प्रिया स्मृती गजमेर
देउखुरी,२६ फागुन । नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा दाङ क्षेत्र नं. १ प्रदेश ख का सदस्य गुरुप्रसाद केसीले आफु कांग्रेसमै रहेको स्पष्ट पारेका छन् । विहीबार केसीले एक प्रेस बिज्ञप्ति जारी गर्दै आफ्नो बारेमा केही दिन यता सार्वजनिक भएका कुराहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
यहि फागुनको २१ गते सामाजिक दायित्व निर्वाह गर्ने क्रममा आफुमाथि भएको कुटपिट अत्यन्तै निन्दनीय र खेदजनक भएको उल्लेख गर्दै आफु त्यस घट्नामा पीडामा भएको समयमा आवेशमा आएर पार्टीप्रति राखेको सामान्य आक्रोसलाई स्वाभाविक रुपमा ल्याई दिन पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।
पीडाबोधको समयमा ढाडस दिने र उच्च मनोबल गराउन छोडी त्यसलाई अप्ठ्यारो परिस्थितिको फाइदा लिने तरिकाले गरिएका केही अराजनैतिक प्रयासबाट सतर्क रहन समेत उनले जारी गरेको विज्ञप्तिमा उल्लखे गरिएको छ । साथै उनले पार्टी संगठन निर्माणका निरन्तर यात्रामा अविचलित हुँदै कांग्रेसको विधान र आदर्श बमोजिम सदैब प्रतिबद्द रहने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा प्रदेश सदस्य केसीमाथि भएको कुटपिट घट्नाप्रति नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज केसीले गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषी उपर कडा कारवाहीको माग गरेका छन् । कुटपिटबाट घाइते भएका केसीको स्वास्थ्य अवस्था बुझ्न लमही नगरपालिका–९ तेलियास्थित केसीको घर पुगेका क्षेत्रीय सभापति पाण्डेयले घटना अत्यन्तै क्रुर, अमानविय, अराजकताको पराकाष्ट भएको भन्दै घटनामा संलग्न दोषीलाई कारबाही गर्न प्रहरी प्रसाशनलाई आग्रह गरेका हुन ।
त्यस क्रममा नेपाली कांग्रेस जिल्ला सदस्य पूर्णबहादुर बस्नेत, नेपाली कांग्रेस लमही–९ का सभापति लिलाधर खड्का, नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि जगदीशप्रसाद सुवेदी, मन्जित खड्का, नेपाली कांग्रेस– ९ का पार्टी सचिव नबराज ओली, क्रियाशील सदस्य टंकबहादुर अधिकारी, वडा सदस्य पार्वती विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो।