बैँस जोगाउन दुई हजार बैँस …

खेमराज रिजाल
तुलसीपुर, ९ चैत । तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानीमा मुहानको बैँस फिराउन मुहान क्षेत्रमा बैँसका विरूवा रोप्ने बताएको छ । ३०औँ विश्व पानी दिवसका अवसरमा मुहान क्षेत्र सातबासमा आयोजना गरेको सर्वदलीय÷सर्वपक्षीय अन्तक्र्रिया कार्यक्रममा संस्थाले सो उद्घोष गरेको हो ।

मुहानहरू सुक्दै गएको अवस्थामा सबैभन्दा पहिले पानीको सञ्चिति मुहान क्षेत्रमा बढाउन यही वर्षको असार महिनामै कम्तिमा २ हजार बैँसका विरूवा रोपिने र ती विरूवाहरूलाई हुर्काउने तुलसीपुर खानेपानी तथा सरसफाई संस्थाका सचिव सेवकराम भण्डारीले उद्घोष गरे । संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा विषय प्रवेश गराउने क्रममै सचिव सेवकराम भण्डारीले सो उद्घोष गरे ।

‘अध्यक्षलगायत सबै कार्यसमितिको सल्लाहमा हामीले पानीका मुहानको बैँस फिराउन कम्तिमा २ हजार बैँसका विरूवा रोप्नका लागि जिल्ला वन कार्यालयलाई आग्रह गरिसकेका छौँ, विरूवा वन कार्यालयले उपलब्ध गराउनेमा हामी विश्वस्त छौँ’, सचिव भण्डारीले भने ।

वनस्पती विज्ञान र वातावरणीय विज्ञानले बैँस विरूवाले मुहान जोगाउन निकै मद्दत गर्ने प्रमाणित गरिसकेको अवस्थामा आफूहरूले पनि यो अभियान थाल्ने सबै तयारी भइरहेको उनको अभिव्यक्ति थियो । आउँदो वर्षात सुरु भएलगत्तै वन कार्यालय सँगको समन्वयमा तुलसीपुर खानेपानी क्षेत्रका मुहानहरूमा ती विरूवाहरू रोप्न संस्था आतुर रहेको उपाध्यक्ष सीताराम शर्माले बताए । अन्तत्र्रिmया कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष शर्माले नेपालको संविधानले दिएको खानेपानीसम्बन्धी मौलिक हक जनतालाई उपलब्ध गराउन संस्थाले अहोरात्र पहल गर्ने पनि उनले स्वागतसँगै अभिव्यक्ति राखे ।

त्यसो त तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष यमकान्त भण्डारीले खानेपानीको चुनौतीलाई सबैको साथ र सहयोगले निराकरण गर्नेमा आफू विश्वस्त रहेको बताए । यसका लागि मुहान संरक्षणतर्फ संस्थाको ध्यान केन्द्रित हुने र मुहान क्षेत्रमा चुनढुङ्गा उत्खनन्को काम हुनै नदिने पनि उनले प्रतिबद्धता व्यक्त गरेका थिए । ‘मुहान क्षेत्रमा चुनढुङ्गा उत्खनन् रोक्न हाम्रो सवल प्रयास हुनेछ, यसमा हामी कुनै खाले आर्थिक, सामाजिक, राजनीतिक एवं व्यावसायिक प्रलोभनमा पर्ने छैनौँ’, पानी दिवसको अवसरमा आयोजित अन्तत्र्रिmया कार्यक्रममा अध्यक्ष भण्डारीले भने । उनले आफ्नो प्राण रहेसम्म मुहान क्षेत्रमा चुनढुङ्गा उत्खनन् हुन नदिने पनि अभिव्यक्ति दिए ।

