तुलसीपुर ४ मा कांग्रेसको अभियान

तुलसीपुर, १६ चैत । नेपाली कांग्रेस दाङका निर्वतमान सभापति कीर्तिबहादुर खड्काले स्थानीय निर्वाचनमा जनमत हेरेर पार्टीले टिकट दिने बताएका छन् । नेपाली कांग्रेस तुलसीपुर–४ इकाई समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनतामाझ लोकप्रियता भएको र जित्ने व्यक्तिलाई टिकट दिने बताए ।

नेपाली कांग्रेस वडा इकाई समितिका सभापति नन्दलाल पुनको सभापतित्व एवं महाधिवेशन प्रतिनिधि तथा निर्वतमान सभापति खड्काको प्रमुख आतिथ्यमा गाउँ–गाउँ जाऔं : कांग्रेस जिताऔँ अभियानअन्तर्र्गत भएको कार्यक्रममा खड्काले जसले टिकट पाए पनि कांग्रेसले पाउने भन्दै सबै एकढिक्का भएर कांग्रेस जिताउने अभियानमा लाग्न आग्रह गरे ।

‘हिजो केही गल्ती कमी–कमजोरी भए होलान्, गएको चुनावमा अब त्यो गल्ती पार्टीले पनि गर्दैन र सदस्यहरुले पनि गर्नुहुन, खड्काले भने । खड्काले अहिले स्थानीय चुनावमा अरू दलहरूसँग तालमेल गरेर जाने निर्णय केन्द्रले गरेको भन्दै स्थानीय आवश्यकताअनुसार सुजबुझका साथ सबैतिर निर्णय हुने बताए ।

‘स्थानीय चुनावका लागि स्थानीय परिस्थिति र आवश्यकताअनुसार गठबन्धनमा रहेका दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय केन्द्रीय समितिबाट सर्वसम्मतरूपमा भयो,’ यसका लागि केन्द्रदेखि तल्ला तहसम्म संयन्त्र बन्छ अनि के गर्ने भन्ने टुङ्गो लाग्छ’, खड्काले भने । कार्यक्रममा नेपाली कांग्रेसका नेता जोगेन्द्र विश्वकर्माले गाउँ–गाउँ, टोल–टोलमा पुगेर कांग्रेसका नीति कांग्रेसले गरेका कामहरुलाई जनतालाई वुझाउनुपर्ने बताए ।

‘अब प्रत्येक क्रियाशील सदस्यहरुले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, निर्वाचनमा कांग्रेसलाई जिताउन सबै एक भएर लाग्ने बेला आएको छ’, उनले भने । त्यस्तै कार्यक्रममा महाधिवेशन प्रतिनिधि कविता शर्माले सधैभरि अरुसँग मिल्नुभन्दा पनि संगठनलाई बाबजुद गराएर कांग्रेस अगाडि बढ्नुपर्ने बताइन् । कांग्रेसका नेता सुरेन्द्रबहादुर खड्काले कांग्रेसलाई जिताउन सबैले आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताए ।

त्यस्तै प्रदेश क का उपसभापति पुष्पराज गिरी, सहसचिव रञ्जनकुमार गौतमले कांग्रेसले जित्ने आधारहरु खडा गर्नुपर्ने भन्दै जित्ने सुनिश्चित गराउन सबैको भूमिका हुनुपर्ने बताए । उनीहरुले तथ्यका आधारमा मात्र चुनावी तालमेल हुनुपर्ने बताए । कार्यक्रममा कांगे्रसका नेता शिवराज सिंह ठकुरीले कांग्रेसले कांग्रेसलाई भोट नहाल्दा समस्या भएको भन्दै सबै प्रष्ट हुनुपर्ने बताए ।

त्यस्तै क्षेत्रीय प्रतिनिधि ध्रुव गौतम, लिलाबहादुर खड्का, प्रनव खड्काले अहिले कांग्रेसको पक्षमा जनलहर आएको भन्दै सकेसम्म कांग्रेसले नेतृत्व पाउने गरी चुनावमा जानुपर्ने सुझाव दिएका थिए । निर्वतमान सभापति बालाराम खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण इकाई सचिव तेजप्रसाद भुसालले गरेका थिए ।