पिर, तीर, शिर र तकदिर

मधुसूदन सुवेदी
केही दिन यता एकजना कलाकारले देशको समसामयिक राजनीतिलाई पिएर राजनीतिको नाममा वा राजनीतिक परिवर्तनको नाममा जनताले अस्ति, हिजो र आजका दिनसम्म नेपालका बालबालिका, युवायुवती, प्रौड, वृद्ध–वृद्धाले सुन्नुपरेको, देख्नुपरेको र भोग्नुपरेको घटना घटनालाई प्रतिनिधिमूलक विषयवस्तु बनाएर गीतिकथा, गीतिव्यथा, टिकटक भिडियो बनाउँदा नेपाली राजनीति आकासमा जति विजुली चम्किए जति आका गर्जियो, जति बादल मडारियो त्यो केवल लाज छोप्ने प्रयास मात्र थियो ।

जनतालाई जनताको अधिकार, जनताद्वारा जनतालाई नै दिलाउने प्रशिक्षण दिएका शीर्ष नेताले आफूमाथिको व्यङ्ग्य, अलोचना, सुझाव, सल्लाह, झल्को, सपना, अतीत, कथा, व्यथा, इच्छा, चाहना भन्दै पोख्दा, लेख्दा, देख्दा वा देखाउँदा सारा सर्वाङ्ग नाङ्गो महसुस गर्नुपर्ने कुनै कुरा छैन । पिर नामक गीतीकथा सन्देश एउटा प्रतिनिधि घटना पात्र मात्र हो । त्यस्ता कैयौ घटना, परिघटना कथा भोगाइ हाम्रो जीवनमा थुप्रै, प्रसस्तै, पर्याप्त र प्रतुर मात्रामा छन् ।

यसलाई सम्बोधन गर्ने, ठेगान लगाउने र जिम्मा लिने कसले ? युद्धका बेला जे पनि हुन्छ र जे पनि भयो भन्दैमा सधैँ तै चुप मै चुप हुनुपर्ने वाध्यता केही छ र ? यसको हिसाबकिताब, लेखाजोखा तथा लेनदेन जीवनभर गर्नुपर्ने होइन र आज एउटा जनताको तर्फबाट देखेका, सुनेका, बुझेका र भोगेका दुःख, पिर, व्यथा भन्दा वा सुनाउँदा ठूलै मान्छेको शिर दर्द हुने । हान्न लागेको तीर, वाण नै जुक्ने, घुक्ने, झुक्ने, चुक्ने किन बन्दै छ ? पिर भित्रको रहस्य र तीर के थियो ? पहिले पिरभित्र जानुभन्दा पहिले पिरको लक्ष्य, उघेश्य के थियो ?

त्यसलाई ठूलाबडाले समीक्षा गर्ने कि नगर्ने ? अर्थात् जनतालाई साथमा लिएर एकखाले अधिकारको लडाइँ लडिरहँदा निश्चित उद्देश्य के थियो ? तीर कसका लागि छोडिएको थियो ? वाण कसका लागि प्रक्षपण गरिएको थियो ? मुठी कसका लागि बाँधिएको थियो ? छाती कसका लागि फैलाइएको थियो ? हात कसका लागि उठाइएको थियो ? खुट्टा कसका लागि चालिएको थियो ? त्यसको गणना त होला नि ? यदि यो यावत कुराहरुका वीर, रामवाण, लक्ष्य, उद्देश्यहरु जनताप्रति नै केन्द्रीकृत थिए भने आज सम्झाएँदा–सम्झाउँदा, स्मरण गराउँदा, झस्कँदा, तर्साउँदा, भन्दा, देख्दा किन तीतो लाग्छ ? यो त भइरहेका कुरा हुन् ।

अब शिरका कुरा गरौँ । सबैलाई आफ्नै टोपी मन पर्छ । सबैलाई आफ्नै टाउको मनपर्छ, सबैलाई आफ्नै मान मन पर्छ । सबैलाई आफ्नै सम्मान मन पर्छ । सबैलाई आफ्नै इज्जत र प्रतिष्ठा मन पर्छ । तसर्थ, जनतालाई जनताले आफ्नोतर्फबाट आजको दिनमा नेपाली भूमिमा नेताको र जनताको शिर दाज्नु चाहिँ, त्यसमा के आपत्ति ? एउटै समयमा एउटै भूमिमा, एउटै माटोमा, एउटै स्थानमा, एउटै थलोमा भातभान्छो गरेको व्यक्ति–व्यक्तिबीचको भिन्नता, फरकता, अनेकता र पृथकता किन प्रष्ट र छताछुल्ल भयो ? मानव उही हो, कर्म उही हो, भूमि उही हो, माटो उही हो, सिद्धान्त उही हो ।

तर आधार, शैली किन फरक ? कसैको शिर दरबारको भिलीमिली, दीपावलीको रात समानको हुने । कसैको शिर आकाशमुनि कालो रातमा, शीत, हावा, घाम, तुषरो, हिउँ, वाफ प्राकृतिक आचलमुनि हुने ? यो कसले बनाएको ? शिर आखिर शिर नै हो । सबैको समान संरचनाले बनेको छ तर कसैको शिर सधैँ उच्च, कसैको शिर कसैको निच ? यो देख्न सक्ने समाजवादी ऐना कस्तो ऐना हो ? यो समाजवादी ऐनामा अनुहार देखिने सीसा प्रयोग भएको छ वा नदेखिने कालीगढ प्रयोग भएको छ ? समाजवादको परिभाषा कसले दिने र लगाउने ? समाजवाद चिन्ने र समाजवाद जान्नेले जनताका अनुहार हेर्नु पर्दैन ? जे भयो भएकै छ, जे भयो हाम्रै कारणले भयो ।

