सहरीकरणको नाममा समस्याको चाङ

युवराज शर्मा

दाङ जिल्ला लुम्बिनी प्रदेशको उपत्यका हो । गाउँ नै गाउँले भरिएको पनि जिल्ला हो । यस जिल्लाको सदरमुकाम घोराही बजार हो । जहाँ सरकारी, अर्धसरकारी, गैरसरकारी कार्यालयहरु छन् । सदरमुकाम वरिपरिका जमिनहरुका मालिकहरु कूलबहादुर श्रेष्ठ, सुन्दर गुप्ता, विष्णुप्रसाद श्रेष्ठ (गोठे विष्णु), टेकनाथ गौतम, भरतमणि शर्मा, चिन्तामणि शर्मा र मिनकेतन शर्माजस्ता प्रभावशाली व्यक्तिहरु थिए । आज उनकै वंशजहरुले जग्गाजमिन बेचेर सहरीकरणतर्फ लागेका छन् ।

घोराही बजारको वरिपरिका गाउँहरु फुर्सेखाली, गिठेपानी, मसिना, रझेना, नवलपुर, अम्बापुर, महदेवा, डबरी, चौघेरा, माथि भैसाही, बेलभार, भैसाही, ओखरा, वर्गद्दी, हरिद्वार, घनिबगिया, खरकट्टी, गैरागाउँ, कर्जाही, पनौरा, गुलरिया, पर्सा, बैरबटुवा, जजरागाउँ, पचुर्खा, रतनपुर, सर्रा, झिगौरा, करौँती डाँडा, लेटार, जनकपुर, बडहरा, बास्बोट, बराहबाबा दक्षिणतर्फका गाउँहरुलाई सहरीकरणतर्फ लगिएको छ । त्यस्ता गाउँहरुमा घना बस्ती थियो । मानिसहरु गाउँमा बस्थे । खेतीकिसानी गर्थे ।

उत्पादित अनाज खाएर बेच्थे । रहनसहन स्तरीय थियो । गाउँमा गुजुक्क परेका घरहरु थिए । गाउँमा बिजुली बत्ती, सडक र यातायात थिएन । उत्पादित अन्नपात निर्यात गर्ने वातावरण थिए । घोडा र राँगाहरु ढुवानीका साधनहरु थिए । आर्थिक स्रोत नै अन्नपातको विक्रीबाट प्राप्त हुने रकम नै थियो । जग्गाजमिन धेरै भएका र अन्नपात धेरै हुनेहरुले धेरै धन आर्जन गर्थे ।

उनीहरुलाई साहु, मुखिया, पटवारी, जम्वाल, जमिनदारहरु भन्थे । धनीवर्गका घरहरु गाउँघरमा टिन, पत्थर, खपरा, झिङ्टीले छाउँथे भने सामान्य परिवारले खर, पराल र वनकसले छाएका हुन्थे । गरिब र विपन्नवर्गका परिवारले सिठा, धाइरा, बाँसले बारेर माटोले लिपपोत गर्थे । खरले छाउँथे । घोराही वरिपरि जनजीवनमा थारुहरुको बाहुल्यता थियो ।

काठमाडौं नेपालको राजधानी थियो । दाङका धनीमानी व्यक्तिहरुले राजपरिवार, राण परिवार र सम्भ्रान्त परिवारहरुसँग वैवाहिक सम्बन्ध स्थापना गरेका थिए । त्यस्ता वर्गले काठमाडौं घरबास जोडे । आवत–जावत गर्न घोडा, खटौली प्रयोग गराउँथे । यस काममा थारु जातिका व्यक्तिहरुले धेरै परिश्रम गर्थे । आफूलाई खान लाउन धौ–धौ भए पनि जमिनदारहरुको सेवा गर्नु थारु जातिको कर्तव्य थियो । त्यो प्रथामा जमिनदारहरुबाट खाना खर्च पाउँदैनथे । आफ्नै खर्चमा काम गर्नु पथ्र्यो ।

