‘खेल क्षेत्रको विकासमा लगानी आवश्यक’

दाङ क्रिकेट लिग सुरु
गोरक्ष समाचारदाता
दाङ, १३ चैत । लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो राशीको क्रिकेट प्रतियोगिता दाङ क्रिकेट लिग–२०७८ सुरु भएको छ । घोराही उपमहानगरपालिका–१७ गुलरिया स्थित घोराही क्रिकेट मैदानमा शनिवारदेखि प्रतियोगीता सुरु भएको हो ।

प्रतियोगिता उद्घाटन घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले गरेका हुन् । खेलको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले खेल क्षेत्रको विकासका लागि लगानीसँगै खेललाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताए । देशको नामसँगै राम्रो खेल्ने खेलाडीको भविष्य समेत रहेको भन्दै नगर प्रमुख चौधरीले दाङमा खेललाई व्यवसायीकरण गर्न आवश्यक भएको चर्चा गरे ।

उनले घोराही उपमहानगरपालिकाले एक वडा एक खेल मैदानको नीति अनुसार लगानीसँगै खेल मैदान निर्माण गरिरहेको बताए । ‘खेल क्षेत्रको विकासका लागि घोराहीले एक वडा एक खेल मैदान निर्माणको नीतिअनुसार खेल मैदान निर्माण भइरहेका छन्’, नगर प्रमुख चौधरीले भने, ‘यसले खेलकुद क्षेत्रसँगै नयाँ खेलाडी उत्पादनमा सहयोग पु¥याउने काम गरिरहेको छ ।’ उनले गुलरिया स्थित क्रिकेट मैदान नगरकै सहयोगका कारण अहिलेको अवस्था बनेको भन्दै आगमी दिनमा यसलाई प्याराफिट सहितको खेल मैदानका रूपमा विकास गर्न भूमिका खेल्ने बताए ।

नगर प्रमुख चौधरीले प्रदेश सरकारको लगानीमा घोराही–१६ मा सुविधा सम्पन्न खेल मैदान निर्माणको काम अघि बढेको समेत बताए । खेलका लागि पूर्वाधारसँगै विभिन्न समयमा हुने प्रतियोगिताले जिल्लामा खेलहरू खेल्ने वातावरण निर्माण भइरहेको भन्दै आगामी दिनहरूमा समेत यस्ता प्रतियोगिताहरू हुन आवश्यक रहेको बताएका थिए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले राष्ट्रको गहनाका रूपमा रहेको खेलकुद क्षेत्रको विकासका लागि राज्यले ध्यान दिन नसक्दा आवश्यक पूर्वाधारसँगै क्षमतावान् खेलाडीहरू पछि पर्ने अवस्था रहेको बताएका थिए । साथै उनीहरूले जिल्लामा खेलकुद क्षेत्रको विकासका लागि तीनै तहका सरकारहरूका बीचमा सहकार्य हुन आवश्यक रहेकोमा जोड दिएका थिए ।

नेपाल क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैयाँको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल क्रिकेट संघका लुम्बिनी तथा कर्णाली प्रदेशका अध्यक्ष दुर्गाबहादुर थापा, नेपाली कांग्रेसका जिल्ला सचिव बालिका लम्साल, नेकपा एमालेका नेता विवेक श्रेष्ठ, देउखुरी वारियर्सका ओनर तथा नेपाली कांग्रेसका नेता जानकीलाल बस्नेत, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी, घोराही उपमहानगरपालिका–१७ का अध्यक्ष खुशीराम चौधरी, घोराही उपमहानगरपालिका–१४ का अध्यक्ष शक्तिराम डाँगी, नेपाल निर्माण व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र राना, नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश उपाध्यक्ष श्रीधर महरा, दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल क्रिकेट सघका लुम्बिनी तथा कर्णाली प्रदेश सदस्य कैलाश रोका मगरको स्वागत मन्यव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्रिकेट संघका लुम्बिनी तथा कर्णाली प्रदेश सदस्य किशोरचन्द्र गौतमले गरेका थिए । चैत १७ गतेसम्म चल्ने प्रतियोगितामा पाँचवटा फ्रेन्चाइज टिमहरू घोराही टाइगर्स, देउखुरी वारियर्स, दङाली लायन्स, पुरन्धारा च्यालेञ्जर्स र तुलसीपुर रोयल रहेका छन् । प्रतियोगिताको विजेता टिमले नगद दुई लाख र दोस्रो हुने टिमले नगद एक लाख रूपैयाँसहित शिल्ड, ट्रफी र प्रमाणपत्र जित्ने भएका छन् । साथै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन खेलाडीहरूलाई समेत विधागत रूपमा पुरस्कृत गरिने भएको छ ।

घोराही र पुरन्धाराको विजयी सुरुवात

यसैबीच दाङ क्रिकेट लिग–२०७८ को पहिलो खेलमा घोराही टाइगर्सले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा घोराही टाइगर्सले देउखुरी वारियर्समाथि ३ विकेटको जित दर्ता गर्दै सुखद् सुरुवात गरेको हो ।

घोराही–१७ गुलरिया क्रिकेट मैदानमा भएको खेलमा देउखुरीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो । देउखुरीका लागि विशालविक्रम केसीले सर्वाधिक ७१ रन बनाउँदा मार्की खेलाडी नारायण जोशीले २७ र आशीष वलीले २५ रनको योगदान गरे । घोराहीका अनुप न्यौपानेले २ विकेट लिँदा रासिद खान, रविन थापा र सिद्धान्तराज शाहीले एक÷एक विकेट हात पारेका थिए ।

१४० रनको विजयी लक्ष्य घोराहीले निर्धारित ओभरका १ बल बाँकी छँदै पूरा गरेको थियो । घोराहीलाई विजयी गराउनका लागि शिशिर डिसीले ३३ रन बनाउँदा रासिद खान र तुलबहादुर थापा दुवैले १८–१८ रनको योगादन गरे । यसैगरी सुशान्तसिंह र सिद्धान्तराज शाहीको ब्याटबाट बनेको १४–१४ रन पनि घोराहीलाई जिताउन पर्याप्त बन्यो । देउखुरीका लागि आशीष वलीले ३ तथा नारायण जोशीले २ विकेट लिए पनि हार टार्न पर्याप्त बनेन । शनिवारदेखि सुरु भएको प्रतियोगिताको दोस्रो खेलले जित दर्ता गरेको छ । प्रतियोगितामा ५ टिमको सहभागिता रहेको छ ।

दोस्रो खेलमा १५ रनले पुरन्धारा च्यालेन्जर्स विजयी भएको छ । टस जितेर पहिलो व्याटिङ गरेको पुरन्धाराले निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिमा ११४ रन जोड्न सफल भएको थियो । जवाफमा ११५ रनको लक्ष्य पच्छाउने क्रममा दङाली लायन्स निर्धारित ओभरमा ९९ रन मात्र बनाउन सफल भयो । सात विकेटको क्षतिमा ९९ रनमा समेटिँदा दङाली लायन्स पहिलो खेलमा पराजित हुन पुगेको हो ।