जे भयो राम्रै भयो भनेर नेताहरुले बोल्नु किन प¥यो ? भएको सत्य र तथ्य कुरालाई स्वीकारेर जनतालाई हेर्ने नजरमा परिवर्तन गर्न सकिन्न ? सधैँ आफूलाई सम्वद्र्धन गर्न, गुणगान गाउने, गायत्री जप्ने, ध्यान गर्ने र सबैलाई सधैँ चाकडी गर्नलाई मात्र जनता मान्ने कि जनताको टुप्पी समाएर रिङाउन र घमाउनेलाई समेत असल र सचेत नागरिक मान्ने ? अब गरौँ तकदिरका कुरा, नेपालका कम्युनिस्ट पार्टीले भाग्यवादी सस्त्रलाई मान्दैनन् । नेपालका कम्युनिस्ट घटकले तकदिरवादी शास्त्रलाई मान्दैनन् ।

उनीहरुले मान्छन् त केवल कर्मवादी शास्त्रलाई मात्र । अब नेपालका इतिहासमा २००७ सालदेखि लिएर २०६२–०६३ सालसम्म कर्म गर्ने जनता कि नेता ? आफ्नो जीवनको बलिदानी दिने जनता कि नेता ? अङ्ग–भङ्ग हुने नेता कि जनता ? जनताले के चाहिँ गरेन ? सर्वश्व गुमाएर आजको नेतालाई वनघारबाट सहर, सुकेको झारबाट बालुवाटार पु¥याएको हो कि होइन ? जनताले आफ्नै बलबुता, संघर्ष बलिदानी, संघारबाट सिंहदरबार र सुकेको झारबाट बालुवाटार जाँदासम्म पनि जनताको तकदिर नखुल्ने ? यसको रहस्य के हो ?

यसमा शीर्ष नेताको भनाइ के छ ? तकदिर नेताको मात्र बलियो हो ? तकदिर नेताको मात्र फुरेको हो ? तकदिर नेताका लागि मात्र बनेको हो ? खोई जनताको तकदिर ? आफ्नो गल्ती नै नदेख्ने ? आफ्नो कमजोरी नै थाहा नपाउने ? आफ्नो भुलचुक नै न देख्ने ? जनताले यदाकदा पिर पोख्दा त्यति ठूलो भूइँचालो आउने ? कस्तो अचम्म ! कस्तो गजप, कस्तो विडम्बना ? कमसेकम आजको युग सुहाउँदो चरित्र त देखाउनु प¥यो नि ? जेका लागि जे भनिएको हो र जसका लागि जे लेखिएको हो त्यो गरे हुँदैन ? किन दायाँ–वायाँ लाग्नुप¥यो ? समय स्वतः परिवर्तनशील छ । परिवर्तन चाहँदा नचाहँदै पनि हुनसक्छन् र हुन्छ पनि ।

सामान्य मौसम परिवर्तनलाई लिएर मेरै सफलता र हाम्रै सफलता भनिरहन पनि त जरुरी छैन । परिवर्तन भयो त ल्याउन चाहेको हो, भयो कति नै ठूलो कुरो भयो र यसैलाई लिएर परिवतृन भएकै हो । हामीले गरेकै हो । हामीले ल्याएकै हो । हामीलाई केही पनि नभन । हामीलाई केही पनि नसुनाउ, यो त होइन होला नि ? जनताले आफेनो पिर भन्छ कहाँ ? पिर पोख्छ कहाँ ? पिर सुनाउँछ कहाँ ? पिर घोप्ट्याउँछ कहाँ ? पिर धुन्छ कहाँ ? पिर पखाल्छ कहाँ ? त्यसैले पिरका नाममा आएका हरेक कुरालाई सहन सिक ।

जान्न सिक, सम्बोधन गर्न सिक । पिर आफैमा एउटा चुक हो, उपज जनतालाई प¥यो, भोलि नेतालाई पर्दैन होइन । पिर पिर नै हो । यदि जनताका यी साचो, सत्य, तथ्य, पिरलाई बेलैमा चिन्न, जान्न, मान्न, ठान्न र सम्बोधन गर्न सकिएन भने जनता पोखिन बेर लाग्दैन । पोखिने क्रम जारी छ । अलिकति पोखिँदा नै त्यसलाई बचाएर, सेपेर वा सम्हालेर सफा गर्ने हो भने कलि नपोखिन सक्छ । यदि यो पोखाइलाई बेवास्ता गरेर जहाँको त्यहीँ थुप्रो लगाउन दिने हो भने यो एक दिन पहाडको रुप लिन्छ । जसले गर्दा यो सबैमा र सबैका लागि अप्रिय बन्नसक्छ ।

त्यसैले पिर सबैको समान हो । यो पिरलार्य कसैले पनि कुने बेला पनि कुनै समयमा पनि, आफ्नो पिर, शिर, तकदिर ठानेर यसको उच्च मूल्यांकन गर्न सिकौँ । पिर प¥यो भन्दैमा जथाभावी, नचाहिने वहाना पोख्ने र पिर हो भन्दैमा व्यक्तिगत कुण्ठा हो भन्ने ठानेर पछि लाग्यौँ भने भविष्यमा यसको निकै भारी बन्नेछ । जनता जनता नै हुन् । बुझेर, गरे पनि नगरे पनि कुरो कुरो नै हो । कुरोको चुरो पहिल्याउने काम गरौँ । कुरोलाई ढाकछोप गर्न थप आतंक सिर्जना नगरौँ ।