चारलेन सडकमा कांग्रेसको चासो : शृङ्खलाबद्ध अनियमिता रोक्न प्रशासनमा ध्यानाकर्षण

दाङ, १२ चैत । नेपाली कांग्रेस दाङले जिल्लाकै गौरवका रूपमा रहेको चारलेन सडक निर्माणमा भएका ढिलासुस्तीमा चासो व्यक्त गरेको छ । सडक निर्माणका क्रममा निर्माण कम्पनीका स्थानीय प्रतिनिधिबाट भएका शृङ्खलाबद्ध अनियमितता तत्काल रोक्न पनि कांग्रेसले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति शंकर डाँगीको नेतृत्वमा शुक्रवार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षणमा सडक स्तरोन्नतिका लागि भनेर जिल्लाका विभिन्न स्थानबाट राजस्व नलिइ उठाइएका नदीजन्य पदार्थ व्यावसायिक लेनदेनको कारोबारमा अर्को उद्योगलाई बेचविखन गर्न लागेको बुझिएकाले यसलाई तत्काल रोक्न कांग्रेसले स्थानीय प्रशासनसँग आग्रह गरेको छ । ध्यानाकर्षण–पत्रमा निर्माण कम्पनीका पेटी ठेकेदार विभिन्न व्यवसायीलाई पैसा भुक्तानी नदिएको तथा अन्य बैंक कसुरको अभियोगमा पक्राउ परिरहेका बेला लेनदेन मिलाउन चारलेनका लागि उठाइएका नदीजन्य पदार्थ सोनापुर सिमेन्टलाइ तिर्नुपर्ने रकम वापत बुझाउन लागेको पनि जनाइएको छ ।

साथै उक्त ध्यानाकर्षण–पत्रमा घोराही–तुलसीपुर फोरलेन सडक निर्माणमा ठेकेदारले चरम लारबाही गरेको भन्दै नेपाली कांग्रेस दाङले ठेक्कालाई नयाँ प्रक्रियाबाट चाँडोभन्दा चाँडो सम्पन्न गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ । जिल्लाको मुख्य सडकखण्ड निर्माणको नाममा लामो समयसम्म अस्तव्यस्त हुँदा विकास निर्माणमा ढिलाइसँगै जोखिमपूर्ण यात्रा गर्न बाध्यता रहेको भन्दै उक्त जोखिम हटाउन सम्बन्धित निकायलाई आग्रह गरेको हो ।

नेपाली कांग्रेस दाङले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै सडक निर्माणमा भएको ढिलासुस्तीका कारण विकास निर्माणमा ढिलाइ हुनुका साथै करिब तीन वर्षको अवधिमा २२ जनाले ज्यान गुमाउनु परेको भन्दै लापरबाही गर्ने ठेकेदारलाई कारबाहीको माग गरेको छ । साथै कष्टपूर्ण तथा जोखिमपूर्ण यातायात सेवा भइरहेको अवस्थामा कामलाई गतिशील बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आग्रह गरिएको थियो ।

विकास निमार्णमा भएको ढिलाइ र बेवास्ताका कारण सर्वसाधारण नागरिकले सास्ती भोग्नु परिरहेको नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले ध्यानाकर्षण–पत्र बुझाउने क्रममा बताएका छन् । उनले सडक निर्माणको जिम्मा पाएको भारतको मुम्बई स्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा–स्ट्रक्चर प्रालि आफै काममा नआएर पेटी ठेकेदारलाई खटाउँदा पेटी ठेकेदारले काममा कुनै पनि गम्भीरता नदेखाएको भन्दै सम्बन्धित निर्माण व्यवसायीलाई झिकाउन समेत आग्रह गरे ।

उनले सन् २०१९ जनवरीमा सम्झौता भएर दुई पटक म्याद थप गर्दा २०२२ मे महिनामा सकिनुपर्ने काम हालसम्म ६÷७ प्रतिशत मात्र हुनु दुर्भाग्यपूर्ण भएको भन्दै निर्माणको कार्यलाई अघि बढाउन जिल्ला प्रशासन कार्यालयलाई पहल गर्न समेत विज्ञप्तिमार्फत् आग्रह गरेका छन् । जिल्लाको मुख्य सडकखण्ड निमार्णको नाममा लामो समयसम्म अस्तव्यस्त भएका कारण यात्रुहरूले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् भने यसले दुर्घटनाको जोखिम बढाएको छ ।

यसैगरी आर्थिक लेनदेनको मुद्दामा सडक निर्माण कम्पनीका प्रतिनिधि पक्राउ परिसकेकाले यो अवस्थामा सत्य–तथ्य पत्ता लगाइ दोषीलाई हदैसम्मको कारबाहीको माग कांग्रेसले गरेको छ । साथै सडक निर्माणका विषयमा गम्भीर बन्न र छिटोभन्दा छिटो सडक विस्तारको काम पूरा गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

