सत्ता लिप्सा सही निर्णयको बाधक

केपी सुवेदी
देश विकास र जनताको पक्षमा हाम्रो सरकारले कति र कसरी काम गर्छ भन्ने कुरा सरकारको वार्षिक लेखा परीक्षण प्रतिवेदन हेरेर प्रष्ट हुन सकिन्छ । आर्थिक विकासको ठूलो–ठूलो कुरा गरेर सत्तामा जान जनतालाई आश्वासन नदिने कुनै दल नै हुँदैन ।

२०७४ को महानिर्वाचन प्रचारप्रसारका क्रममा दलहरुले पहिलेभन्दा अघि बढेर आगामी कार्यकाल आफ्नो पार्टीको सरकार बन्यो भने पाँच वर्षमा देश समृद्ध बन्छ भनेको विश्वास गरेर मतदान गरेका हुन् । जनताले जतिसक्यो त्यति मात्रै गरे होलान् तर पनि दलहरुले पालैपालो सरकार चलाउने मौका पाउलान् भनेर निर्वाचन परिणाम आउँदा कल्पना गरिएको थिएन । किन यति छिट्टै सरकार बदलियो ? दुईतिहाइ नजिकको सरकार यसरी अल्पमतमा झरेर सर्लक्क धुलोमा बिलाउने अवस्थाको समयमै समीक्षा गरेर अलिकति योजनाबद्ध दृष्टिकोण सुशासन र विकासको मामिलामा लिन सक्यो भने सधैँका लागि उपलब्धि हुनसक्छ ।

तर, एउटा कुरा याद राख्नु जरुरी थियो, त्यो के हो भने आजका सत्तासहयात्री कांग्रेसका हितचिन्तक होइनन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई यो पक्कै याद छ कि यिनै माधव नेपाल र प्रचण्डले केपी ओलीसँग कुरा मिल्दासम्म कांग्रेसलाई पचास वर्ष सरकारमा आउने आशा नगर भनेर कति पटक फलाकेका थिए । सधैँ घोंचपेच र खिसिट्युरीमा प्रस्तुत हुने यी कम्युनिस्ट भनाउँदाहरुसँग परिस्थितिले सत्तासाझेदार बनाइदियो । परिस्थितिले कांग्रेससँग होइन उनीहरुसँग बदला ल्यायो र कांग्रेसबिना देश चल्न सम्भव छैन भन्ने ती कम्युनिस्ट अहंकारीहरुलाई सम्झाइदियो।

पाँचै पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको कार्यशैलीमा आमुल परिवर्तन देखिनुपर्ने अपेक्षा गरेका जनतामा आशा जगाउने काम हुनसकेको छैन । बरु सरकारमा रहिरहन आफ्ना आदर्श एवं मूल्य मान्यता धुलिसात पारेर भए पनि मिल्ने किन ? विकासको गतिले तीव्रता पाउन नसक्नुका कारण यो सरकारले खोजी गर्ने तदारुकता देखाउनु पथ्र्यो, देखाएन ।

जनतासँग सिधा सरोकार भएका विकास आयोजनाहरु ठेकेदारको लापरबाही र सरकारको फितलो कारबाहीका कारण अलपत्र अवस्थामा रहनेह हँुदा पैसा पनि खर्च गर्न सकेको हुँदैन र खर्च भएको रकम वास्तविक लगानी नगरेर केवल कागजमा खर्च गरेको देखाए पुगिहाल्ने प्रवृत्तिको अन्त्य गरेर जनताले कांग्रेसलाई गरेको भरोसामा टेवा दिने प्रयास गरे जनमतको कदर पनि हुने र आफ्नो पार्टीको मूल्य मान्यतामा चोट नलाग्ने हुन सक्छ । त्यसबेला चुनाव जित्न कांग्रेसका व्याधा काँधमा बोकेर हिडिरहन आवश्यकता पर्दैन ।

प्रधानमन्त्री देउवाको प्रस्तुती सुन्दा चुनाव नजिति नहुने भन्ने बुझिन्छ । २०७४ निर्वाचन नजिकिएको बेला शेरबहादुर देउवा प्रधानमन्त्री नै थिए, त्यो बेला बीसीसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा दिएको जवाफलाई उदाहरण बनाएका थिए र चुनावको परिणाम प्रधानमन्त्रीको त्यो अभिव्यक्तिबाट प्रभावित थियो ।

पदमा आसिन कार्यकारी प्रमुख वरिपरिकालाई खुसी राख्न देशको ढुकूटी दुरुपयोग गर्छन्, त्यसलाई निरन्तरता चाहँदा सत्ताको चरम दुरुपयोग हुन्छ । निवर्तमान प्रधानमन्त्री वलीको नियति यसरी नै विकसित भयो र अन्ततः अस्तायो । उनको कार्यकालमा भ्रष्टाचार कति भयो ? त्यसको हिसाब कहिले होला या नहोला तर बेरुजु रकमको अंक अहिलेसम्मकै उच्च र देशलाई ऋणको भार डेढि बढाएर जाँदा अझ कति भ्रष्टाचार भएका तथ्यहरु भेटिएलान् ।

