विरोधपछि सरसफाई कर घटाइयो

बालाराम खड्का
तुलसीपुर, १५ फागुन । उद्योगी व्यवसायी एवं नगरबासीहरूले महँगो भएको भन्दै विरोध गरेपछि तुलसीपुर उपमहानगरपालिकाले लिँदै आएको सरसफाई शुल्कको कर घटाएको छ । केहीमा आधा घटाएको छ भने केहीमा ८० प्रतिशतभन्दा बढी घटाएको छ । यस अघि लिँदै आएको करका शीर्षकहरूमा करिब आधाभन्दा बढी घटाएको हो ।

सेवा शुल्क करको विषयमा व्यवसायी र नगरपालिकाबीच केही विवाद देखिएको थियो । जसले गर्दा व्यवसायीहरूले कर धेरै भएको भन्दै विरोध समेत गर्दै आएका थिए तर तुलसीपुर उद्योग वाणिज्य संघको पहलकदमीपछि तुलसीपुर उपमहानगरपालिकाले लिँदै आएको सरसफÞाई शुल्कको दर संशोधन गरी नयाँ करको दर लागू गरेको उद्योग वाणिज्य संघले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाको दशौँ नगरसभाले सो सेवा शुल्क कर संशोधन गरेको हो ।

सरसफाई शुल्क करमध्ये होटेलहरूमा वार्षिक ‘क’वर्गको होटलबाट ५ हजार ५ सय, ‘ख’ वर्ग मोटेलबाट ४ हजार र ‘ग’वर्गबाट वार्षिक ३ हजार रूपैयाँ यस अघि लिँदै आएको थियो । हाल सो करको दर संशोधन गरेर ‘क’ वर्गको ३ हजार ५ सय, ‘ख’ वर्गको २ हजार ५ सय र ‘ग’ वर्गको होटेलको सेवा शुल्क कर १ हजार ५ सय रूपैयाँ गराएको छ । त्यस्तै अस्पतालहरूको भने सबैभन्दा धेरै सेवा शुल्क कर रहेकोमा त्यसलाई संशोधन गरिएको छ । अस्पतालको २४ हजारबाट संशोधन गरेर ३ हजार ५ सय, पोलिक्लिनीकको १८ हजारबाट २ हजार ५ सय, औषधी पसलहरूको १२ हजारबाट २ हजार गराएको छ ।

त्यस्तै तरकारी पसलहरूको वार्षिक सेवा शुल्क करमा थोकको १२ हजारबाट घटाएर ३ हजार ५ सय, फुटकरको ६ हजारबाट घटाएर २ हजार ५ सय र ढेब्लीहरूको ६ हजारबाट संशोधन गरेर १ हजार ५ सय गराएको छ । अन्य प्रतिसटर ६ हजारबाट २ हजार ५ सय, सैलुनको १२ हजारबाट २ हजार, पाउरोटी, डेरी, चाउमिनलगायतका साना उद्योगहरूको ६ हजारबाट ३ हजार र सीसा, फ्रेम काट्ने व्यवसायबाट सेवा शुल्क करमा ६ हजारबाट २ हजार ५ सय रूपैयाँ सेवा शुल्क कर संशोधन गरिएको छ ।

आर्थिक विकास समितिका संयोजक माधव वलीले पहिलो सरसफाई सेवा शुल्क कर बढी निर्धारण गरिएकाले व्यवसायी तथा उद्योग वाणिज्य संघको गुसानो आएपछि छफल गरी त्यसलाई परिमार्जन गरिएको बताए । ‘व्यवसायी तथा उद्योग वाणिज्य संघले यसमा धेरै भएको भन्दै गुनासो गर्नुभएको थियो, त्यसपछि सबै बसेर यसलाई संशोधन गरेका हौँ’, उनले भने । कर धेरै भएको भन्दै सरसफाई शुल्क कर उठन सकेको थिएन अब भने सबैको समझदारी भएकाले कर उठाउन सहज हुने बताइएको छ ।