विश्व समुदायमा पानीको संकट सन्निकट भइरहेको अवस्थामा जलस्रोतको सबैभन्दा धनी मुलुक ब्राजिलको रियो दी जनरियोमा विश्व पानी सम्मेलन भएको थियो । त्यसमा पानी वैज्ञानिकहरूले पानी संकट चुलिँदै जाने उद्घोष पनि गरेका थिए । त्यसै दिनदेखि २२ मार्चलाइ विश्व पानी दिवसका रूपमा मनाइन थालिएको थियो । त्यसै अनुरूप तुलसीपुर खानेपानीले पनि मुहान क्षेत्रमै पुगेर पानी दिवस मनाएको थियो । त्यसपछि पानी वैज्ञानिकहरूले अब हुने तेस्रो विश्वयुद्ध पानीकै विषयमा हुने उद्घोष समेत गर्दै पानीका मुहान जोगाउन र पानीको समानुपातिक वितरणमा सचेत हुन चेतावनी समेत दिएका थिए । तर, पछिल्लो समयमा अन्य विकासको प्रतिस्पर्धामा पानीका मुहान संरक्षणका सवालमा तीनै तहका सरकार गम्भीर छैनन् ।

पछिल्लो तीन दशकको तथ्याङ्क हेर्दा यहाँ वार्षिक वर्षातको दर पनि कम हुँदै गएको छ । वैज्ञानिक सिद्धान्तअनुसार वर्षातको पानी सोही क्षेत्रमा कम्तिमा पनि दश प्रतिशत संश्लेषण हुनु पर्दछ । तर, बढ्दो सहरीकरणका कारण वर्षातको पानी पनि बगेर तल तराईमा झर्न विवश छ । पहाडी क्षेत्रमा पानीको संश्लेषण गर्ने चुनढुङ्गा हो तर पछिल्लो समयमा यहाँका स्थानीय पालिकामध्ये ६ वटा पालिकामा चुनढुङ्गा उत्खनन्को लाइसेन्स दिइएको छ ।

दाङ जिल्लामा मात्रै ६ वटा सिमेन्ट उद्योगहरू सञ्चालनमा आइसकेका छन् । अन्य बहुराष्ट्रिय कम्पनीहरू पनि चुनढुङ्गाको आशामा यहीँकै सिमेन्ट उद्योगहरूमा लगानी गर्न उद्धत देखिएका छन् । चाइनाको हंोंसी सिमेन्टले पनि यहाँको चुनढुङ्गा उत्खनन्मा आकर्षण बढाएको छ । यो अवस्थाले पानी संकट चुलिने देखिएको छ ।
हामी मुहान जोगाउन हातेमालो गर्दछौँ

यसैबीच पानी दिवसको अवसरमा तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका सहभागीहरूले पानीका मुहान जोगाउन आफूहरू प्रतिबद्ध रहेको र हातेमालो गर्न तयार रहेको बताएका छन् । सो अवसरमा तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकी महिला सदस्य गीता महताराले महिलाहरूलाई सबैभन्दा बढी पानीको महत्व हुने भएकाले महिलाले उठाएका समस्यालाई सम्बोधन गर्न संस्था नेतृत्वलाई आग्रह गरेकी थिइन् । उनको अभिव्यक्ति पानीलाई खेर नफालेर उपयोग गर्न महिलाहरू सक्षम रहेको पनि थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका मीनराज भण्डारी, एकीकृत समाजवादीका दरिभान रोका, नेपाली कांग्रेसका रञ्जन गौतम, नेकपा क्रान्तिकारीका मनबहादुर वली, नेकपाका नगर इञ्चार्ज विकास वली, राजमोका दुर्गा भण्डारीलगायत सञ्चारकर्मीहरूले पनि पानीका मुहान जोगाउनेतर्फ एकीकृत पहलको आवश्यकता रहेको बताएका थिए । साथै पानीको समस्या संविधानको मौलिक हकमै सुनिश्चित भएको भन्दै सफा र स्वस्थ पानी उपलब्ध गराउन सहभागीले तुलसीपुर खानेपानीलाई आग्रह गरेका थिए ।

तुलसीपुरमा खानेपानीको स्रोत खोजी गरी सहलगानीमा योजना ल्याउन आफूहरूले पहल गर्ने समेत प्रतिबद्धता जनाएका थिए । सो अवसरमा मुहान क्षेत्रको अवलोकन गराइएको थियो भने मुहान संरक्षणका भावि योजनाका विषयमा पनि खानेपानीका सचिव सेवकराम भण्डारीले सबैलाई जानकारी गराएका थिए ।