सन्दर्भ नेप्लीज डाक्टर्स डे
खेमराज रिजाल
दाङ, २० फागुन । बालरोग विशेषज्ञ डा. किशोर खत्री आफ्नो चिकित्सकीय जीवनगाथाका पानाहरु पल्टाइरहेका छन् । विगतमा आफूले आफ्नो अस्पतालमा आएका बिरामीलाई दिएको स्वास्थ्य उपचार र समुदायमा आफूले गरेका योगदानका पानाहरु खोजिरहेका छन्, आफ्नो डायरीमा । कतै जस कतै असन्तुष्टि, कतै अझै अपूर्णता भेटाइरहेका छन् ।
आज ७२औं राष्ट्रिय डाक्टर्स डे । नेपालमा वि.सं. २००७ सालदेखि डाक्टर्स डे मनाउन थालिएको हो । यही स्मरणमा सेतो कोट, सफा मनले बिरामीहरुको सेवा गरिरहेकोमा चिकित्सकहरुलाई गर्व गर्ने दिन हो । तर पनि केही व्यवस्थापकीय त केही प्राविधिक अपर्याप्तताका कारण कहिँकतै समस्या पनि झेल्नु परिरहेको छ, नेपाली चिकित्सकहरुलाई । अस्पताल भवन बनेका छन् तर डाइग्नोसिसका लागि उपयुक्त प्रयोगशाला छैन । प्रयोगशाला व्यवस्थापन भएकै स्थानमा रेडियोलोजी र प्याथोलोजी सेवा उपलब्ध छैन । दक्षता पनि प्रस्फुटन हुन नसक्नु एउटा समस्या हो भने रोग पहिचान गर्नका लागि आवश्यक स्रोत साधन उपलब्ध हुन नसक्नु अर्को समस्या ।
डाक्टर खत्री भन्छन्– ‘यही समस्याले हामी नेपाली चिकित्सकहरु अँध्यारो आकाशमा कौवा उडेजस्तै उड्न पनि विवश छौं । सेतो कोटमा सानो दाग लागे पनि पुरै खराव देखिन्छ । चिकित्सकीय जीवन पनि त्यस्तै हो । सानो समस्याले पनि गम्भीर परिणाम निस्कन सक्छ, त्यसैले सेतो कोटजस्तै सफा मन लिएर सेवा गरिरहेका छन्, चिकित्सकहरु ।
‘हामीहरुले अन्तिम अवस्थासम्म पनि बिरामीको ज्यान बचाउनेमा निकै गम्भीर भएर लागिरहेका हुन्छौं, तर मृत्युपछि हामीले कहिल्यै जस पाउने अवस्था देखिँदैन’, डा. खत्री भन्छन्– ‘यसमा समुदाय र स्वयं चिकित्सकले पनि आत्मसमीक्षा गर्न सकून् ।’ बिरामीका अभिभावक र उपचारमा संलग्न चिकित्सकबीच निरन्तर सम्वादको अभाव अर्थात् कम्युनिकेशन ग्यापका कारण समाजमा यस्ता परिघटनाहरु देखिने गरेका छन् । यसलाई चिकित्सकहरुले चिर्नुपर्ने डा. खत्रीको सुझाव थियो ।
चिकित्सकीय पेशा यस्तो मर्यादित र सर्वविश्वास प्राप्त पेशा हो तर पनि कहिँकतै चिकित्सकका विरोधमा ढुंगामुढा समेत भएको र स्वास्थ्य संस्थामा तोडफोडका घटनाहरु पनि भएका छन् । विश्वव्याधि कोरोना भाइरसको संक्रमण व्यापक भएको अवस्थामा पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि कहिँकतै औला ठड्याउने काम भयो । तुलसीपुरकै एकजना मेसुमाथि कालोमोसो दल्नेसम्मका अमानवीय क्रियाकलाप भए ।
‘यस्ता घटना अब कहिल्यै नदोहोरिऊन्, मैले नेप्लीज डाक्टर्स डे अवसरमा आम जिल्लाबासीहरुमा आग्रह गर्दछु’, बालरोग विशेषज्ञ तथा तुलसी अस्पतालका सञ्चालक डा. खत्री भन्छन् । सबैले विश्वास गरेको र धेरै अपेक्षा गरेको पेशा भनेकै चिकित्सकको पेशा हो । अपेक्षा धेरै हुनाकै कारण सानातिना चिकित्सकीय त्रुटिले पनि घातक परिणाम आउन सक्छ । यस्ता सबै विषयमा गम्भीर हुन पनि आजको डाक्टर्स डेले सन्देश प्रवाह गरोस्’, डा. खत्रीले स्मरण गरे । विश्वलाई कोरोना भाइरसका विभिन्न भेरियन्टले आक्रमण गरिरहँदा कतिपय चिकित्सक र स्वास्थ्यकर्मीले आफ्नो जिउज्यानको चिन्ता नगरी पेशागत मर्यादा कायम गरिरहे । कैयौं चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले संक्रमणकै कारण ज्यान पनि गुमाए । ‘तर चिकित्सकहरुले कहिल्यै स्वास्थ्य संस्था चिकित्सकविहीन बन्न दिएनन् ।