निर्माण कम्पनीका प्रतिनिधि अनुप पाण्डेले बैंक कसुर एवं अन्य मज्दुरलाई भुक्तानी नदिएका उजुरी परिरहेको सन्दर्भमा पछिल्लो समयमा निर्माण कम्पनीका प्रतिनिधिले सोनापुर सिमेन्ट उत्तरतर्फ राखिएका नदीजन्य पदार्थ गिट्टी, बालुवा, ढुंगा, क्रसिङ मेसिनलगायतका सामग्री सोनापुरलाई हस्तान्तरण गर्ने सहमति भएको बुझिएको र त्यसतर्फ गम्भीर बन्न प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

चारलेन सडकका नाममा स्थानीय पालिकाले कर नलिएरै नदीजन्य पदार्थ उपलब्ध गराइएकोमा ती कच्चा पदार्थ व्यापारिक लेनदेनको हिसाब मिलाउन अर्कै निजी कम्पनीलाई दिने सहमतिप्रति कांग्रेसको घोर आपत्ति भएको जनाएको छ । यस्तो कार्यलाई तत्काल रोक्न नेपाली कांग्रेसले जिल्ला प्रशासन कार्यालय, चारलेन सडक स्तरोन्नति परियोजना लमही कार्यालयलगायतलाई आग्रह समेत गरेको छ ।

चारलेनका नाममा लिएका नदीजन्य पदार्थलाई अन्य प्रयोजनमा बेचविखन भए त्यसका विरूद्ध कडा आन्दोलन गर्ने कांग्रेस दाङले चेतावनी दिएको छ । समयमै निर्माण कार्य सम्पन्न नभएमा थप संघर्षका कार्यक्रम घोषणा गरिने नेपाली काग्रेस दाङका सचिव अजुर्नकुमार योगीले जानकारी दिएका छन् । उनले कांग्रेसले उठाएको विषयप्रति गम्भीर बन्न समेत आग्रह गरेका छन् ।

स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री भएको समयमा नेपाल भ्रमणमा आएका भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका साविकका पाँचौँ विकास क्षेत्रमा एक÷एक वटा गौरवका योजना सञ्चालन गर्न भन्दै अनुदान घोषणा गरेका थिए । सोही कार्यक्रम अनुरूप भारतको एक्जिम बैंकको लगानीमा साविकको मध्यपश्चिम क्षेत्रमा कपिलवस्तुको चन्द्रौटादेखि कृष्णनगरसम्म, भालुवाङदेखि बाग्दुल्ला भीमगेठीसम्म र लमही—घोराही—तुलसीपुर सडकखण्डलाई स्तरोन्नति गरी चारलेन बनाउने काम सुरु भएको छ ।

सडक विभाग मातहतको यो परियोजनाको कार्यालय लमहीमा रहेको छ । तीन क्षेत्रमध्ये भालुवाङ—बाग्दुला सडक स्तरोन्नतिको काम पनि निर्माण कम्पनीले समयमा काम नगरेका कारण ठेक्का खारेज भएको छ । चन्द्रौटा–कृष्णनगरको सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ भने दाङमा कामको भौतिक प्रगति ७ प्रतिशत मात्रै रहेको परियोजना कार्यालयको मूल्याङ्कनमा उल्लेख गरिएको छ ।

निर्माण कम्पनीको कार्यशैलीप्रति तीव्र आलोचना हुँदै गर्दा भारतको आधिकारिक निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्टले एकपछि अर्को पेटी ठेकेदार प्रस्तुत गर्दै समय गुजार्दै आएको छ । पछिल्लो समयमा यसै सातादेखि १३ महिनामा काम सक्ने योजना सहित श्रेष्ठ कन्स्ट्रक्सनले फेरि सडकका खाडल कोतर्न सुरु गरेको छ । एक महिनामै कम्तिमा ६ करोडको काम गर्ने दाबी गरे पनि सडकमा स्रोतसाधन र मजदुर परिचालन भने निकै नगन्ने रहेको स्थानीयले बताएका छन् ।

यसैबीच ज्ञापन–पत्र बुझ्दै प्रजिअ रेग्मीले फोरलेन सडक जिल्लाकै गौरवको आयोजनामा भए पनि सडक विस्तारसँगै निर्माणमा ढिलाइ हुनु दुःखद् भएको बताए । जनताको सहजताका लागि सडकलाई समयमै निर्माणका लागि पटक–पटक पहल गरे पनि निर्माण व्यवसायीको लापरबाहीले समयमै सडक निर्माण हुन नसकेको बताए । उनले सडक निर्माणमा कांग्रेसले गरेको खबरदारीले सकारात्मक सन्देश दिएको भन्दै विकास निर्माण र सुशानका लागि नियमित खबरदारी आवश्यक रहेको बताए । उनले फोरलेनका ठेकेदारलाई जिल्ला प्रहरी कार्यालय दाङले बैंक कसुरमा पक्राउ गरी कारबाही अगाडि बढाएकाले दोषीलाई कारबाही गर्ने बताए ।