बिनोद पोख्रेल
२०७७ माघ २९ गते
जीवन बिताउन सरल र सामान्य तरिकाले राम्रो हुने रैछ । त्यसमा परिवारजन र आफ्नाहरुको सामान्य सहयोग र साथ भए पुग्ने । कुनै प्रकारको औपचारिकता पूरा गर्नु पनि नपर्ने । विशेष जिम्मेवारी लिन पनि नपर्ने । एकअर्काप्रति सद्भाव, विश्वास र सामान्य सहयोग भए पुग्ने । तर अचम्म छ मानिस यसमा सन्तुष्ट हुनै सक्दैन ।
मानवीय भावनाको कुरा गर्ने हो भने ऊ आफू विशेष हुन चाहन्छ । जुन क्षेत्रमा पनि अग्रपंक्तिमा उभिन चाहन्छ । सायद ऊ आफूलाई समाजको महत्वपूर्ण तत्वको रुपमा स्थापित गर्न चाहन्छ । सबैको ध्यान आफूतर्फ स्थापित गर्न चाहन्छ । यो उसको अस्तित्व रक्षा हो वा महत्वाकांक्षा, यो कुरा व्याख्या गर्नेहरुले आफ्ना–आफ्ना तर्कका भरमा आफ्नै तरिकाले गर्लान् । तर बाटो अप्ठ्यारो रोजेको हो मान्छेले ।
त्यसैले मानिसले सफलता पाउन त्यति सजिलो छैन । उही काम सँगै गर्दा पनि सबैको स्तर एकै हुँदैन । कसैले सफलता हात पनि पार्छन् तर कति धेरैले या त अरुको सफलतामा सन्तोष गर्नुपर्छ या त ईष्र्या पालेर जीवन बिताउनुपर्छ । सायद मानिस एकोहोरो सोचले ग्रस्त छ । उसले सुख, सुविधा, सफलता, सम्मान आदि त खोज्छ तर सन्तुष्टि खोज्दैन । यो उसको बुद्धिमत्ता पनि हुनसक्छ ।
किनभने अरु धेरै वा थोरै पाइन सक्छन् तर सन्तुष्टि पाइने होइन । त्यसकारण नपाइने कुरामा किन समय बर्बाद गर्नु ! म फेरि अलग धारमा पुगेको छु । मलाई इतिहास बनाउनु छैन, सफलताको परिमिति नै छैन । सुख–सुविधाको सीमा छैन । त्यसकारण मैले जति पाएको छु त्यतिमा सन्तुष्ट हुन सक्नुपर्छ । हिजो पनि मैले विशेष केही गर्न सकेको होइन । यो मैले गरेको भनेर सार्वजनिकरुपमा दावी गर्ने त्यस्तो विशेष विषय मैले भेटाएको छैन । गर्न सक्ने बेलामा समेत नगर्ने वा नसक्नेले अब महत्वाकांक्षा पाल्नुहुँदैन ।
कुनै विशेष आकांक्षा पनि राख्नुहुँदैन । सामान्य जीवन बिताउनलाई पुगेकै छ । यसैलाई सबै कुरा मानेर सन्तुष्ट हुनुपर्छ । तर्क आफ्ना–आफ्ना हुन्छन् । एउटा वार्ता सम्झन्छु जसमा म पनि सहभागी थिएँ । एकजना व्यापारीले कमाएको कुरा चल्यो । उनको पहिलेको स्थिति, कमाई सँगै फेरिएको स्वभाव आदि कुरा चले । हामीमध्ये एकजनाले तर्क गर्नुभयो– ‘जति कमाए पनि एकैपल्ट दुई जोर लुगा लगाएर हिँड्ने होइन, दुई पेट खाने होइन ।
हामी पनि त एकपेट खाएकै छौं , एक जोर लगाएकै छौँ ।’ यो तर्कले सबैलाई हँसायो र विषयको अन्त्य पनि गरायो, त्यतिबेलाका लागि । आज पनि सम्झन्छु उहाँलाई । सन्तुष्ट हुने उपाय आफूले खोज्नसक्ने हो भने भेटिन्छ । म आफू जे छु त्यसमा नै त्यो उपाय भेट्न सकिन्छ । तनाव त आफूलाई अरुसँग तुलना गर्दा नै हुने हो ।
तर पनि मानिस तुलना गर्न नै चाहन्छ र आफू अलि राम्रो परिवेशमा भएको देख्ने वा भोग्ने महत्वाकांक्षा पालेरै बसेको हुन्छ । हुन त महत्वाकांक्षा नभए प्रगति हुँदैन । यो मैले नै पनि कतिपल्ट भनेको छु र लेखेको छु । प्रगति हुनैपर्छ । गर्नैपर्छ । यसमा सम्झौता गर्न सकिन्न तर सन्तुष्टि पनि त पाउनै पर्छ । नत्र जीवन सधै पीडाको कारण मात्र हुन्छ ।
