तुलसीपुर, ८ चैत । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले पार्टीको आधारस्तम्भ भनेको गाउँ टोल भएको बताएका छन् । नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले चुनाबका तिता कुरा बिर्सर हरेक घर–घर र टोल–टोलमा पुग्न आग्रह गरे ।
‘हिजो केही तीता नमिठा कुराहरु भएका होलान अब त्यसलाई आत्मसात् गर्दै हरेक जनताको घर–घरमा आफ्नो कुराहरु लगेर जानुहोस्’, महतले भने । स्थानीय निर्वाचन जितेपछि मात्रै प्रदेश र संघको निर्वाचन जित्न सहज हुने हुँदा त्यसका लागि हरेक घर र टोलमा पुगेर सबैका कुरा सुन्नुपर्ने उनको भनाइ थियो । ‘कांग्रेसलाई कसरी बिजयी गराउने भन्ने एउटै अर्जुनदृष्टि राखेर आफ्नै गाउँ टोलमा खटिनुहोस्, यतिखेर अन्त कतै नजानुहोस्,’ महतले भने– ‘आन्तरिक निर्वाचनमा धेरै आकांक्षी हुँदा प्रतिष्पर्धा स्वाभाविक हो र त्यसमा मैले पनि चुनाब हारेको हुँ । अब त्यसैमा रुमल्लिरहनुभएन ।’
निर्वाचन नजित्ने आधार खडा गाउँ टोलबाटै गर्नुपर्ने भन्दै नागरिकका सुख–दुःखमा कांग्रेसले सहयोग गर्नुपर्ने बताए । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महतले नेपालका कम्युनिष्टहरुले आफ्ना योजनाहरु फेल भएपछि एमसीसीलाई नकापको रुपमा प्रयोग गरिरहेको बताए । प्रचण्ड, महरा, भीम रावल कोही पनि एमसीसीको प्रक्रियादेखि बाहिर नरहेको र उनीहरुले नै पाँच बर्ष लगाएर मन्त्रिपरिषद्बाट निर्णय गरे पनि आज झुट बोलिरहेको नेता महतले बताए ।
‘निर्णय त उहाँहरु आफैले गरेको हो र आज भीम रावलहरुले आफै चर्को स्वरमा राष्ट्रघात भो भनेर चर्को कुरा गरिरहेका छन्,’ महतले भने– ‘उनीहरु एकोहोरो बोलिरहँदा झुटोको थुतुनो मात्रै चल्या–चल्यै जस्तो भएको छ । सत्य थाहा पाउने आफूहरु चुप लागेर बस्दा पनि झुटो कुरा गर्नेहरु हाबी बन्न खोजेका छन् ।’
अमेरिकाले ६० अर्ब अनुदान सहयोग दिएको र त्यो नेपालले नै चाहेको क्षेत्रमा खर्च हुने नेता महतले दाबी गरे । त्यो सहयोग रकमले कपिलबस्तुदेखि दाङ हुँदै बाँकेको सीमानासम्म सडक तीन सय चार किलोमिटर, तीन सय पाँच किलोमिटर ट्रान्समिटर लाइन निर्माण गरिने महतले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले स्थानीय चुनाव पार्टीको लागि जग समान रहेको भन्दै कांग्रेसका उम्मेदवारलाई बिजयी बनाउन एकढिक्का भएर लाग्न आग्रह गरे ।
‘आउनुहोस् हिजोका तीता कुराहरु भुलेर हातेमालो गरौं र अफवाह फैलाएर राजनीति गर्ने कम्युनिष्टहरुलाई सबक सिकाउनुपर्छ ।’ अर्का केन्द्रीय सदस्य राजिबबिक्रम शाहले कांग्रेसलाई घर–घर र गाउँ–गाउँमा पु¥याउने गरी सबै लाग्नुपर्ने बेला आएको बताए ।
कार्यक्रम तुलसीपुरका नगर सभापति सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति शंकरप्रसाद डाँगी, महाधिवेशन प्रतिनिधि सुशीला सुवेदी, जनप्रतिनिधिको तर्फबाट वडा नं. ७ का वडाध्यक्ष टोपबहादुर केसीलगायतले सम्बोधन गरेका थिए । नगर उपसभापति गौरव सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर सचिव बिमल पौडेलले गरेका थिए ।