कोरोनाको धारमा बसेर बिरामीको उपचारमा अहोरात्र खटिरहे’, नागरिक समाजका अगुवा टिकाराम रेग्मी भन्छन्– ‘चिकित्सकले जानीजानी गलत उपचार कहिल्यै दोहो¥याएको पाइँदैन ।’ हो, अस्पतालमा उपचाररत कतिपय बिरामीको ज्यान जान्छ । तर मृत्यु हुने वा जन्मने ठाउँ भनेकै त अस्पताल हो । अस्पताल यात जन्मन, यात उपचारपछि निको हुन यात उपचार सम्भव नभएपछि मृत्युवरण गर्नकै लागि त होनी, गाई–गोठमा त कसैको निधन हुँदैन, नागरिक अगुवा तर्क गर्छन्, अस्पताल बिरामीका लागि एउटा पवित्र मन्दिर हो, चिकित्सक पवित्र पुजारी ।
नेपालभर आज राष्ट्रिय डाक्टर्स डे मनाइरहँदा चिकित्सकीय मर्यादा बाहिरका पनि केही समस्याहरु समाजमा व्याप्त हुन थालेका छन् । बिरामीको आर्थिक अवस्था पहिचान गरेर मात्रै उपचार प्रक्रियामा जाने निजी स्वास्थ्य संस्थाहरु पनि छन् । औषधिको कमिशनका कारण धेरै कम्पनीका औषधिहरु सिफारिस गर्ने चिकित्सक हुन् वा प्रयोगशालाका सामानहरुको प्रयोग बढाउनका लागि अनावश्यक परीक्षण गर्न लगाउने चिकित्सकहरु, नेप्लीज डाक्टर्स डेले यो गलत प्रवृत्तिलाई निमिट्यान्न पार्न सकोस् ।
सामान्य रोगको उपचारका लागि निजी अस्पताल पुगेका बिरामीलाई पनि स्वास्थ्य संस्थामा उपलव्ध भएसम्मका सबै परीक्षणहरु गर्न लगाउने र अत्यधिक औषधि प्रयोग गर्न बाध्य बनाउने अस्वस्थ प्रतिस्पर्धालाई हटाउनुपर्ने पनि नेपाल चिकित्सक संघ दाङले दिवसका अवसरमा जारी गरेको सन्देशमा उल्लेख छ । नेपाल चिकित्सक संघ दाङका उपाध्यक्षसमेत रहेका डा. खत्री भन्छन्– ‘कुनै पनि बिरामीको उपचारलाई शंकास्पदबाहेक अन्यत्रै डाइभर्ट गरेर अनावश्यक उपचार खर्चको भारी बोकाउनु नाजायज पक्ष पनि हो, यसमा सबै चिकित्सकलाई एकपटक आत्मसमीक्षा गर्न पनि आग्रह गर्दछु ।
साथै उपाध्यक्ष डा. खत्रीले कोरोना भाइरसको विश्वव्याधिको अप्ठेरोमा पनि अहोरात्र बिरामीको सेवा गरी आफ्नो सेतो कोटजस्तै सफा मनले उपचार गरी संक्रमणमा निधनसमेत भएका समस्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पनि नेपाल एशोसियशन दाङले हार्दिक श्रद्धाञ्जली एवं समवेदना व्यक्त गरेको छ । यसैबीच डाक्टर्स डेको अवसर पारेर तुलसी अस्पतालले शुक्रवार बिरामीहरुको ओपिडी सेवा निःशुल्क गरेका छ । यस अवसरमा शुक्रवार बिहान ८ बजेदेखि २ बजेसम्म कुनै पनि ओपिडी शुल्क नलिने अस्पतालका अध्यक्ष डा. खत्रीले बताएका छन् । साथै अस्पतालले सामाजिक उत्तरदायित्वको भूमिका अन्तर्गत अशक्त र असहाय बिरामीहरुका लागि उपचार खर्चमा सहुलियत तथा केहीलाई निःशुल्क उपचार तथा शल्यक्रियासमेत गर्दै आएको छ ।