विकास रोक्न खोज्नेहरु हारेका छन् : नेता गिरी

खुमबहादुर खड्का भलिवल प्रतियोगिता सुरु

दाङ, १७ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले विकास रोक्न खोज्नेहरु हारेको बताएका छन् । घोराहीमा सुरु भएको प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिता–२०७८ को सोमवार घोराहीमा उद्घाटन गर्दै नेता गिरीले एमसीसी देशको विकासका लागि भएको दावीसमेत गरे ।

उनले विगतमा अरुण तेस्रो आयोजना रोकेजस्तै अहिले एमसीसी रोक्न केही लागे पनि सफल नभएको बताए । ‘विगतमा पनि विकासका लहर ल्याउँदा रोक्न खोज्नेहरुले एमसीसीलाई रोक्न पनि प्रयास गरेका थिए’, उनले भने– ‘तर हिजो संसदबाट पास भएको छ । यो विकास विरोधीहरुको हार हो ।’ उनले एमसीसीलाई गलत तरिकारले प्रसार गरेर जनतामा भ्रम सिर्जना गरेको समेत बताए ।

खेलले शरीरलाई स्वस्थ, फूर्तिलो र निरोगी बनाउन महत्वपूर्ण हुने भन्दै खेलकुद क्षेत्रको विकासमा सबैले ध्यान दिनुपर्ने बताए । कांग्रेस नेता खुमबहादुर खड्काको सम्झनालाई चिरस्थायी बनाउन यस्ता खेलकुद कार्यक्रमले सहयोगी बन्ने बताए । नेपाली कांग्रेस र प्रजातन्त्र स्थापनाका लागि नेपालको राजनीतिक इतिहासमा नेता खुमबहादुर खड्काको योगदानलाई खेलकुद माध्यमबाट सदैव जीवन्त राख्न कांग्रेस दाङले आयोजना गरेको प्रतियोगिता राम्रो कार्य भएको बताए । ‘स्व. खुमबहादुर खड्का विकासप्रेमी मात्र नभएर खेलप्रेमी पनि हुनुन्थ्यो’, विगत सम्झँदै नेता गिरीले भने– ‘खेलकुद क्षेत्रको विकाससँगै उहाँको योगदानलाई जीवन्त राख्न यो खेलकदको महत्वपूर्ण भूमिका हुनेछ ।’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले खेलकुद क्षेत्रको विकाससँगै युवाहरुलाई कांग्रेससँग जोड्नका लागि प्रतियोगिताले सहयोग पु¥याउने बताए । उनले खुमबहादुर खड्काको योगदानलाई जीवन्त राख्दै कांग्रेसप्रति नयाँ पुस्ताको आकर्षण ल्याउन खेललाई पालिकास्तर मात्र नभएर कांग्रेस दाङले आगामी बर्षहरुमा प्रदेशस्तरीय प्रतियोगिता बनाउनुपर्ने बताए । स्वास्थ्यका लागि अत्यन्त फाईदाजनक रहेको खेलले समाजमा राम्रो सन्देश दिएको बताए ।

लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाई राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले खेलले व्यक्तिको शारीरिक विकाससँगै राष्ट्रको नाम र पहिचानका लागि सहयोग पु¥याउने बताए । उनले दाङमात्र नभएर देशको विकासका लागि योगदान दिएका नेताको सम्झनामा गरिएको भलिवल प्रतियोगिताले थोरै भए पनि न्याय गरेको बताए ।

‘स्व. नेता खड्का देशको लागि योगदान दिएको व्यक्ति हुनुहुन्छ । उहाँलाई कसैले भुल्न हुँदैन’, राज्यमन्त्री श्रेष्ठले भने– ‘उहाँको स्मृतिमा दाङ कांग्रेसले आयोजना गरेको भलिवल प्रतियोगिताले थोरै भए पनि न्याय गर्न सकेको महसुस भएको छ ।’ उनले यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा निरन्तरता दिनुपर्नेसमेत बताए । कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा पूर्व सांसद राजु खनालले स्व. नेता खड्काको योगदानलाई नयाँ पुस्तासम्म लग्नेदेखि खेलकुदका माध्यमबाट सबैलाई जोड्न प्रतियोगिताले सहयोग गर्ने बताए । कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले कांग्रेसलाई एकताबद्ध बनाई राख्न र युवापंक्तिलाई खेलका माध्यमबाट कांग्रेसमा जोड्न यस्ता कांग्रेस गर्न आवश्यक रहेको बताएका थिए ।

कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला पूर्व सभापति बीरकेशरी गौतम, क्षेत्र नं. २ का क्षेत्रीय सभापति भीमप्रकाश खड्का, महाधिवेशन प्रतिनिधि सावित्रा राणालगायत शुभकामना मन्तव्य राखेका थिए । जिल्ला उपसभापति कमानसिंह भारतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अर्का उपसभापति गिरिराज सुवेदीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव अर्जुन योगीले गरेका थिए । कार्यक्रममा खेलकुद प्रतियोगिताका बारेमा खेल संयोजक राजु आचार्य र खेलका नियमका बारेमा सदस्य केदारराज श्रेष्ठले जानकारी गराएका थिए ।

जिल्लामा सर्वाधिक राशिको प्रतियोगिताको बिजेता टिमले नगद २ लाख रुपैयाँ र उपबिजेता हुने टिमले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एकजना खेलाडीलाई नगद ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । यसअघि बिजेतालाई १ लाख ७५ हजार र उपबिजेतालाई ८७ हजार ५ सय पुरस्कारको व्यवस्था गरिए पनि उद्घाटन कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय सदस्य एव पूर्वमन्त्री दीपक गिरीले उक्त पुरस्कारमा रकम थप गर्दै प्रथम पुरस्कार २ लाख र दोस्रो पुरस्कार १ लाख बनाउने घोषणा गरेका हुन् ।

लिककम नकआउटको आधारमा खेलाइने खेलमा प्रत्येक टिमले दुईजना जिल्ला बाहिरका खेलाडीहरुलाई सहभागी गराउन पाउने व्यवस्था गरिएको खुमबहादुर खड्का स्मृति खेलकुद समितिका संयोजक आचार्यले बताएका छन् । स्व. नेता खुमबहादुर खड्काको २०७४ चैत १६ गते उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पताल ६७ बर्षको उमेरमा निधन भएको थियो ।

पहिलो दिन तुलसीपुर, राप्ती र दंगीशरण बिजयी

प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिकाको भलिबल टिम बिजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा राप्ती गाउँपालिकाको टिमलाई २५–१९, २२–२५ र २५–१८ को सेटमा हराउँदै तुलसीपुर उपमहानगरपालिकाको टिम बिजयी भएको हो ।

नेपाली राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान मानबहादुर श्रेष्ठ र धनबहादुर भट्टसहितको तुलसीपुर उपमहानगरपालिकाको टिमले प्रतिष्प्रर्धाको खेलमा राप्ती गाउँपालिकाको टिमलाई हराउँदै पहिलो खेलमा जित निकालेको हो । राप्ती गाउँपालिकाको टिममा पनि राष्ट्रिय टिमका खेलाडी हरि अधिकारीसहितको टिमले एक सेट जितेपनि दुई सेटमा हार व्यहोर्दा प्रतियोगिताको पहिलो खेलमा पराजित हुन पुगेको थियो ।

त्यसैगरी दोश्रो खेलमा लमही नगरपालिकालाई हराउँदै दंगीशरण गाउँपालिकाको टिम बिजयी भएको हो । पहिलो सेटमा २५–१२ को जित निकालेर दोश्रो सेटमा २३–२५ले हारेको दंगीशरणले तेश्रो सेटमा २८–२६ को जित निकाल्दै बिजयी भएको हो ।

त्यसैगरी सोमवार दिउँसो भएको राप्ती र गढवा गाउँपालिकाविचको खेलमा राप्ती गाउँपालिका बिजयी भएको छ । राप्ती गाउँपालिकाको टिमले गढवा गाउँपालिकाको भलिबल टिमलाई २५–४ र २५–१४ को सोझो सेटमा पराजित गरेको थियो ।त्यसैगरी अर्को खेलमा तुलसीपुरले लमही नगरपालिकाको टिमलाई हराएको छ ।

तुलसीपुरले २५–१६,२६–२८ र २५–१६ सेट खेल्दै प्रतियोगितामा दोश्रो जित निकालेको हो । यसैगरी प्रतियोगितामा मंगलवार विहान दंगीशरण गाउँपालिका र गढवा गाउँपलिकाको पहिलो खेल र दोश्रो लमही नगरपालिका र राप्ती गाउँपालिकाबिच हुनेछ । दिउँसोको पहिलो खेल दंगीशरण र राप्ती र दोश्रो तुलसीपुर र गढवा गाउँपालिकाविच हुने खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता समितिका सदस्य केदारराज श्रेष्ठले जानकारी दिएका छन् ।