गर्नु पर्छ । राजनीतिक आस्था र विचारको आधारमा फरक व्यवहार गर्नु हुँदैन । नेतृत्व असल, इमानदार र दूरदर्शी हुनु पर्दछ । नेतृत्व धैर्यवान र त्यागी हुनै पर्दछ । जनताको मन जित्न सक्ने मिजासिलो, व्यावहारिक र मिलनसार हुनु पर्दछ । सबैसँग मिल्न र मिलाएर लैजान सक्ने क्षमता भएको हुनु पर्दछ । नेतृत्वले अरुको अस्तित्वलाई स्वीकार गर्न सक्नु पर्दछ । अरुको अस्तित्वलाई स्वीकार गर्न नसक्ने मानिसले कसरी अरुलाई नेतृत्व गर्न सक्छ ? अरुको अस्तित्वलाई स्वीकार गर्न नसक्ने नेतृत्व हुनै सक्दैन ।

अहिलेको चुनाव धेरै महँगो छ । एउटा सामान्य नेता र कार्यकर्ता चुनाव लड्न सक्ने अवस्था छैन । चुनाव धेरै खर्चिलो भइसकेको छ । पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध नेता कार्यकर्ता चुनाव लड्न नसकेर पलायन हुनुपर्ने अवस्था छ । नेताले चुनावमा पैसाको खोला बगाउँछन् । पैसामा बिकेर जनताले भोट हाल्छन् । नेताले चुनाव जित्छ । नेताले चुनावमा खर्च गरेको पैसा उठाउन भ्रष्टाचार गर्छ । नेता मात्र गलत छैनन, पैसामा बिक्ने कार्यकर्ता र जनता पनि गलत छन् । रक्सी, मासु र भातमा बिक्ने जनताको पनि दोष छ । तसर्थ, पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध इमानदार नेतृत्वलाई मत दिन आवश्यक छ ।

राजनीतिक वृत्तमा युवा नेतृत्वको कुरा बारम्बार उठिरहेको हुन्छ तर युवाहरु राजनीतिक दलका भ¥याङ मात्र बनेको देखिन्छ । युवाहरु नेतृत्व लिन आँट गरेको देखिँदैनन् । देशमा व्याप्त बेरोजगार समस्याले गर्दा युवाहरु रोजगारको निम्ति विदेशिन बाध्य छन् । देशभित्रका केही सीमित युवाहरु राजनीतिको आडमा अनैतिक कार्य गरिरहेको देखिन्छ । नदी, खोलानाला र वनजङ्गलमा गिट्टी, बालुवा, ढुङ्गा र काठ तस्कर गर्न विवश छन् ।

राजनीतिको खोल ओडेर आपराधिक र अनैतिक काम गरिरहेका युवाहरुको हातमा नेतृत्व गयो भने देशको स्थिति के होला ? युवाहरु अवैध तरिकाले कमाएको धनसम्पत्तिको आडमा नेतृत्व तहमा पुग्यो भने राजनीतिको अवस्था के होला ? युवा नेतृत्व आजको आवश्यकता भन्दै गर्दा यो कुरा ख्याल राख्नु जरुरी छ । राजनीतिमा इमानदार, नैतिकवान, सिर्जनशील, असल र शिक्षित युवा नेतृत्वको आवश्यक छ । युवाहरु ‘बा’ र ‘दाइ’ भन्ने दास मानसिकता र प्रवृतिबाट मुक्त हुनु जरुरी छ ।