मेरो सपना देश र जनताको सेवा गर्ने नै थियो, चाहे त्यो राष्ट्र सेवक कर्मचारी भएर होस् वा अन्य कुनै संघसंस्था र पार्टीमा लागेर । मेरो बुबाको पनि चाहना त्यही थियो । तुलसीपुर–९ दोघरे निवासी घनश्याम भण्डारीले विगत र वर्तमानलाई सम्झँदै भने । उनका खुसीका क्षणहरू जीवनमा धेरै छन् तर उनले आफ्नो पहिलो खुसी नेविसंघ दाङको जिल्ला निर्वाचनमा पहिलो पटक पहिलो हुँदा लागेको सुनाए ।
‘म पहिले पनि सानैदेखि राजनीतिमा चासो दिन्थेँ, वि.सं २०७१ बैशाख १४ गते नेपाल विद्यार्थी संघ दाङको चुनाव भयो । म पनि चुनावमा जिल्ला सदस्यको उम्मेद्वार बनेको थिएँ । जिल्ला सदस्यमा हामी २० जनाले उम्मेद्वारी दिएका थियौँ । त्यसमा ६ जनाको कोटा थियो । त्यसमा म पहिलो पटक चुनाव लडेर पहिलो नम्बरमा अत्यधिक मत पाएको र विजय भएको दिन मेरो जीवनको पहिलो खुुसी हो’, भण्डारीले भने ।
त्यो दिन मैले आफ्नो राजनीतिको पहिलो पाइलाका रूपमा लिएको छु । निर्वाचनमा मलाई मत दिनेहरूले मलाई लोकतन्त्र सिकाएको अनुभूति भयो । त्यसो त राजनीतिमा हार पनि व्यहोर्नु पर्छ भन्ने मलाइ राम्रोसँग थाहा छ तर सफलता र साथ पाउँदाको खुसी पनि अविस्मरणीय हुँदोरहेछ । मैले साथीहरूलाई चक्लेट उपहार दिएको थिएँ, चुनावमा धेरै मत ल्याएको दिन । यद्यपि, त्यो ठूलो पद थिएन तर सफलताको पहिलो खुड्किलो थियो ।
उनले त्यो दिन चुनाव जित्दा निकै खुसी भएको र त्यो खुसी साथीभाइ आफन्त तथा परिवारबीच साटेको सम्झिए । ‘मेरो खुसी नेपाल विद्यार्थी संघको जिल्ला सदस्यमा पहिलो पटक पहिलो नम्बरमा चुनाव जित्दाको हो, यही लेखिदिनु होला ।’ विसं २०५८ सालमा प्रावि दोघरेमा कक्षा ५ मा पढ्दै गर्दा नेविसंघको सदस्यता लिएका भण्डारीले अर्को खुसी राप्ती बबई क्याम्पस नेविसंघको इकाई सभापति हुँदाको भएको सुनाए । उनले आफू सभापति भएपछि क्याम्पसको विकास विस्तारमा विद्यार्थी प्रतिनिधिको रूपमा रहेर धेरै काम गरेको सम्झिए ।
‘क्याम्पसलाई आंगिक गराउनेदेखि लिएर लाइब्रेरी, ड्रेसलगायतका महत्वपूर्ण विषयमा हाम्रो पनि पहल कदमी रह्यो, केही सफल भए केही हुन सकेनन् । त्यसमा पनि मलाई निकै खुसी लाग्छ’, भण्डारीले भने । त्यस्तै आफ्नो चाहना लाहुरे तथा फौजी हुने भए पनि उनले स्वर्गीय खुमबहादुर खड्काको प्रेरणाले आफू राजनीतिमा लागेको सुनााए ।
‘एक पटक मानपुरमा खुमबहादुरज्यूसँग भेट गर्ने वातावरण मिल्यो, उहाँको त्यो प्रेणदायी कुराले मेरो राजनीतिमा आकर्षण झन बढ्यो’, उनले भने । भण्डारीले विसं २०६३ सालमा इन्डियन आर्मीका लागि गोरखपुरसम्म पुगेको र विसं २०७० मा प्रहरी निरीक्षकका लागि परीक्षा दिए पनि अन्तिममा आफू सफल हुन नसेको भन्दै राजनीतिमा सफल भएकोमा पनि खुसी लाग्ने गरेको बताए ।
‘जसरी पनि जनतालाई सेवा गर्ने हो, म राजनीतिमा लागेर पनि सेवा गर्न सक्छु भनेर होमिएको छु’, उनले भने । उनले जनआन्दोलनदेखि विभिन्न परिवर्तन, मूल्य वृद्धिदेखि हरेक विद्यार्थी आन्दोनमा आफूले नेतृत्व गर्न पाएकोमा खुसी व्यक्त गरे । मलाई पुलिसको जागिरभन्दा समाजसेवा लेखेको रहेछ, त्यसैले प्रहरीको परीक्षामा उत्तीर्ण भएन सायद’, उनले सम्झिए । विसं २०६१ सालमा फातिमा बोर्डिङ स्कूलबाट एलएलसी पास गरेका भण्डारीले शिक्षा संकायबाट डिग्री गर्दा पनि आफू खुसी भएको बताए । उनले समाज शास्त्रबाट दोस्रो डिग्री सक्न लागेको भन्दै राजनीति र पढाइलाई सँगसँगै लग्न पाउँदा पनि खुसी लागेको सुनाए ।
