Goraksha

National Daily

पत्रकार महासंघ : हाम्रो पृय अनी गौरवशाली अभियान

विपुल पोख्रेल

हाल अस्तित्वमा रहेका र सामाजिक औचित्य पुष्टि गरिसकेका नागरिक संस्थाहरुमध्य सबै भन्दा पुरानो संस्था हो, नेपाल पत्रकार महासंघ । ०१२ चैत १६ गते स्थापना भएको नेपाल पत्रकार संघकोे निरन्तर, अबिछिन्न उत्तराधिकारी संस्थाका रुपमा हाल नेपाल पत्रकार महासंघ क्रियाशिल छ । यद्देपी ००८ सालमा पनि पत्रकार संघको नाममा पत्रकारहरु संगठित भएका थिए, तर त्यसको निरन्तरता भेटिएको छैन र हालको पत्रकार महासंघको बिधानमा ०१२ सालको संघको निरन्तरता स्वरुप आफुलाई प्रस्तुत गरिएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिको पक्षधरता यो संस्थाको स्थापना कालदेखिको पहिँचान हो । तसर्र्थ महासंघको स्थापना दिवसको यो दिन देशभरका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुका लागि एउटा उत्सव नै हो । बिगतका बर्षहरुमा स्वतन्त्रतामा बिश्वास गर्ने समुदायले चैत १६ लाई उत्सवका रुपमा मनाउँदै आएका थिए ।

यो त्रासदीका वीचमा पनि सूचना प्रबाहको आफ्नो दायित्व प्रति सचेत रहेर कर्मथलोमा रहेका बिश्वभरका पत्रकारहरु प्रति आजको दिनमा उच्च सम्मान व्यक्त गर्दछु र जहाँ जस्तो भूमिकामा रहेको भएता पनि सुरक्षित रहन र मानवजातीको सुरक्षाका लागि नै खट्न सक्ने शक्ति प्राप्त होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

तर, यो बर्ष हामीमध्य धेरै सेल्फ क्वारेन्टाइनवाट र थोरै कर्मथलो अर्थात् कार्यकक्षवाट शुभकामना आदान प्रदान गर्न बिवष छौ । आजको दिनको यो भोगाई पत्रकारहरुका लागि मात्रै नभई सारा बिश्व मानवजातीका लागि झण्डै झण्डै साझा नै छ ।

कोरोना संक्रमणको यो त्रासदीका वीचमा पनि सूचना प्रबाहको आफ्नो दायित्व प्रति सचेत रहेर कर्मथलोमा रहेका बिश्वभरका पत्रकारहरु प्रति आजको दिनमा उच्च सम्मान व्यक्त गर्दछु र जहाँ जस्तो भूमिकामा रहेको भएता पनि सुरक्षित रहन र मानवजातीको सुरक्षाका लागि नै खट्न सक्ने शक्ति प्राप्त होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाली पत्रकारिताको बिश्व पत्रकारितामा बिशिष्ट पहिँचान छ । चुनौतिको सामना गर्न पछि नट्ने, लोकतन्त्र र अधिकारको पक्षमा उभिँदै गर्दा आबश्यक परेमा आफै सडकमा पुग्ने, देशभरका पत्रकारहरुवाट प्रजातान्त्रिक बिधिबाट समावेशी रुपमा निर्वाचित नेतृत्वप्रति सबै पत्रकारको बिश्वास रहने । यो तपाईँ हामीले निर्माण गरेको हामी आफैको बिशिष्ट पहिचान हो । पत्रकारहरुको अन्तराष्ट्रिय संस्था आइएफजेले समेत दक्षिण एशियाको पत्रकारिताले नेपाली पत्रकारहरुवाट सिक्ने कुराहरु रहेको निश्षकर्ष आफ्नो सम्मेलनमा सुनाएको थियो । यो हाम्रो गौरवको बिषय भयो ।

