राजनीतिले देखाएको बाटो, खाउ एकैसाटो

मधुसूदन सुवेदी

राजनीतिले नीति सिकाएन उल्टै र विलासिताको जीवन जिनउे संस्कार सिकायो । राजनीतिले आजसम्मको देखाएको र सिकाएको बाटो भनेको नै नीति भ्रष्ट नेता बन्न भन्न र गन्न सिकायो । राजनीतिको सही शाब्दिक अर्थ खोज्यो भने सायद यो पनि ग्रहण, मूल्यवान् र महत्व केही छैन होला । तर यसको व्यावहारिक प्रयोग यसरी भयो कि जसको कारण एउटा घृणाको खेती भइसक्यो । राजनीतिले असल नेता जन्माउनु पर्ने थियो ।

राजनीतिले असल नीति, अंगीकार गर्नुपर्ने थियो । राजनीतिले असल चरित्र धारण गर्नुपर्ने थियो । राजनीतिले सुशासनको प्रत्याभूति दिलाउनु पर्ने थियो । राजनीतिले असल विचार र असल भावना बोक्नु पर्ने थियो । राजनीतिले हिमाल र पहाडलाई चिन्नु पथ्र्यो । राजनीतिले भोको पेट र नाङ्गो शरीर देख्न सक्नुपथ्र्यो । राजनीतिले भत्केको घर, सडक, गल्लीलगायत संरचनाको निर्माण गर्नु पर्ने थियो । राजनीतिले दया, माया, करुणा, सद्भाव फैलाउन सक्नु पथ्र्यो । राजनीतिले देश र जनतालाई पढ्न र पढाउन सक्नु पथ्र्यो ।

राजनीतिले निभेको चुलो बाल्नु पथ्र्यो । राजनीतिले महललाईभन्दा झुपडीलाई बढ्दा माया गर्नु पथ्र्यो । राजनीतिले रोगीको औषधी र घाइतेको मल्हमपट्टी भएर देखा पर्न सक्नु पथ्र्यो । राजनीतिले अन्यायमा परेकालाई तुरुन्त न्याय दिन सक्नु पथ्र्यो । राजनीतिले अशिक्षितलाई शिक्षाको ऐना दिनु पथ्र्यो । राजनीतिले बेरोजगारलाई रोजगार दिन सक्नु पथ्र्यो । राजनीतिले गरिबी र अभावलाई सम्बोधन गर्न सक्नु पथ्र्यो । राजनीतिले आफ्नो आकाश र धर्ती सधैँ सफा राख्न सक्नु पथ्र्यो । राजनीतिले महँगी र भ्रष्टाचारलाई सधैँ नियन्त्रणमा राख्न सक्नु पथ्र्यो ।

राजनिितले गरी खानेलाई प्रोत्साहन र खाएर गर्नेलाई दुरुत्साहन गर्न सक्नुपथ्र्यो । राजनिितले समाजको विकृति विसंगतिलाई चिर्न सक्नु पथ्र्यो । राजनीतिले हुँदा खानेलाई सधैँ काखा र हुनेखानेलाई पाखा लगाउन सक्नु पथ्र्यो । राजनीतिले सबैको स्वामित्व ग्रहण गर्न सक्नु पथ्र्यो । राजनीतिले देशको स्वाभिमान र आत्मसम्मानलाई बाधा पार्ने कुनै कर्म र धर्म निर्वाह नगरेको हुनु पथ्र्यो । राजनिितले खराब आचरण भएकालाई यथाशीघ्र पाखा लागाउन सक्नु पथ्र्यो । राजनीतिमा कुरा थोरै र काम धेरै हुनु पथ्र्यो ।

राजनीतिमा नेता थोरै र नीति धेरै हुनु पथ्र्यो । राजनीतिमा छोटा, मोटा, होचा, अग्ला, दुब्ला, पातला देख्ने चश्मा नलगाएको हुनुपथ्र्यो । राजनीतिमा एउटै दण्ड र एउटै नीति हुनु पथ्र्यो । राजनीतिमा भेदभावपूर्ण व्यवहारको अन्त्य हुनु पथ्र्यो र राजनीति एउटा दर्शन, शास्त्र, ज्ञान, सन्तोष, शान्ति, समृद्धिको भण्डार हुनु पथ्र्यो । यो सबै कुरालाई थाँती राखेर नेपालको राजनीति कस्तो भइदियो भने काम्लोमा सातु मुछे जस्तो । अर्थात् यसलाई के भन्ने ? राजनीतिक संक्रमण भन्ने कि राजनीतिको अभ्यास भन्ने ?

