राप्तीमा खेलकुद प्रतियोगिता सुरु, दुई सय बढी खेलमा सहभागिता

तीर्थराज ज्ञवाली
पाखापानी, १६ चैत । राप्ती गाउँपालिकामा खेलकुद प्रतियोगिता सुरु भएको छ । युवाहरूलाई लक्षित गरेर ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ खेलकुद प्रतियोगिता सुरु भएको हो । राप्ती गाउँपालिका वडा नं. १को कार्यालयको आयोजनामा भलिबल, क्रिकेट, ब्याडमिन्टन, फुटबल प्रतियोगिता सुरु भएको हो ।

बुधवार एक कार्यक्रमकाबीच राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले उद्घाटन गरेको खेलकुद प्रतियोगितामा वडा नं. १ का युवा खेलाडीहरूको सहभागिता छ । भलिबल प्रतियोगितामा ६ टिम, क्रिकेट प्रतियोगितामा ५ टिम, ब्याडमिन्टन प्रतियोगितामा २४ टिम, फुटबल प्रतियोगितामा ५ टिमको सहभागितामार्फत् करिब २ सय बढी युवाको प्रत्यक्ष खेलमा सहभागिता रहेको वडा सचिव विश्व पौडेलले जानकारी दिएका छन् ।

वडाध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा भएको खेलकुद उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, शिक्षक फर्शुराम आचार्यलयायतले खेल प्रतियोगिताको लागि खेलाडीलाई शुभकामना दिएका थिए । खेलकुद प्रतियोगिता दुई दिन चल्ने खेलकुद प्रतियोगिता संयोजकले जानकारी दिएका छन् । विजयी खेलाडीलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने छ ।