‘बाल्यकालदेखि नै कम्युनिस्टले अन्याय र अत्याचारसँगै जनतालाई दुःख दिने गर्दछन् । जनताको लागि चाहिने पार्टी भनेको प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस हो । कांग्रेसमा लागे बोल्न र आफ्ना कुराहरू राख्न पाइन्छ भन्ने कुराहरू सुनेर कांग्रेसप्रति समर्पित भएको थिएँ’, राजकुमार धिताल, ‘माध्यमिक विद्यालय अध्ययनका क्रममा कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनबाट त्यही नै भागेका थिए ।’
बालमितेरी माध्यमिक विद्यालय भोजपुर जुन विद्यालयमा कम्युनिस्ट निकट विद्यार्थीको दबदबा नै थियो । अध्ययनका क्रममा तत्कालीन कम्युनिस्ट पार्टीका विद्यार्थीहरूसँग संगत नगरेकै कारण विद्यालय अध्ययनका क्रममा उनले समेत धेरै दुःख पाएको सम्झना गर्छन् । त्यही भएर उनी २०५३ सालमा नेपाल विद्यार्थी संघको भोजपुर विद्यालयमा इकाई सभापति बनेर राजनीतिमा होमिएका थिए । उसो त्यो बेला उनका बुबा पनि गाउँका उपप्रधानमञ्च थिए ।
त्यही कारण बुबासँग कांग्रेसका नेताहरू खुमबहादुर खड्का, बलदेव शर्मा मजगैयाँ, तीर्थराज चैतु, कृष्णकिशोर घिमिरे, परशुनारायण चौधरीलगायत नेताहरूसँग नियमित रूपमा भेटघाट भइरहन्थ्यो । जसले गर्दा उनलाई प्रजातान्त्रिक पार्टीप्रति लाग्न प्रेरित गरिरहेको थियो । त्यही वातावरणले मलाई कांग्रेससँग जोड्दै गएको उनले सम्झना गरे ।
ग्रामीण क्षेत्रको विद्यालयबाट राजनीतिमा होमिएका धिताल विद्यार्थी राजनीतिमा लागेको दश वर्षपछि नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष बन्ने अवसर पाए । त्यो जीवनको सबैभन्दा खुसीको दिनमा सम्झना गर्छन् । ‘त्यो पहल आफ्नो जीवनको खुसीको क्षण हो’, उनले भने, ‘त्यो नै जीवनको पहिलो खुसी लेखिदिनुहोला ।’
राजनीतिभन्दा पढेर जागिर खाउँला भन्ने लागेको थियो तर परिस्थिति र सोचेजस्तो नहुँदो रहेछ’, उनले भने, ‘पढेर जागिर खाउँला भनेको परिस्थितिले राजनीतिमा धकेल्दै लग्यो र नेविसंघको जिल्ला अध्यक्ष बन्ने अवसर जुराइदियो । नेपाली कांग्रेस विभाजित हुँदा नेपाली कांग्रेस प्रजातान्त्रिक निकट विद्यार्थी संघ दाङको सभापति बनेका धिताल त्यसपछि २०६४ सालमा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता भएपछि उनी समायोजनपछि पनि नेविसंघको जिल्ला अध्यक्ष बनेका थिए । एउटै पदमा धेरै पटक बसेर काम गरे । त्यो बेला विद्यार्थीको हकहितमा राम्रै काम गरेको थिए ।
नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्षका रूपमा काम गर्दा उनले दाङमा प्रजातान्त्रिक विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने अवसर प्राप्त गरे । त्यो अवसर पाउँदाको क्षण जीवनको अर्को खुसीको क्षण भएको उनी बताउँछन् । ‘देशको शासन सत्ता राजाले हातमा लिएपछि त्यसका विरूद्ध आन्दोलन भयो । दाङमा हुने विद्यार्थी आन्दोलनको नेतृत्वको हिसाबले म पनि थिएँ’, उनले भने, ‘त्यही आन्दोलनका क्रममा दुईसाता बढी प्रहरीको हिरासतमा समेत बसायो ।’
