खेमराज रिजाल
तुलसीपुर, ३ चैत । पार्टीको भर्खरै सम्पन्न चौधौँ अधिवेशनका सन्दर्भमा दाङका १० पालिका र एक सय वडामा एउटामा मात्र वडामा महिलाले नेतृत्वको जिम्मेवारी पाएकी छन्, अघिल्ला निर्वाचनका अभ्यास हेर्ने हो भने दाङका कुनै पनि वडा र पालिकामा महिलाले अध्यक्षको टिकट नै पाउन सकेनन् ।
‘सबैमा हामीले प्रमुख मागेको होइन, कहीँकतै प्रमुखको जिम्मेवारी दिन सकिन्छ नि, केन्द्रीय नेतृत्वले यसलाई गम्भीरतापूर्वक सोच्न आग्रह गर्दछु’, नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ३ को आयोजनामा बुधवार तुलसीपुरमा आयोजित ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका क्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै महिला नेतृ शुष्मा लामिछाने गिरीले भनिन् । आधा आकाशको जिम्मेवारी पाएका महिलाहरूलाई राजनीतिको मूलधारमा लैजानका लागि नेतृत्व तहमै लैजानुपर्ने उनको सुझाव थियो । महिलाले नेतृत्व गरेका संस्थाहरूमा बढी सुशासन र पारदर्शीता हुने पनि उनको अभिव्यक्ति थियो ।
त्यसो त मतदाता संख्या पनि महिलाहरूकै बढी भएको सन्दर्भमा कहीँकतै महिलालाई प्रमुखको नेतृत्वमा ल्याउन सके यसले पार्टीलाई सच्चा समावेशीको पक्षमा स्वीकार्न सकिने उनको भनाइ थियो । हो, अघिल्लो स्थानीय तहको निर्वाचनमा लमही नगरपालिकामा नेपाली कांग्रेसका पुरूष उम्मेद्वारले अध्यक्षमा विजयी हासिल गर्न नसकेको अवस्थामा उपप्रमुखमा नेपाली कांग्रेसकै उम्मेद्वार विजयी बनेकी थिइन् । दंगीशरण गाउँपालिकामा पनि प्रमुख पद कांग्रेसले गुमाउँदा उपप्रमुख नेपाली कांग्रेसकै महिला नेतृले विजयी प्राप्त गर्नु पनि त्यसको गत्तिलो परिणाम थियो ।
निर्वाचन लक्षित कार्यक्रममा आधा आकाशका नामका महिलाहरूको उपस्थिति भने आधाभन्दा निकै कम थियो । वक्ताका रूपमा पनि महिलाहरूलाई आधाका आधारमा सहभागी बनाइएको थिएन । तैपनि प्रतिनिधिमूलक अभिव्यक्तिका क्रममा अर्का महिला नेतृ देवा डाँगीले पनि शुष्माकै भनाइको पक्षपोषण गरिन् । महिलाहरू हरेक पदीय जिम्मेवारी वहन गर्न सक्षम रहेको भन्दै खालि अवसरको मात्रै आवश्यकता रहेको डाँगीको अभिव्यक्ति थियो । निर्वाचनमा महिलालाई उम्मेद्वार बनाएको अवस्थामा निर्वाचनको प्रचारप्रसारदेखि पार्टीको अनुशासन र आचरणभित्र रहेर जनमुखी काम गर्न पनि महिला नेतृत्व सक्षम हुने उनीहरूको भनाइ थियो ।
अभियान अन्तर्गत्को कार्यक्रम कांग्रेसलाई कसरी जिताउने भन्दा पनि कसलाई टिकट दिलाउनेमा बढी लक्षित देखिन्थ्यो । यही कारण सहभागी केहीले मञ्च नपाएरै ‘नोट अफ् डिसेन्ट’को समेत भूमिका निर्वाह गरेका देखिए । वक्ता कसरी छनोट गरियो भन्ने केहीको जिज्ञासा थियो भने ‘गाउँ–गाउँ कांग्रेस जिताऔँ’ अभियान बजारको सभाहलमा दिनभर केन्द्रित हुनु नै गलत भएको व्याख्या पनि गरिएको थियो । खासमा कार्यक्रम कसलाई टिकट दिने भन्ने सन्दर्भमा जनमतका लागि थिएन, कांग्रेसको खास अवस्था तल्लो तहसम्म कस्तो छ भनेर आत्मसमीक्षाका साथै ‘फ्याक्ट’ सर्वेक्षणका लागि भएको पनि केन्द्रीय सदस्यहरूले अभिव्यक्ति दिएका थिए ।
अभियानका सन्दर्भमा प्रष्ट पार्दै नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने एउटा अभियानमा ८ वटा उद्देश्य रहेको र यी उद्देश्यका लागि १४ चरणका कार्यक्रमहरू जोडिएको बताएका छन् । नेतृत्व कसलाई दिने भन्ने त आम कार्यकर्ताले ‘डिसिजन’ गर्ने भन्दै उनले वडा समितिले सिफारिस गरेकै व्यक्तिले नेतृत्वका लागि टिकट पाउने बताए । ‘सक्नुहुन्छ भने वडाले सर्वसम्मत रूपमा एक जनाको मात्र नाम सिफारिस गर्नुस्, उसैले टिकट पाउँछ, नेताहरूको चाकडी गर्नुपर्ने अवस्था आउने छैन’, डाँगीले भने, ‘पार्टीलाई बलियो बनाउने हो, व्यक्तिलाई होइन ।’
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व सभापति घनश्याम रेग्मीले भनेका छन्, ‘चुनाव पार्टीले जित्ने हो, व्यक्तिले जित्ने भए एक्लै लडेर देखाए हुन्छ ।’ पार्टीमा वा अन्य संस्थामा पद आवधिक मात्र हुने तर उसले गरेका काम चीरस्थायी हुने भन्दै पार्टीलाई बलियो बनाउनेतर्फ आम नेता कार्यकर्ताको ध्यान आकृष्ट हुनुपर्ने उनको सुझाव थियो ।