यही कुकृत्य लुकाउन सत्ताधारीले अल्पमतमा परे पनि जालझेल र बेइमानी गरेर सत्ता जोगाउन कोसिस गर्ने रहेछन्, त्यसको सटिक उदाहरण केपी शर्मा ओली हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइअनुसार पनि ओलीको अहंकार र आतंक समाप्त गर्न गठबन्धन साथ लिएर चुनावमा जानुपर्छ भन्ने तर्क छ तर यो सही तर्क होइन । एकातिर कांग्रेस बलियो भयो भने भ्रष्टाचार अन्त्य गर्ने छ, बेरोजगारी, हटाएर देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्नेछ भन्ने हो भने उनैसँग मिलेर ल्याएको परिणामले उनीहरुकै विरुद मुद्दा बनाउने नैतिक धरातल कसरी प्राप्त हुन्छ ।

यो सरकारको आयु जति दिन बाँकी छ, बाँकी त्यत्ति दिनहरुलाई फलदायक बनाउन भ्रष्टाचारीहरुको साथ छोडेर एक्लै उनीहरुको मुटु हल्लाउने निर्णय गर्ने हैसियत बनाउन जनतासँग उनीहरुको अपेक्षानुसार आगामी तिनवटै निर्वाचन एक्लै लडने निर्णय गर्नु पर्छ । एक्लै लडेर ल्याएको बहुमतको सरकारले सबै विकृतिको जालो तोडेर अहिलेसम्म सत्ताको आडमा लुकेका भ्रष्टाचार चाहे वलीको पालामा होस्, चाहे त्यसपूर्व शान्ति प्रकृयाको सिलसिलामा प्रचण्डले गरेका घोटाला हुन् । सबैको छानविन गरी कार्यवाही गर्ने हिम्मत गर्ने हो भने कसैले हल्लाउन नसक्ने गरी कांग्रेस बलियो पार्टी हुनसक्छ । आफुपनि निःस्वार्थ सत्ता चलाउन दृढता हुनु पर्छ ।

सामाजिक सञ्जालमा समाचारहरु हालिएका छन् तर त्यस्ता समाचारहरुको विश्वसनियता छैन । किनकि केही मिडिया र हनुमानगिरी गर्ने एउटा चाटुकार झुण्ड यस्तो बेलामा सक्रिय देखिन्छ । तिनीहरु प्रशंसाको पुल बाँधेर सत्ताको फाइदा उठाउन यस्तो तरिका अपनाउने गर्छन् । यदि देशको शक्तिशाली व्यक्ति यिनीहरुको फन्दामा परिगो भने उ विस्तारै तल झर्न थाल्दो रहेछ र धुपौरेहरु मोटाघाटा हुँदै जाँदा रहेछन् ।

शेरबहादुर देउवाको कार्यकाल यस्तो दुर्गतिबाट बचिहाले पनि साझेदारहरुले राम्रो काम गर्न दिने छैनन् । ओलीलाई तल भूइँमा धुलो चटाउने उनको अहंकार बाहेक बाँकी कुरा त शेरबहादुरसँग आइसकेका छन् । समयको हिसाबले अहिलेको सरकारलाई त्यत्ति सुविधा प्रप्त हुने छैन तर जनताले कांग्रेसको एकल वर्चश्व पुनःस्थापित होस् भन्ने चाहेका छन् ।

अहिले सत्ता साझेदार दलका प्रमुखहरु दोहोरो चरित्र देखाइरहेका छन् । दुनियाँले देखेका दोहोरो चरित्र प्रधानमन्त्री देउवाले नदेख्ने कुरा हुँदैन । त्यसमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड खुलेआम देखिन्छन् । उनी देउवालाई तर्साउन अनेक उपाय लगाउँदै छन् । कहिले ओलीसँग मिल्छु भन्छन् त कहिले उत्तरी छिमेकीसँग भर्चुअल भेट गरेर बामपन्थी एकता गराइदिन अनुनय गर्छन् । फेरि कहिले पालैपालो दोस्रो पुस्ताका नेताहरुलाई चाइना पठाउँछन् ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले म कसैसँग मिल्न जरुरी छैन भनेर भनिसकेका छन् । एमसीसीमा दोहोरो चरित्र कम्युनिस्ट रिझाउन र सत्ता बचाउन गरिएका नाटक जनतालाई पटक्कै मनपरेको छैन । कि कांंग्रेस एक्लै जाँदा एमसीसी विरुद्ध जनमत बलियो छ, त्यसलाई चिर्न प्रचण्डलाई साथ लिएर जानुपर्छ भन्ने हो भने । केका लागि गरियो यी सबै प्रपञ्च जवाफ का‘ंग्रेसले नै दिनुपर्छ।