२०७७ फागुन १ गते
कहिलेकाहीँ मैले आफूलाई अरुसँग तुलना गर्छु । यो एकदमै कम हुन्छ तर हुन्छ । यस्तोमा मैले सधै आफूलाई कमजोर नै पाउँछु । तैपनि आफ्नो कमजोरीलाई चिन्ताको विषय भएको पाएको छैन ।
त्यहाँ पनि निरपेक्ष नै भएको जस्तो लाग्छ । आज अलि फरक सोच मनमा छ । यही निरपेक्ष हुने स्वभावले मैले जे–जस्तो प्रगति गर्न सक्थे वा गर्नुपथ्र्यो त्यो गर्न नसकेको हो कि ! अथवा अपेक्षित प्रगति गर्न नसकेर निरपेक्ष स्वभावको भए कि ! यसको निक्र्यौल त मसँग छैन तर यस्तो सोच कमै आउँछ । कहिल्यै आएको थिएन भनेर दावी गर्न त सक्देन तर पहिले आफ्नो बारेमा यसरी सोचेको वा मूल्यांकन गरेको थाहा छैन ।
कतै प्रगतिको लागि महत्वाकांक्षा आवश्यक भएकोसम्म लेखेको जस्तो लाग्छ । नलेखेको भए पनि यो सोच त ममा आफ्नै अनुभवको भरमा पनि छ । महत्वाकांक्षा नराख्नेले प्रगति गर्न सक्दैन । आज महत्वाकांक्षाको स्थान निरपेक्षताले लिएको छ । कतिसम्म निरपेक्ष भने जीवन र मृत्युको बारे समेत म निरपेक्ष छु । कुनै डर, निराशा, सोच केही छैन ।
मेरा कारणले कसैले शारीरिक, आर्थिक, मानसिक समस्या भोग्न नपरास् त्यत्ति मात्रै मेरो अपेक्षा हो । बाँकी जे हुन्छ होस् । मलाई न मर्न पाए हुन्थ्यो भन्ने छ न लामो जीवन पाए हुन्थ्यो भन्ने नै लाग्छ । एउटा कुरामा मर्न म पूर्णरुपमा दृढ सोच बनाएर बसेको छु । मजस्तो सोच नभएकाहरु पनि समय र परिवेशले नियन्त्रण गरिएकै छन् । हुने त्यही हो, जो मैले धारणा बनाएको छु । सामना गर्ने वा भोग्ने भनेको त्यही निरपेक्ष सोच नै हो ।
मानिस आफूले चाहेर जन्मेको पनि होइन । ऊ रोग वा मृत्युलगायत कुनै समस्याको अपेक्षा गर्दैन । सधै राम्रोको अपेक्षा त गर्छ तर त्यो व्यावहारिकरुपमा सम्भव हुँदैन । त्यसैले जीवन सायद निरपेक्ष नै बित्छ । तर पनि जीवन सम्पूर्णको लागि अथवा केही पक्षको लागि भए पनि संघर्ष चलिरहन्छ । कति संघर्ष मैले पनि गरेँ हुँला तर मैले तिनी संघर्षलाई पनि महत्व दिन चाहेन । किनभने मेरो मूल्यांकनमा तिनी स्वाभाविक पक्ष हुन् जीवनका ।
विशेष भन्न वा सम्झन लायक केही गरेको जस्तो लाग्दैन । अरु प्रष्ट भन्दा सामान्य जीवनभन्दा फरक मबाट केही भएकै छैन । तर पनि मैले जीवन गुजारेँ । धेरै र सक्रिय जीवन गुजारेको छु । त्यसकारण यस्तोसम्म भन्न सक्छु । अझै केही त गुजार्न छ । तर त्यो पनि यस्तो बित्छ केही विशेष हुँदैन भन्नेमा म विश्वस्त छु ।
निरपेक्ष सोच भएको व्यत्तिःले केही विशेष गर्दैन । तर यो जीवन दर्शन हो कि व्यावहारिकता ? मेरो आफ्नै सोचबारे म प्रष्ट छैन । आफ्नो जीवनबारे सन्तुष्ट नै छु, त्यत्ति हो । आफू यस्तै भएर होला मैले सन्तुष्टिलाई नै सफलता मान्ने गरेको छु । मलाई थाहा छ सन्तुष्टिको सीमा हुँदैन ।
जस्तो जीवन बित्यो त्यो राम्रो जीवन बितेको भए पनि सन्तुष्ट नै हुन्थे । नराम्रो नै बितेको भए पनि केही उपाय थिएन । नआत्तिएर, नमात्तिएर, नतर्सिएर, नतर्साएर बितेको जीवनलाई सन्तुष्ट मान्नुपर्छ ।