सरल, मिलनसार र सहयोगी स्वभावका धिताललाई बाल्यकालमा राजनीतिभन्दा जागिर खाने मन थियो । घरपरिवारको चाहना पनि छोराले जागिर खाओस् भन्ने नै थियो तर राजनीतिले गर्दा जागिर खाने वातावरण बनेन । ‘गाउँमा हुनेखाने परिवार भए पनि खेती–किसानी गर्नुपथ्र्यो । त्यो हिसाबले छोराले पढेर जागिर खाइदिए हुन्थ्यो भन्ने परिवारको चाहना थियो । सानोमा मेरो पनि जागिर खाने सोच नै थियो’, उनले भने, ‘तर राजनीतिमा लागेपछि जागिर भन्ने भएन, सबै ध्यान पार्टीमै लाग्यो ।’
उमेरले चारदशकमा लागेका धिताललाई बाल्यकालमा स्कूल पढ्दाको एउटा सम्झना छ । उनले त्यो बेला बालमितेरी भोजपुरमा पढ्थे । विद्यालय नजिकै एउटा नास्ता–पसल थियो । त्यो पसलमा सञ्चालक वली–बाजेले नास्ताका रूपमा पक्की मिठाइ बनाउँथे । त्यो धेरै मन पथ्र्यो । उनले भने कतिपटक मिठाई खानका लागि विद्यालयको पढाइ समेत छोडिदिए ।
‘सानोमा मिठाइ खुब मन पथ्र्याे तर पैसा धेरै हुँदैन थियो । कहिलेकाहीँ मिठाई आपूmले मात्रै खानका लागि साथीहरू सबै मिलेर पसलका सबै मिठाई किनेर खाने ग¥यौँ’, उनले भने, ‘त्यही मिठाई खाँदा कहिलेकाहीँ कक्षा छुटेको समेत पत्तै हँुदैनथ्यो ।’ उनले बाल्यकालको स्मरण गर्दा वली–बाजेको पसलमा मिठाई खाएको धेरै सम्झना आउने गरेको बताए ।
बुबा स्व. शालिकराम धिताल र आमा विजयालक्ष्मी धितालका कान्छो सन्तानका रूपमा २०३६ साल पुसको १४ गते तुलसीपुर उपमहानगरपालिका–१४ लुहारडवरामा जन्मिएका थिए । उनका तीन दाजुहरू रहेका छन् । गाउँ नजिकै रहेको प्राथमिक विद्यालय खैरापुरबाट औपचारिक शिक्षा सुरु गरेका उनले २०५६ सालमा बालमितेरी माध्यमिक विद्यालयबाट सेकेण्ड डिभिजनमा एसएलसी पास गरेका थिए । त्यसपछि घोराहीमा रहेको ज्ञानसिन्धुमा प्लस–टु पढेका धितालले घोराहीकै राप्ती शिक्षा क्याम्पसमा मास्टरसम्मको अध्ययन गरे ।
नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष, जापानिज संस्था रेयुकाईको संवाददातासँगै नेपाली कांग्रेसको जिल्ला सदस्यका रूपमा निर्वाचित धिताल विभिन्न संघसंस्थाहरूमा समेत आबद्ध छन् । यसैगरेर राजनीतिमा लागेका धितालले अर्को खुसी कांग्रसेको जिल्ला सदस्यमा निर्वाचित भएको सम्झना गर्छन् । मेरो अर्को खुसी कांग्रेसको जिल्ला सदस्यमा निर्वाचित भएको दिन पनि हो’, उनले भने ।
धिताल कांगे्रसको हालै सम्पन्न १४औँ जिल्ला अधिवेशनबाट सदस्यमा निर्वाचित भएका थिए । ‘पार्टी र संगठनले जुन जिम्मेवारी दिएर मलाई निर्वाचित गराउने काम गरेको छ । त्यो दिन म खुसी भएको थिएँ’, उनले भने । उनको जीवन पनि सरल र वक्र दुवै रेखामा छ । जीवन सधैँ मान्छेले सोचेजस्तो हँुदैन । जुन ठाउँमा उभिए पनि खुसी हुन सिक्नुपर्छ’, उनले भने, ‘त्यो मैले पनि गरेको छु ।’
२०६८ सालमा शान्तिनगर निवासी खिमकुमार पाण्डेयसँग वैवाहिक सम्बन्धमा बाँधिएका धितालकी एक छोरी अनुज्ञा धिताल छिन् । धितालकी श्रीमती प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत् रोल्पाको गंगादेव गाउँपालिकामा कार्यरत छिन् । जन्मभूमि तुलसीपुर उपहानगरपालिका १४ भए पनि उनले अहिले घोराही–१५ लाई कर्मभूमि बनाएका छन् ।
यही ठाउँबाट उनले जीवनको राजनीतिक यात्रा नापिराखेका छन् । जीवनको एकिन छैन तर भएको जीवन राजनीतिबाट सामाजिक क्षेत्रमा लगाउनु पर्ने उनको मत छ । राजनीतिबाट कहाँसम्म पुगिन्छ त्यो थाहा छैन तर जहाँसम्म पुगिन्छ त्यहाँसम्म खुसी नै हुनेछु’ उनले भने ।
प्रस्तुती : लिलाधर वली