कांग्रेस नेता तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसपसभापति राजु खनालले नेकपा नेतृत्वको सरकारका भ्रष्टाचारका शृङ्खलाहरूलाई आम मतदाता माझ पु¥याएर कांग्रेसले गरेका विकास निर्माणका मुद्दालाई सही ढङ्गले जानकारी गराउनका लागि पनि अभियान सुरु भएको स्पष्ट पारेका थिए । ‘अघिल्लो सरकारले विश्वव्याधिका बेला मुलुकको अर्थतन्त्र ध्वस्त भइरहेका बेला कोभिड विरूद्धको खोप खरिदमा समेत भ्रष्टाचार गरेको थियो तर नेपाली कांग्रेस नेतृत्वको सरकारले विवादरहित तवरले करिब–करिब आम नागरिकलाई दोस्रो डोजसम्म खोप लगाइसकेको छ’, खनालले भने ‘यी मुद्दालाई आम मतदाता माझ पु¥याउन आग्रह गर्दछु ।’
कार्यक्रमका विशिष्ठ अतिथि तथा केन्द्रीय सदस्य गेहेन्द्र गिरीले एमसीसीमा कम्युनिस्टहरू गलत व्याख्या गर्दै आफूलाई उग्र राष्ट्रवादीका रूपमा प्रस्तुत गर्ने खेलमा लागेको बताए । ‘कम्युनिस्टहरू जनतालाई गरिब बनाएर उनीमाथि राजनीति गर्न चाहन्छन्, त्यसैले विदेशी अनुदानको विकासको विरोध गरिरहेका छन्’, केन्द्रीय सदस्य गिरीले भने । साथै निर्वाचन लक्षित कार्यक्रमले टिकट वितरणसँग कुनै सरोकार नराख्ने बताउँदै अभियानका क्रममा सकिन्छ भने मतदाता शिक्षा कार्यक्रमलाई पनि सँगसँगै लगेर बदर मत घटाउन योगदान पु¥याउन पनि नेता कार्यकर्तालाइ आह्वान गरे ।
कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रीय सदस्य चन्द्र केसीले अहिलेको सत्ता गठबन्धन वाध्यात्मक भएको बताउँदै अभियानका क्रममा कांग्रेसको वास्तविक अवस्था पहिचान गरी गठबन्धनका विषयमा पुनःविचार हुनसक्ने उद्घोष गरे । ‘गठबन्धन विचार र सिद्धान्त मिलेर होइन, देशको विषम परिस्थितिका कारण भएको हो, संसदीय प्रणाली र संविधानलाई बचाउनका लागि भएको थियो’, केसीले भने । निर्वाचन पार्टीको शक्ति परीक्षण भएकाले एक्लै निर्वाचन लड्नुपर्ने पक्षमा आफू रहेको पनि उनको अभिव्यक्ति थियो ।
उनले एकता र मेलमिलाप कायम गर्दै कांग्रेसलाई मजबुत र सशक्त पार्टी बनाउनका लागि सबैले ध्यान दिनुपर्ने बताए । त्यसका लागि कांग्रेसलाई वडा तहबाटै सवल र सक्षम बनाउन ध्यान दिनुपर्ने बताए । सवल वडा र सक्षम टोल बनाउन कांग्रेसले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान ल्याएको भन्दै कार्यक्रमका प्रमुख अतिथि केसीले त्यसका लागि सबै नेता तथा कार्यकर्तालाई अभियान लिएर हरेक मतदाताको घरसम्म पुग्न पनि आग्रह गरे । साथै उनले एमसीसीको नाममा कुनै पनि हालतमा अमेरिकी सेना नेपालमा नआउने भन्दै एमसीसीको भर्खरै पार्टीले प्रकाशित गरेको पुस्तक पढेर सबैलाई जानकारी गराउन पनि आग्रह गरे ।
नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा प्रदेश उपसभापति खगराज पाण्डे, नेता महादेव शाह, केशव आचार्य, कांग्रेस नेता तथा प्रदेशसभा सदस्य शंकर गिरी, नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति किर्तीबहादुर खड्का, महाधिवेशन प्रतिनिधिहरू बिमल रिजाल, नहकुल केसी, टीका घर्ती, घनश्याम ढकाल, नेपाली कांग्रेस दलित संघका प्रदेश अध्यक्ष जोगेन्द्र विश्वकर्मा, कांग्रेस सहसचिव द्वोय राजु आचार्य र सुबोधकुमार डाँगी, कांग्रेस नेता सुरेन्द्र खड्काले अभियानलाई अपनत्वको रूपमा लिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
साथै सो अवसरमा नेपाली कांग्रेस तुलसीपुर नगरसभापति सुरेश हमाल, शान्तिनगर गाउँपालिकाका सभापति झलक केसी, बबई गाउँपालिकाका सभापति प्रकाश बस्नेत, दंगीशरण गाउँपालिकाका सभापति शम्भु गिरी, कांग्रेस नेता तथा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगी, निर्वाचन क्षेत्र नं. ३ प्रदेश सभापति द्वोय देवेन्द्र रिजाल, खिमबहादुर वलीलगायतले कांग्रेसलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कांग्रेस निर्वाचन क्षेत्र नं ३ का सचिव पूर्णबहादुर केसीको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण अर्का सचिव शोभाकर सापकोटाले गरेका थिए ।