सडक मर्मत गरेर गाडी चलाऊ : नागरिक समाज

दाङ, ८ चैत । नागरिक समाज दाङले घोराही–मुर्कुटी सडक तत्काल मर्मत सम्भार गर्न माग गरेको छ । नागरिक समाज दाङको सोमवार घोराहीमा बसेको बैठकले कालोपत्रे गरेर सडक महिना दिन नपुग्दै उप्किएपछि कालोपत्रे गरेर टिप्पर चलाउने सहमति भए पनि कालोपत्रे नगरेर सडकमा टिप्पर चलाउन सुरु गरिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएका जनाएको हो ।

सडक प्रभावित क्षेत्रका प्रतिनिध, निर्माण व्यवसायी र सिमेन्ट उद्योगका बीच जिल्ला प्रशासन कार्यालयमा भएको सहमति कार्यान्वयन गरेर मात्र टिप्पर चलाउन माग गरेको नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले बताए ।

उनका अनुसार त्यसैगरी जिल्लाको प्रमुख सडकका रुपमा रहेको घोराही–तुलसीपुर फोरलेन सडकको निर्माणको काम लामो समयदेखि रोकिएको भन्दै यथाशीघ्र सडक निर्माणको काम सुरु गर्न माग गरेको छ । बैठकले पछिल्लो समय भएको महंगी नियन्त्रण गर्न समेत सरकारसँग माग गरेको छ । उपभोग्य बस्तुहरुमा भएको महंगीले जनता मारमा परेको भन्दै जनताले भोग्दै आएको महंगीलाई घटाउन समेत माग गरेको बैठकपछि सचिव श्रेष्ठले बताए ।

उनका अनुसार बैठकले केही बर्षअघि सर्वोच्च अदातलले निर्वाचनमा नो भोटको व्यवस्था गर्न निर्वाचन आगोगलाई परमादेश जारी गरेको भए पनि त्यो व्यवस्था नगरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । नागरिक समाज दाङका संयोजक केवी मसालको अध्यक्षतामा बसेको बैठकले नागरिक समाज दाङलाई आगामी दिनमा कसरी सञ्चालन गर्ने भन्ने बारेमा कार्ययोजना तयार समेत तयार गरेको छ ।