राष्ट्रियहित विपरित गठबन्धन : महासचिव पोख्रेल

दाङ,२२ चैत । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रियहित विपरित पाँच दलिय गठबन्धन भएको बताएका छन् । प्रेस चौतारी दाङ शाखाले मंगलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोख्रेलले जनतामा लोकप्रिय जनप्रतिनिधिहरुलाई रोक्नका लागि कांग्रेस, माओवादी,नेकपा (एकीकृत समाजवादी) लगायतको पाँच दलिय गठबन्धन बनेको बताए ।

उनले विना लक्ष्य र उद्देश्यको गठबन्धनले देश र जनतालाई क्षेती पुग्ने बताए । ‘पाँच दलिय गठबन्धन जनतामा लोकप्रिय जनप्रतिनिधिहरुलाई बैशाख ३० गतेको निर्वाचनमा रोक्नका लागि बनेको छ’,उनले भने,‘ यसले देश र जनताको हित हुन सक्दैन ।’ उनले टाउको जोडिदैमा जनता नअलमिने भन्दै आगामी निर्वाचनमा एमालेले जित्ने बताए । त्यसैगरी नेता पोख्रेलले आफ्नो पार्टी कसैसँग गठबन्धन नगरेर जनतामा जान सक्षम रहेको तर्क गरे ।

‘निर्वाचन जित्नका लागि एमाले सक्षम छ । कसैसँग चुनावी तालमेल गर्न प्रदैन’,उनले भने,‘चुनावमा हार्ने डर भएकाले तालमेन गर्ने हो ।’ महासचिव पोख्रेलले प्रचण्ड र माधव नेपालरहित वामएकताको पक्षमा एमाले रहेको बताए । उनले माओवादी र नेकपा एकीकृत समाजवादीका अन्य नेताहरुसँग एकता सम्भव रहेपनि प्रचण्ड र नेपालसँग अव एमालेले कहिल्यै एकता नगर्ने बताए । ‘प्रचण्ड र माधवरहित वामएकताको पक्षमा एमाले छ । कम्युनिस्टको सरकार ढालेर बुर्जुवाको सरकार निर्माण गर्नेहरू कम्युनिस्ट हुन सक्दैनन्’,उनले भने,‘उनीहरु अवसरवादी हुन । कम्युनिष्ट होइनन् ।’

देशमा राजनीतिक अस्थिरता धेरै राजनितीक दलका कारण भएको उनको भनाई छ । जनताको राज्य निर्माण गरि सकेपछि अब मुलुकलाई विकास तर्फ लैजाने, जनता र स्वाधिनता र स्वाभिमानका साथ सहि दिशामा लैजान लागि परेको बताए । प्रेस चौतारी दाङका अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष गोकर्ण पौडेलले स्वागत गरेका थिए । पत्रकार सम्मेलनको सहजीकरण सचिव किरण गौतमले गरेका थिए ।