Goraksha

National Daily

कालो बजारी रोक्न बजार अनुगमन

बालाराम खड्का

तुलसीपुर १७ चैत । तुलसीपुर उपमहानगरपालिका उभोक्ता हित संरक्षण समितिले सोमवार विहान तुलसीपुर बजारमा अनुगमन गरेको छ । तुलसीपुर उपमहानगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका, २०७५ को परिच्छेद २ ९४० मा भएको व्यवस्था अनुसार उभोक्ता हित संरक्षण समितिका संयोजक उपमेयर माया शर्माको नेतृत्वमा तुलसीपुरका विभिन्न खाद्यन, तरकारी पसलहरुमा अनुगमन गरिएको उभोक्ता हित संरक्षण शाखाका प्रमुख रेवा रावतले जानकारी दिइन ।

अनुगमनको क्रममा दैनिक उपभोग्य बस्तु तरकारीमा आफुखुसी मूल्य तोक्नुका साथै विभिन्न खाद्यान पसलहरुमा म्याद गुज्रेका सामानहरु फेला परेका थिए ।तुलसीपुरका विभिन्न पसलहरुबाट म्याद गुज्रेका सामग्रीहरु टोलीले जफतसमेत गरेको रावतले जानकारी दिइन् ।

लकडाउनको मौका छोपी म्याद गुज्रेका सामानहरु भेटिएको, पसलहरुमा मूल्य सुचिनै नराखेको पाइएको संयोजक माया शर्माले जानकारी दिइन ।

उनले त्यस्ता व्यवसायीहरुलाई पहिलो पटक सजक गराएको र अर्को पटक यस्तो भेटिए कानुन बमोजिम कारवाही गरिने संयोजक शर्माको भनाई थियो । ‘‘लकडाउनमा पालना गर्नुपर्ने सवै नियम पालना गरेको देखियो, तर केहि पसलहरुमा म्याद गुज्रेका सामानहरु भेटिएका छन्, ती सामग्रीहरु हामीले जफत गरेका छौं’’ शर्माले भनिन्।

त्यस्तै उभोक्ता अधिकार संरक्षण मञ्च दाङका संयोजक केशवकुमार शर्माले बजारका केही पसलहरुमा म्याद गुज्रेका सामानहरु फेला परेको र विपद्को समयमा केही अत्यावश्यक बस्तुहरुमा मूल्य वृद्धि भएको अनुगमनको क्रममा भेटिएको जानकारी दिए । उनले यस विपद्को समयमा सवैलाई सहयोग गर्न समेत आग्रह गरे । त्यस्तै इलाका प्रशासन कार्यालय तुलसीपुरका यादवप्रसाद भुसालले म्याद गुज्रेका सामानहरु विक्री गर्ने तथा आफुखुसी मूल्य तोक्ने र मूल्य सुचि नराख्ने पसलहरुलाई सचेत गराएको र अर्को पटक भेटिए कारवाही हुने चेतावनी दिएको बताए ।

प्रशासनले अत्यावश्यक खाद्यानलगायतका पसलहरु विहान ६ बजेदेखि ९ बजेसम्म खुल्ला गर्ने निणर्य गरेको छ ।