प्रेम के र किन ?

नारायणप्रसाद श्रेष्ठ
प्रेम जीवनलाई उत्तम गति प्रदान गर्ने आत्मिक शक्ति हो । प्रेमको उद्देश्य त्याग र समर्पणमा आधारित रहेको हुन्छ । प्रेम त्यो हो, जहाँ आशक्ति र प्राप्तिको विषय रहेको हुँदैन । प्रेम आशा र भरोसाको त्यो दियो हो, जसले जीवन र जगतलाई एक सूत्रमा बाँधी जीवनलाई चलायमान बनाएको हुन्छ । पाउने र गुमाउनेभित्र प्रेमको व्याख्या हुँदैन । यो कसैले चाहेर वा जवर्जस्ती हुने कुरा पनि होइन ।

प्रेम बजारमा बेच्ने वस्तुभाउ पनि होइन । न त यसले मोलमोलाई गर्न नै जानेको हुन्छ । यो त पवित्र गंगाजलसरह स्वच्छ र पवित्र भएर बगिरहने उत्तम र गतिशील जीवनको अपरिहार्य आवश्यकताभित्रको अदृश्य शूक्ष्मतत्व हो । यो मानिसको चाहना र सोचाई विपरीत पनि रहेको हुन्छ । यो दुई आत्माभित्र उब्जने पवित्र विचारधाराको संगम पनि हो । यो न त जवर्जस्ती खोजेर पाइने चिज हो, न त यो कसैको स्वार्थमा कहिल्यै लुटपुटिने तत्व नै हो । यो त जीवनको गतिशीलतालाई ऊर्जा दिने अदृश्य आत्मिक तत्व हो ।

अन्तर्आत्माभित्र लुकेको विश्वास हो । प्रेम पवित्र आत्माभित्र र मानवीय आचरणभित्र प्रज्ज्वलित भइरहने सत्य हो । यो मन, वचन र कर्ममा छिपेको हुन्छ । प्रेम, डर, त्रास, धम्की र शक्तिमा आशक्ति राख्दैन । यो त कर्मभित्र लुकेको सत्य हो । यसले कसैसँग पाउने र गुमाउने आशा राखेको हुँदैन । यो त स्वच्छ र सुगन्धित वातावरणमा रमाउने र आत्माबीच ल्याउने न्यानो सम्बन्धको प्रतिक हो । यो अनारको दानाभित्र रहेको रसिलो, पोसिलो रसशक्ति हो । चन्द्रमाको शितलतामा रमाउने तत्व हो ।

सृष्टिको इतिहासमा प्रकृतिको नियमअनुसार हुर्केका प्राणीहरुलाई बचाउने आधार हो, प्रेम । विश्वास र भरोसामा आधारित जीवनशैलीभित्र रहेको अनुशासित र व्यावहारिक जीवनशैलीलाई सार्थकता प्रदान गर्ने उत्तम विकल्प हो । तसर्थ प्रेमले ल्याउने सकारात्मक आचरणलाई मनन् गरी सत्य र यथार्थमा आधारित प्रेम गर्ने बानी गर्नु–गराउनुपर्दछ ।

मन चंगा त कठौतीमा गंगा । मन जब चंगासरि हावामा कावा खानेगरी स्वच्छन्दतापूर्वक शयर गर्ने अवस्थामा पुग्दछ तब त्यसबेला उसलाई रोग, भोग, चिन्ता, भय केही रहँदैन । उ स्वतःस्फूर्तरुपमा आफूलाई प्रदर्शन गर्न सक्षम हुन्छ । त्यसरी नै प्रेम त्यो वस्तु हो, जसले मनको पवित्रताभित्र आफूलाई समाहित गरी अरुप्रति आदर–सम्मान र भावनात्मक सम्बन्ध बनाउन पुग्दछ । भनिन्छ, प्रेम वासनामा लुकेको यथार्थमा नभई चंगारुपी मनको पवित्रतामा लुकेको हुन्छ ।

