घोराहीको सावर्जनिक सुनुवाई : कृषकले कहिले पाउने अनुदान ?

अमरराज आचार्य
दाङ, १५ चैत । घोराही उपमहानगरपालिका वडा नं. १६ का दिलबहादुर सार्कीले वास्तविक कृषकहरुले अनुदानमा प्रविधि पाउन नसकेको गुनासो गरेका छन् । घोराही उपमहानगरपालिकाले आयोजना गरेको दोस्रो चौमासिक सार्वजनिक सुनुवाईमा उनले यस्तो गुनासो गरेका हुन् । सरकारले दिने अनुदानको दुरुपयोग भएको उनको आरोप छ ।

‘हामीजस्ता हलोले जोत्ने कृषकले कहिले ट्रयाक्टर अनुदानमा पाउँछौ ?’ सार्कीले प्रश्न गरे । सरकारले दिने अनुदान वास्तविक कृषकसम्म पुग्न नसकेको उनको गुनासो छ । अनुदान टाँठाबाँठाहरुले मात्र लिने गरेको उनले बताए । ‘टाँठाबाँठाहरु कहिले कुन जग्गा देखाएर त कहिले कुन देखाएर हरेक वर्ष अनुदानमा ट्रयाक्टर लैजाने गरेका छन्’, उनले भने ।

घोराही उपमहानगरपालिका वडा नं. १८ का धर्म हमालले उपमहानगरपालिकाले विकास निर्माणका कार्यमा ग्रामीण क्षेत्रलाई प्राथमिकता नदिएको गुनासो गरे । ‘विकासका योजनाहरुमा बजार क्षेत्रलाई मात्र प्राथमिकता दिइएको छ’, हमालले भने– ‘यसले गर्दा ग्रामीण क्षेत्रमा विकास निर्माणको काम हुन सकेको छैन ।’ उपमहानगरपालिकामा सरसफाई अभियान शून्य भएको उनले बताए ।

‘जनप्रतिनिधिहरु नआउँदै सञ्चालन भएको अभियान अहिले शून्य छ’, हमालले भने । ग्रामीण क्षेत्रमा फोहोर उठाउन गाडी नपठाए पनि उपमहानगरपालिकाले कर लिने गरेको भन्दै यस प्रकारको कर आफूहरुले नतिर्ने समेत बताए । ‘कर तिरेपछि सेवा पाउनुपर्दछ सेवा नै नपाए हामीले किन कर तिर्ने ?’ हमालले भने ।

घोराहीका तिलबहादुर पुनले गाउँमा धुलोले बस्न नसक्ने अवस्था रहेको बताए । नागरिकहरु स्वस्थ वातावरणमा बस्न पाउनुपर्ने उनको भनाइ छ । ग्रामीण क्षेत्रका बाटोमा ग्राभेल नगरिएको उनले गुनासो गरे । ‘ग्राभेल त भएको छैन बाटो पक्की कहिले होला ?’ पुनले भने । पहुँच हुनेहरुले योजना लैजाने गरेको तर पहँुच नहुने क्षेत्रमा विकासका योजनाहरु नजाने गरेको उनले गुनासो गरे । घोराही अटो भिलेज व्यवस्थापन समितिका सचिव बिक्रम रानाले बजार भरी अटो व्यवसाय सञ्चालन गर्न दिएर बजार प्रदूषित गराउने काम गरेको बताए ।

नगरपालिकाको नीतिअनुसार आफूहरु अटो भिलेजमा व्यवसाय सञ्चालन गरिरहे पनि बजारमा समेत अटो व्यवसाय सञ्चालन भइरहेको भन्दै यसतर्फ उपमहानगरपालिकाले ध्यान दिनुपर्ने बताए । ‘नगर सुन्दर बनाउने अभियानलाई यसले असर पुग्दछ’, रानाले भने । कार्यक्रममा सहभागीहरुले विकास निर्माण, कृषि, खानेपानी, शिक्षा, विद्युतलगायतका विषयमा गुनासा राखेका थिए ।

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उपमहानगरपालिकाले नागरिकको आशा पलाउने गरी काम गरिरहेको बताए । जनप्रतिनिधिहरु आएपछि धेरै काम भएको समेत बताए । ‘जनप्रतिनिधिहरु आएपछि विकास निर्माण, शिक्षा, खानेपानी, स्वास्थ्यलगायत धेरै काम भएका छन्’, उनले भने । उपमहानगरपालिकाले गरेका कामका बारेमा जानकारी दिन तथा नागरिकबाट सुझाव लिनका लागि सार्वजनिक सुनुवाई गरिएको उनले बताए ।

नागरिकबाट आउने सुझावले आफूहरुलाई अगाडि बढ्न सहयोग पुग्ने समेत उनले बताए । घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले नगरको व्यवस्थित विकासमा सबैको सहयोग आवश्यक रहेको बताइन् । सबैको सहयोग भएमा व्यवस्थितरुपमा अगाडि बढाउन सकिने उनको भनाइ छ । जनप्रतिनिधिहरुको ध्यान पुग्न नसकेको विषयमा नागरिकले जानकारी दिएर सहयोग गर्न समेत उनले आग्रह गरिन् ।

घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले सम्पूर्ण नगरवासीहरुलाई समान दृष्टिले हेरेर काम गर्ने गरिएको बताए । विकास निर्माण तथा अन्य काममा विभेद नगरिएको उनको भनाइ छ । उपमहानगरपालिकाबाट हुने कार्यका बारेमा जानकारी दिन सार्वजनिक सूचनासमेत दिने गरेको बताए ।

उपमहानगरपालिकाले दोस्रो चौमासिकसम्म गरेका गतिविधिका बारेमा सूचना अधिकारी भीमबहादुर चौधरीले जानकारी दिएका थिए । त्यस अवसरमा नागरिकले उठाएका विषयका बारेमा सम्बन्धित शाखा तथा महाशाखा प्रमुखहरुले जवाफ दिएका थिए । कार्यक्रममा नागरिक प्रतिवेदन विमला घर्तीले प्रस्तुत गरेकी थिइन् । उपमहानगरपालिकाका वासुदेव आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नविन चौधरीले गरेका थिए ।