७३ हजार ८ बालबालिकाई टाइफाइड विरुद्धको खोप

दाङ, १६ चैत । घोराही उपमहानगरपालिकामा ७३ हजार ८ सय २ जना बालबालिकाहरुलाई टाइफाइडविरुद्ध खोप प्रदान गरिने भएको छ । घोराही उप महानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाले बुधवार सञ्चारकर्मीहरुसँग गरेको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिएको हो ।

चैत २५ देखि बैशाख ९ गतेसम्म टाइफाइडविरुद्ध खोप प्रदान गर्ने थालिएको हो । १५ महिनादेखि १५ वर्ष सम्मका बालबालिकाहरुलाई टाइफाइडविरुद्ध खोप प्रदान गर्ने थालिएको स्वास्थ्य शाखाका ठाकुर खनालले बताए । बालबालिकाहरुलाई पहिलोपटक यस प्रकारको खोप प्रदान गर्ने थालिएको उनले बताए । पालिकाभित्रका विद्यालयहरुमा खोप केन्द्र बनाएर खोप प्रदान गरिने भएको छ ।

खोप लगाउनका लागि १ सय ७ जना स्वास्थ्यकर्मीहरु परिचालन गरिने खनालले बताए । विद्यालयसँगै स्वास्थ्य संस्थाहरुमा पनि खोप प्रदान गरिने छ । कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले नागरिकलाइ सुरक्षित राख्न खोप प्रदान गर्ने थालेको भन्दै ढुक्क भएर खोप लगाउन आग्रह गरे । खोप सुरक्षित भएकाले सबै बालबालिकाहरुलाई खोप लगाउन अभिभावकहरुलाई समेत उनले आग्रह गरे ।