तसर्थ प्रेमको यही गतिशीलतालाई बुझेर मानिसले एकअर्काप्रति सम्मान, इज्जत बढाउन तथा एकअर्काप्रति आकर्षित हुने गरी सच्चा र पवित्र भाव प्रदर्शन गर्न सक्षम हुनुपर्दछ । अन्यथा जीवनले प्राप्त गर्न खोजेको कुनै पनि विषय अप्राप्तितिर मोडिनसक्छ । अर्को कुरा मानव जीवन प्रेमको त्यो सागर हो, जहाँ डुबुल्की मार्न जानियो भने जीवन धन्यमात्र होइन सफल पनि हुन्छ अन्यथा पीडा, कष्ट र संघर्षभित्र जीवन सधै रुमलिइरहन्छ ।

त्यसैले प्रेमले ल्याउने अनुशासित जीवनशैली, एकअर्काप्रतिको भरोसा र सामिप्यता तथा मानव–मानवबीचको अन्तर्सम्बन्ध, विपरीत लिंगबीचको आपसी सम्बन्ध र विश्वास प्रेमको रसिलो धागोले सधै बलियोसँग गाँसिरहनुपर्दछ । झुट, फरेब र आशक्तिमा होइन, सत्यको धरातलमा आफूलाई प्रदर्शन गर्न सक्षम हुनुपर्दछ ।

प्रेमको उद्देश्य त्याग हो । विषय वासनामा नलागी निस्वार्थ र चाहनाविहीन हुने प्रेम नै यथार्थ प्रेम हो । त्यसैले प्रेमको परिभाषाको पहिचान गरी त्यसलाई मूर्तरुप दिन जीवन र जगत्को पहिचान गर्न सक्षम मानवजातिले यसको गहिराईमा पुगेर सत्य प्रदर्शन गर्नुपर्दछ । मानव यदि ऊ शक्तिशाली छ, आफूले गर्न चाहेको गर्न सक्दछ तर उसभित्र प्रेमरस छैन भने ऊ खोक्रो मानव अस्तित्वमा गणना हुन पुग्दछ । ज्ञानी, विवेकीजस्तो देखिए पनि ऊ अरुको श्रद्धाको पात्र बन्न सक्दैन । उसले जे–जति आडम्बरी विचार र कर्म देखाउँछ त्यो केवल उसको स्वार्थको जालोले जेलिएको हुन्छ । यसले मानव आचरणमा विकृति ल्याउँछ ।

विकृतिभित्र गरिने प्रेमले स्वभावमा नकारात्मक भाव जागृत गराउँछ फलस्वरुप मानव अन्तर्मात्माभित्र लुकेको पवित्र भावना कुण्ठित हुन पुग्दछ । त्यसपछि स्वार्थ र अहंकारको दब्दबा बढ्न थाल्दछ । त्यसैले प्रेम पवित्र भावनामा मुखरित हुने गरी आचरण र व्यवहारमा गरिने स्नेह र प्रेमलाई सकारात्मक प्रवृत्तिउन्मुख गराउन स्वयंले अन्तर्आत्माको सत्यलाई बुझी प्रेम प्रदर्शन गर्नुपर्दछ । तसर्थ आत्माको स्वधर्मभित्र परिभाषित भई जीवन र जगतलाई एकसूत्रमा बाँध्ने प्रेमको यथार्थ धरातलमा आफूलाई प्रस्तुत गर्नुपर्दछ ।

स्वतःस्फूर्तरुपमा रहने जीवनको मिठास र अतिन्द्रीय सुख, आनन्दलाई आत्मानुभूति हुने गरी प्रेम प्रदर्शन हुनुपर्दछ । प्रेम मानवीय आकांक्षा, अपेक्षा, अभिलाषाभित्र रहेको देखिए पनि जीवनको उत्तम गति निर्धारण गर्ने अन्तर्आत्माभित्रको शूक्ष्मतत्वभित्र रहेको विशाल बटबृक्षसरह परिभाषा रहने स्थितिलाई मूल्यांकन गरी यसले ल्याउने परिवर्तन, सकारात्मक भाव, विश्वास र इमानदारिता तथा अठोटलाई आत्मसात् गर्दै अगाडि बढ्ने दृढता जागृत गर्नुपर्दछ । सृष्टिको इतिहासलाई जीवन्त राख्दै पुरुष र नारीबीचको सम्बन्धले स्वीकारेको जीवनचक्रलाई प्रेमको कसिलो डोरीले बाँध्नुपर्दछ ।