थारु जमिनदारहरुले थारुहरुलाई धेरै दुःख दिने गरेको भनाइ वृद्धवृद्धा थारुहरुको यद्यपि गाउँघरमा सुनिन्छ । यस्तै वर्गका व्यक्तिहरुलाई सर्वहारा नामदिएर विद्रोह गाउँघरमा सुरु भयो । त्इसबाट त्रसित भएर घोराही बजारलाई सुरक्षात्मक स्थान मान्न थाले । त्यहाँ सरकारी संस्थाहरु भएको र सुरक्षाका निकायहरु भएपछि संरक्षणको भरोसामा घोराही बजार सहरीकरणतर्फ अगाडि बढेको छ ।

माओवादीहरुको विद्रोह समयमा उनीहरुले सर्वहाराहरुलाई आफ्नो आश्रय स्थल बनाएका थिए । गाउँमा खानलाउन धौ–धौ भएका व्यक्तिहरुका घरमा माओवादीहरुलाई खुवाउनुपर्ने वाध्यता भयो । रात परेपछि ढोका ढकढक्याउन सलह आएजस्तै आउँथे, खान्थे, बास बस्थे र सबेरै बाटो लाग्थे । उनीहरले गाउँघरमा सर्वहारावर्गको हितमा काम गरेका छौँ भन्थे र उनीहरुलाई उचाल्थे, भड्काउँथे ।

बास दिएको वहानामा सुरक्षाकर्मीहरु आउँथे, डाट्थे, डर, धाक दिन्थे । कतिपयलाई पिट्थे पनि । यस्तो वातावरण गाउँमा भएपछि गाउँ छोड्दै सहरबजारतर्फ घर बनाउनेहरुको लहर चल्यो । घोराही बजार सहरीकरणतर्फ अगाडि बढ्यो । २०५७ सालदेखि बिना प्लानिङ घरघडेरी खरिद गर्ने लहर आयो । माओवादी बनेकाहरु पनि २०६२ सालमा युद्ध विराम भएपछि घरघडेरी कारोबारतर्फ लागे ।

जग्गा प्लटिङ गर्ने र कमाइ गर्ने लहर ल्याए । उनीहरुले रुख कटानीदेखि जग्गा प्लटिङका काम गर्दै आएपछि घोराही बजार सहर बन्न लाग्यो । पहाडबाट मानिसहरु बसाइ सर्दै दाङ झर्न लागे । गाउँमा बसेर मिहिनेत गरे पनि खान लाउन समस्या भयो । सहर बजारमा मकै पोलेर वा नाङ्ले पसल गरेर बस्दा पनि धेरै सुविधा विपन्नवर्गले महसुस गरे । गाउँका सिधासादा व्यक्तिहरुलाई नाता लगाएर बजारमा ठग्ने चलन बस्यो । हिजाका नाङ्गा–भोकाहरु अहिले आलिसान महलमा बसेका छन् ।

त्यत्रो सम्पत्ति रातारात कहाँबाट ल्याए ? प्रश्न गर्छन्, अझै गाउँमा खेतीपाती गरेर बसेका सर्वहारा वर्गले । सहरमा बसेका उनका नातेदारहरुले गाउँमा बसेका आफ्ना आफन्तहरुलाई भन्छन्– यो कमाल माओवादी बनेर कमाएको हो । कसै–कसैकले भन्छन्– माओवादीले लुटेर लुकाउन दिएको धनपैसा, सुनचाँदीको कमाल नै प्रगति हो । वास्तवमा एउटा घर नरित्तिएसम्म अर्काको घर भरिपूर्ण हुँदैन भन्थे, साच्चिकै हो रहेछ । देख्न त पाइयो भन्ने आफन्तहरु पनि देखिएका छन् ।

अहिले यस्ता कुरा ग¥यो भने गरिबवर्गको भए थप्पड खान्छ । धनीवर्गको भए सलामी पाउँछ । गाउँमा बस्नेको मन बदलियो । मानिसहरु सहरतर्फ आकृष्ट भए । धेरै जमिन बेचेर घरघडेरीमा घोराही बजार बस्न लागे । छोरा विदेशी भूमिमा रमाउन थाल्यो । छोराको पसिनाको कमाइमा बुहारीको जीवन सुखमय बित्ने भयो भन्छन्, वृद्धवृद्धाहरु ।