राजनीतिको अदूरदर्शिता भन्ने कि राजनीतिको अपरिपक्वता भन्ने ? जे भने पनि नेपालको राजनीति देश सुहाउँदो, माटो सुहाउँदो, जनता सुहाउँदो र अवस्था सुहाउँदो हुन सकेन । खाने र पेट भर्ने र पेट भराउने काम त स–साना जीव, भुसुना र कमिलाले पनि त गरेकै हुन्छ । त्यसैले सीमित व्यक्ति सुकिलो र मुकिलो हुँदैमा देश सप्रियो भन्नु र देशका निकास भयो भन्नुलाई देशको गाँड तन्नेरी बन्नु सरह नै हो । देश बन्ने र बनाउने अभियान नै चलेकै छैन । कसरी देश बन्छ ? खाली नेताका हात, खुट्टा हेरेर देश बन्यो भन्ने ?

देशमा कसले खाने र कसले खुवाउने हो ? मान्छेले पहिला खाने कि अरुलाई खुवाउएर पछि खाने ? देशको डाडु, पन्यौ हातमा आयो भन्दैमा त्यसको दुरुपयोग गर्ने छुट कसैलाई छ र ? देशको राज्यको वा सत्ताको जे को डाडु–पन्यौ चलाए पनि त्यो देश र जनताका लागि चलाउने कि स्वयम् आफ्नाका लागि र आफ्नाका लागि चलाउने ? राजनीतिले कुन बाटो देखायो र के शिक्षा सिकायो ? हामी सकारात्मक भावले भन्न सक्छौँ ? देश र जनता राजनीतिको पछि लाग्ने कि राजनीति देश र जनताका पछि लाग्ने ? सबैले सोच्ने, जान्ने र बुझ्ने कुरा के हो भने राजनीतिले देश र जनता सपार्ने हो तर बिगर्ने कदापि होइन ।

अहिले के सप्रियो ? जवाफ केही कसैसँग छ ? यदि छ भने यो भद्दा, अनौठो अपाच्य र जनता ढाँट्ने फटाहा जवाफ मात्र छ । सधैँ यही जवाफले देश र जनता चुप लाग्लान् ? स्वयम् राजनीति गर्नेलाई नै थाहा छैन कि म कुन बाटो जाँदै छु ? यस्तो अन्योलपूर्ण गन्तव्यले कहाँ उतार्छ ? खाने केका लागि ? खुवाउने कसका लागि ? यीत्त पनि थाहा नपाएर खाने र खुवाउने कुरा गर्न मिल्छ ? यदि समयमा राजनीतिले राजनीतिकै समीक्षा गर्ने हो भने यसले देखाएको बाटो, गोरेटोतर्फ फर्केर हेर्नुपर्छ र त्यहाँ देखिएका खाल्डाखुल्डी, उकाली–ओराली, भिरालो, सम्म, हिलाम्मे, धुलाम्मे, साँघुरो–फराकिलो, घुम्टी, मोड, दोबाटो, चौबाटो, मिलन, विछोड, जोड्ने, मोड्ने, फैलाउने, खुम्च्याउनेलगायतका आदि शब्दलाई सुरुबाटै मिलाएर जानु पर्छ ।

अन्यथा यो आजकै बाटोमा यात्रा गरियो र गन्तव्य सुरु गरियो भने दुर्घटना हुने कुरामा कुनै शंका नै छैन । यो बाटोलार्य बाटो होइन राजमार्ग बनाउने अभियानमा लाग्नु पर्छ । सबैमा राजनीतिक नैतिकता पलाउने हो र सबैमा राजनीतिक चेतना जाग्ने हो भने अबको बाटो निकै नै फराकिलो, पारदर्शी हुनु जरुरी छ । अन्यथा तैले खा, मैले खान्छु, फेरि तैले खा, फेरि मैले खान्छु भन्ने देश सुक्ने, सुकाउने, डुब्ने डुबाउने मात्र हो, विकास हुँदैन ।