प्रेमको पवित्रताभित्रको सम्बन्धले अहिले घर, समाज, राष्ट्र र विश्वसमेत एउटै धरातलमा रहन–बस्न सकेका छन् । आपसी सद्भाव र विश्वास बढेको छ । यी सबै प्रेमको परिभाषाभित्र देखिने सकारात्मक पक्ष हुन् । त्यसैले जीवन र जगत्लाई आदर्श गतिउन्मुख बनाउने प्रेमको पवित्रतालाई सबैले बुझ्न सक्नुपर्दछ । आशक्ति र स्वार्थभित्र अल्झिने देखावटी र बनावटी प्रेम गर्नु भनेको जीवनलाई पतित बनाउनु हो । पतित मानसिकताले प्रेमको परिभाषा कहिल्यै बुझ्न सक्दैन ।

सोच र चिन्तनमा सधै नकारात्मक प्रवृत्ति जागृत मात्र गरिरहन्छ । यसले न त दृष्टिकोणमा सकारात्मक भाव जागृत नै गर्छ, न त सामाजिक सद्भाव बटुल्न सक्दछ । यस्तो हुनु भनेको मानसिकता असन्तुलन जनाउनु हो । हुन त अहिलेको सामाजिक संस्कारभित्र हुर्केको अहंकार प्रवृत्तिले मानवीय इच्छा र आकांक्षामा धेरै परिवर्तन ल्याएको हो । प्रेमको ढोंग रची मानव बेचबिखन भइरहेको अवस्था छ । हिंसाका घटना घटिरहेका छन् ।

प्रेमलाई आशक्ति र इच्छातृप्तितिर आकर्षित गराइरहेको अवस्था छ । यस बेलामा प्रेमको आदर्शको कुरा गर्दा कता–कता अपच हुने स्थिति देखा नपर्ला भन्न सकिन्न । प्रेम के हो ? हामी थाहा पाउँछौं भनी दम्भ प्रदर्शन गर्ने मानवीय स्वभावले आदर्शका कुरा नसुन्ने अवस्था पनि विद्यमान छ । तर पनि संसार बाँँच्ने आधारको रुपमा रहेको प्रेमको पवित्रतालाई लत्याउनु भनेको जीवनले पतनको बाटो समाउनु हो ।

त्यसैले सत्यलाई हृदयंगम गरी जीवन र जगतलाई हेर्ने र बुझ्ने दृष्टिकोणमा पवित्रता झल्काउन जरुरी हुन्छ । तसर्थ प्रेमविनाको जीवन सार्थक नहुने कुरालाई बुझी प्रेम छ त घर, समाज, संसार छ भन्ने सोच बृद्धि गरी जीवनलाई प्रेममय बनाउन जरुरी छ । प्रेम जीवनलाई सहज गति निर्धारण गर्ने उत्तम विकल्पमात्र नभएर अनिवार्य आवश्यकताभित्रको पवित्र धारणा भएको यसलाई बुझ्नुपर्दछ । प्रेम छ त जीवन छ यदि प्रेम नहुँदो हो त जीवनचक्रको इतिहास उहिल्यै शून्यमा परिणत भइसकेको हुन्थ्यो ।

यस कुरालाई सोचेर प्रेम प्रदर्शन गर्दा निस्वार्थ र सकारात्मक भाव जागृत हुने किसिमले प्रत्येक जीवात्माले आफूलाई प्रस्तुत गर्नुपर्दछ । आमाको मायाभित्र रहेको आशक्तिविहीन प्रेमको पवित्रताले नै समाजले गति लिएको सत्यलाई बुझेर आमाले देखाएको त्याग र समर्पणमा आधारित निस्वार्थ प्रेमको पवित्रता नै जीवनचक्रको इतिहास हो भन्ने बुझी प्रेममय वातावरण बनाउन हामी लागिपरौँ । यसैमा हामी सबैको कल्याण छ । यो हाम्रो जिम्मेवारी पनि हो ।