विद्यार्थी राजनीतिमा उमेर हदका कारण आफूले छोडेको र पार्टीको राजनीतिमा लाग्दा अर्को सफलता हासिल गर्न पाउँदा पनि खुसी भएको भणडरी सुनाउँछन् । उनले विसं २०७८ मंसिरमा भएको कांग्रेसको १४औँ महाधिवेशनमा जिल्ला सदस्य पदमा लड्न पाउँदा र पार्टीले टिकट दिँदा खुसी लागेको सुनाए ।
‘मैले क्षेत्रीय प्रतिनिधि हुँदै जिल्ला सदस्यमा पनि जित्न सफल भएँ, म त्यसमा पनि खुसी छु’, भण्डारी भन्छन् । सबै अग्रज नेता–कार्यकर्ताले विश्वास गरेर जिल्ला सदस्यमा जिताउँदा पनि खुसी लागेको सुनाए । त्यस्तै रेडक्रस सोसाइटी तुलसीपुर उपशाखाका आजीवन सदस्य समेत रहेका भण्डारीले विभिन्न सामाजिक संस्थाहरूमा काम गर्न पाउँदा खुसी लाग्ने गरेको सुनाए ।
उनले एक जना साथीको आमा र बच्चालाई रक्तदान गरेर जीवन बचाएकोमा पनि खुसी व्यक्त गरे । ‘मलाई ठ्याक्कै तिथिमिति अलि याद भएन तर मैले एकपटक साथीको आमा र एकजना बच्चालाई रगतको आवश्यक परेका बेला रक्तदान गरेर उहाँहरूको जीवन बचाएको छु, त्यो पनि मेरो खुसी हो’, भण्डारीले भने ।
त्यस्तै उनले पढेलेखेका धेरै युवाहरू विदेश जाने, पैसा कमाउने सपना बोकेर विदेशिने गरे पनि आफूलाई त्यो चाहना कहिल्यै नभएको सुनाए । ‘मैले स्वदेशमै केही न केही सेवा गर्नुपर्छ भनेर म राजनीतिमा लागेको हुँ, यसमा मेरो घरपरिवार सबै साथीभाइको सहयोग छ, मयसमा पनि खुसी छु’, उनले भने ।
भण्डारीले आफू वडा नं ९ को वडाध्यक्षको आकांक्षी रहेको र वडाले आफ्नो नाम सिफारिस गरेर पठाएकोमा पनि खुसी व्यक्त गरे । ‘म वडाध्यक्ष हुँला नहुँला तर साथीभाइले मेरो नाम सिफारिस गर्नुभएको छ, त्यो पनि त खुसीकै कुरा हो नि !’ त्यस्तै उनले अहिले पार्टीले आफूलाई जिम्मेवारी दिएर ‘गाउँ–गाउँ जाऔँ कांग्रेस जिताऔँ’ भन्ने अभियानमा पठाएको भन्दै गाउँ–गाउँ पुगेर जिम्मेवारी पूरा गर्न पाउँदा पनि खुसी लागेको सुनाए ।
एम्नेष्टी इन्टरनेशनलको सदस्य समेत रहेका भण्डारीले मानवअधिकारको क्षेत्रमा लागेर मानवअधिकारका क्षेत्रमा काम गर्न पाउँदा खुसी मिलेको सुनाए । भण्डारीले बाल्यकालमा बुबाले साइकल किनेर घरमा ल्याइदिँदा निकै खुसी भएको बताए । ‘म कक्षा ४ मा पढ्दा बुबाले मलाई थाहै नदिएर एट्लस साइकल किनेर ल्याइदिनुभएको रहेछ, त्यो साइकल दिँदा मलाई धेरै खुसी लागेको थियो’, भण्डारीले भने ।
उनले त्यो साइलक साथीभाइलाई देखाएर खुसी साटेको बताए । ‘म त्यो साइकल चढेर स्कूल जाँदा संसार जितेजस्तो लाग्थ्यो, त्यो बेला साइकलको महत्व धेरै थियो’, भण्डारीले विगत सम्झँदै भने । मिजासिला लगनशील तथा सामाजिक तथा राजनीतिमा सक्रिय युवा नेता भण्डारीले सानै उमेरमा आफुले विभिन्न जिम्मेवारी पाउँदा र त्यसलाई पूरा गर्न पाउँदा जिवनमा खुसी लाग्ने गरेको सुनाए ।
प्रस्तुती : बालाराम खड्का