सर्वहारावर्गको उन्नति र प्रगतिका लागि १० वर्ष युद्धमा समय बिताएका युवाहरु आज गाउँघरमा धोवीका कुत्ता घर न घाटको भएका छन् । उनका मालिक नेता बनेकाहरु अहिले चिल्ला गाडीमा घुम्छन् । आलीसान महलमा बस्छन् । मोजमस्तीका दिनहरु होटल र रिसोर्टमा बिताउँछन् । कतिपय व्यक्तिहरु मन्त्री भएर आनन्दको जीवनमा छन् । युद्धबाट बचेकाहरु अपाङ्गताको जीवनमा रोइरहेका छन् । विदुर, विधवा, टुहुराहरु रोइरहेका छन् । उनीहरुलाई सोध्ने कोही छैन ।

गाउँबाट दङाली तछाड र मछाड गर्दै घोराही बजारतर्फ बढिरहेका छन् । पहाडी जिल्लाहरुबाट झर्नेहरु पनि घोराही बजार नै रोजाइको सहर भएको छ । डाँडाकाँडा, खोलाखाल्सा, उजाड भूमि र वनजंगलका किनारहरु पनि घडेरी बनेका छन् । अव्यवस्थित सहरीकरण बन्दैछ– घोराही बजार । उपमहानगरपालिका भए पनि बजार क्षेत्रका सडकहरु भताभुङ्ग भएका छन् । भनिनछ– यो घोराही बजारलाई आधुनिक सहर बनाउँदै छौँ ।

निर्माण कार्य कस्तो हो ? बन्दाबन्दै भत्कँदै जाने । कस्तो इन्जिनियरिङ, ठेकेदार, कस्ता कामदार र प्रयोग सामग्रीहरु छन्, अनुसन्धान भएन र गरिएन पनि । बजार व्यवस्था हेर्दा जतासुकै छाडापन छ र मूल्य वृद्धि नियन्त्रण बाहिर छ । यातायातका साधनहरु सडकभरि छन्, छाडापन छ । दुर्घटनाहरु घटिरहन्छन् । यस्ता कार्यहरुलाई बहादुरीपन ठान्ने वर्ग पनि बढेको छ ।

नियन्त्रण, निर्देशन, अनुगमन र दण्ड जरिवाना गरेको पाइन्न । कतै जरिवाना ट्राफिकले ग¥यो भने उसले गाली खानुपर्छ । पैदलयात्रुहरु हिड्ने बाटोमा सामानको थुप्रो छ । नगर प्रहरी के कामका लागि हो ? नागरिकलाई ज्ञान छैन तर भनिन्छ, उपमहानगरपालिका । स्थानीय तह पनि एउटा सरकार हो । जो नागरिकसँग सम्बन्धित हुन्छ । सदरमुकाम सबे नागरिकको केन्द्रविन्दु पनि हो ।

घोराहीदेखि सिमलतारासम्म सडक पिच भएको छ । जो घोराही उपमहानगरपालिकाको वडा नं. १ पर्छ । त्यस सडकमा सिमलतारादेखि तुलसीपुरसम्म नियमित सेवा चलाउनु पथ्र्यो । त्यसतर्फ यातायतका संस्था र समितिहरुको ध्यान गएको छैन । उपमहानगरपालिकाले भ्यान केन्द्रित गराउनु पर्दथ्यो, गराइएन । यातायातका साधनहरु नियमित चल्ने वातावरण भएन, गराइएको पनि छैन । स्थानीयबासी सार्वजनिक यातायातको अभावमा चर्को महँगो भाडामा टेम्पो यात्रा गर्न यात्रुहरु वाध्य भएका छन् ।

घोराही बजार सहरीकरणतर्फ ढल्केको भए पनि सडक, यातायात, शिक्षा, स्वास्थ्य र कृषि उपजहरुको बजारीकरणका लागि किसानहरु समस्यामा छन् । जनप्रतिनिधिहरुमा जवाफदेही र पारदर्शीता हुनुपर्छ ।