यो घटना त्यो समयको हो जब थोमस एडिसन सानै थिए र स्कुल पढ्थे । एक दिन एडिसन स्कुलबाट घर आएर आमालाई एउटा कागज दिदै भने– ‘आमा, शिक्षकले यो पेपर तिमीलाई दिन भन्नुभएको छ ।’ थोमसकी आमाले त्यो कागज लिएर मनमनै पढ्न थालिन् । पढेर उनको आँखा रसायो ।
जब थोमसले आमालाई सोधे कि त्यो कागजमा के लेखिएको छ ? तव उनले त्यो कागजमा लेखिएका शव्दहरु ठूलो स्वरले पढ्न थालिन्, ‘तिम्रो छोरा थोमसमा असाधारण प्रतिभा छ ऊ ‘जीनियस’ हो । यो विद्यालय निकै सानो छ र यहाँ उसलाई राम्रोसँग पढाउन सक्ने पर्याप्त शिक्षक पनि छैनन् । त्यसैले तिमी आफैले घर मै पढाउ ।
थोमसकी आमाले पनि त्यसै गरिन् र पूर्ण समर्पण र लगनशीलताका साथ थोमसलाई घरमा पढाउन थालिन् । यस घटनाको धेरै वर्ष पछि अब थोमस एडिसन एक सफल आविष्कारक र उद्योगपति बनिसकेका थिए र उनकी आमाको पनि निधन भइसकेको थियो । एक दिन उनले घरमा केही खोज्दै थिए तव त्यहाँ एउटा फोल्ड गरिएको कागज फेला प¥यो ।
यो त्यही कागज थियो, जुन उनले बाल्यकालमा स्कुलबाट आएपछि आमालाई दिएका थिए । पढेपछि थाहा भयो– त्यहाँ लेखिएको थियो तिम्रो छोरा मानसिक रूपमा कमजोर छ । हामी उसलाई यस विद्यालयमा पढाउन सक्दैनौं ।
त्यतिबेला थोमस एडिसनले धेरै वर्ष अघि उनको आमाले उनको लागि के गरिन् भन्ने कुरा बुझे । त्यो दिन स्कुलबाट घर आएपछि यदि उनकी आमाले त्यो कागज जस्ताको त्यस्तै पढेर सुनाएको भए उनको मन टुट्न सक्थ्यो र सायद थोमस एडिसन यति महान् आविष्कारक बन्न सक्ने थिएनन् । तर उनकी आमाले आफ्नो सकारात्मक शब्दको जादुले मानसिक रुपमा अपाङ्गता भएका बालकलाई ‘जीनियस’बनाई दिइन् ।
त्यसकारण शब्दमा अपार शक्ति हुन्छ । हामीले बोलेका शब्दहरूमा कसैको जीवन परिवर्तन गर्ने क्षमता हुन्छ । तीरले झैँ घोच्ने शब्दले कसैलाई यति हदसम्म टुटाउन सक्छ कि ऊ पूर्णतः हतोत्साहित हुन्छ । तर प्रेमपूर्वक राम्रो भावनाका साथ बोलेको शब्दले जीवनमा सकारात्मक प्रभाव पार्छ । त्यसैले आफ्नो दैनिक जीवनमा कसैसँग कुरा गर्दा हामीले बुद्धिमानी शब्दहरू छनौट गर्नुपर्छ ताकि हाम्रो शब्दले कसैको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकोस् ।
तुफानबाबु श्रेष्ठ (रेडियो कार्यक्रम शान्त तलाउका प्रस्तोता)