दाङमा मेधावी छात्रा प्रतियोगिता हुँदै

दाङ,२६ फागुन । मेधावी छात्रा प्रतियोगिता–२०७८ हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) दाङ र एपेक्स कम्प्युटर घोराही दाङको सयुक्त आयोजना तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरमा प्रत्येक वर्ष हुने प्रतियोगिता हुन थालेको हो ।

जिल्लाका निजी विद्यालयहरुमा अध्ययनरत छात्राहरुको सहभागिता हुने प्रतियोगिता यहि फागुनको २८ गते शनिवार तुलसीपुरमा रहेको तुलसी आवासीय माध्यामिक विद्यालयमा हुने आयोजक एपेक्स कम्प्युटर घोराहीका सञ्चालक धर्म केसीले जानकारी दिएका छन् । उनका अनुसार गतबर्ष मेधावी छात्रा प्रतियोगितामा तुलसी आवासीय माध्यामिक विद्यालयले जितेको हुँदा यसबर्षको प्रतियोगिता उक्त विद्यालयमा हुने लागेको हो ।

२०६३ सालदेखि हुँदै आएको मेधावी छात्रा प्रतियोगितामा सहभागीताका लागि प्यावसन दाङ र एपेक्स कम्प्युटर घोराहीले सम्पूर्ण विद्यालयहरुलाई अनुरोध गरेको छ । कक्षा दशमा अध्ययनरत छात्राहरुलाई १०० पूर्णाङ्कको बस्तुगत लिखित परिक्षा लिइन्छ । जसमा अंग्रेजी ३३,गणित ३४ र विज्ञानबाट ३३ प्रश्नहरु सोध्ने गरिन्छ । उक्त परिक्षामा सवैभन्दा बढी अंक ल्याउने छात्रालाई मेधावी छात्रा घोषणा गरिन्छ । साथै उत्कृट दश जनालाई पनि पुरस्कृत गरिन्छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) दाङ र एपेक्स कम्प्युटर घोराही दाङको सयुक्त आयोजना तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरमा प्रत्येक वर्ष हुने प्रतियोगिता अन्तर्गत पहिलो वर्ष २०६३ सालमा तुलसी आमाविकी अल्का मजगैया,२०६४ मा तुलसीकै बिनिता रेग्मी, २०६५ मा जनज्योती विद्या मन्दिर घोराहीकी निर्मला बुढामगर, २०६६ मा शान्तिसुधा आमावि घोराहीकी दीपसना बिसी, २०६७ सालमा हिमाल एकेडेमी तुलसीपुरकी शिक्षा धिताल भएका थिए ।

त्यसैगरी २०६८ सालमा शान्तिसुधा आमावि घोराहीकी समिक्षा मिश्र, २०६९ सालमा जनज्योति विद्या मन्दिर घोराहीकी शिल्पासिंह थापा,२०७० सालमा जनज्योतिकै प्रिया श्रेष्ठ, २०७१ सालमा तुलसी आमाविकी क्रिष्टिना डाँगी, २०७२ सालमा पशुपती विद्याश्रम नारायणपुरकी अनुषा अधिकारी, २०७३ सालमा तुलसी आमाविकी सृष्टि न्यौपाने,२०७४ सालमा हिमाल एकेडेमी तुलसीपुरकी अधिश्री आचार्य, २०७५ गोरखा मावि तुलसीपुरकी कुसुम शर्मा,२०७६ सालमा तुलसी आमाविकी श्रेया गिरी र २०७७ सालमा पनि तुलसी आमाविकै बिबिज्ञा बस्नेतले उपाधि जितेका थिए ।

साथै एपेक्स कम्प्युटरले सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुको सहभागीतामा पनि ‘एपेक्स सामुदायिक मेधावी छात्रा प्रतियोगिता’ विगत ६ बर्षदेखि सञ्चालन गर्दै आएको छ । यसबर्ष पनि आगामी चैत महिनामा ‘एपेक्स सामुदायिक मेधावी छात्रा प्रतियोगिता’ गर्ने तयारी गरिएको आयोजक एपेक्स कम्प्युटर घोराहीका सञ्चालक केसीले जानकारी दिएका छन् ।