नेपालकै सन्दर्भमा पनि लोकतन्त्र र नागरिक अधिकारका पक्षमा भएका संघर्षहरु, अभियानहरुमा पत्रकारीता क्षेत्र र पत्रकारहरु स्वयम् अग्रमोर्चाका सिपाही बनेर प्रस्तुत भएका छन् । न्यायालयवाट समेत न्यायको अनुभुति नभएमा पत्रकारीता क्षेत्रसंग भर पर्दै आफ्ना आँशु पोख्ने गरिएका थुप्रै बिश्वासहरु छन् । ट्रान्सपेरेन्सी इन्टरनेशनलको सर्वेक्षणलाई आधार मान्ने हो भने नेपालको सबै भन्दा बढी बिश्वसनीय क्षेत्रका रुपमा पत्रकारिता क्षेत्र नै रहेको छ । यो हाम्रो दृढसंकल्प सहितको कर्मको परिणाम हो यो ।

श्रमजिवी पत्रकारहरुको पक्षमा उभिएर पनि पत्रकार महासंघले आफ्नो साख अभिबृद्धि गर्दै आएको छ भने सबैको छाताका रुपमा आफुलाई स्थापित गर्दै आएको छ । पत्रकार महासंघको लडाईको एउटा महत्वपूर्ण उपलब्धिका रुपमा श्रमजीवी पत्रकार ऐन आयो । त्यसको कार्यान्वयका लागिको हाम्रो लडाईको परिणाम स्वरुप न्युनतम पारिश्रमिक निर्धारण समिति बन्यो । तोकिएको तलव र ऐनले प्रत्याभूत गरेको सुरक्षा र सुनिश्चितताको अनुभुती सबै श्रमजिवी पत्रकारहरुले गर्न पाउनु पर्छ भन्ने हाम्रो लडाई जारी छ । पछिल्लो झण्डै तिन बर्षका अनुभवमा भन्ने हो भने पत्रकार महासंघमा आएका एक सय भन्दा बढी उजुरीहरुका सन्दर्भमा महासंघको श्रमजीवि हित प्रबद्र्धन समितिको सक्रियतामा सम्बोधन गर्न सञ्चारमाध्यमहरु बाध्य भएका छन् । पत्रकार महासंघका तर्फवाट श्रमजिवीको सवालमा अदालत पुगेका मुद्दाहरुमा हामीले धेरै हद्सम्म सफलता समेत प्राप्त गरेका छौं ।

पत्रकार सुरक्षाको सवालमा पनि पत्रकार महासंघको गंभिर चासो र गौरव गर्न लायक भूमिका रहदैं आएको छ । द्वन्द्वको समय र त्यस यता गरेर हामिले ३७ जना पृय मित्रहरु गुमाएको दुःखान्त अबस्था एकातर्फ छ । हामी ती सबै मित्रहरुप्रति सम्मानभाव प्रकट गर्दै उहाँहरुको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनका लागि हाम्रा ‘हाइ साउण्ड’ जारी छ । भर्खरै पृय मित्र बिरेन्द्र साहका एकजना हत्या आरोपी समातिएका पनि छन् । सबै हत्याका सन्दर्भमा राज्यको तहकिकातका लागि हाम्रो दवाव जारी छ । त्यसबाहेक समय समयमा हुने धम्की, आक्रमण, मानसिक दवावको विपक्षमा एकलाई पर्दा सिंगो संस्था उभिने हाम्रो चरित्रले निरन्तरता पाइरहेको छ ।

उल्लिखित तथ्यहरुका आधरमा भन्दा हामी गर्व गर्नसक्ने अबस्थामा छौ । तर, यती प्रयाप्त भने छैन । देश संघिय गणतन्त्रको अभ्यासमा गैसकेपछिको अबस्था तिन तहबाट निर्माण हुँदै गरेका कानुनहरुले हाम्रो अधिकार र स्वतन्त्रतताको दायरामा संकुचन ल्याउन खोजेको अबस्था देखिदैछ, जो हामिलाई किंमार्थ स्वीकार्य छैन । त्यो प्रबृत्तिका बिरुद्ध हाम्रो लडाई जारी छ । संसदहरुमा पुगेका बिधेयकहरु समेत हाम्रो लडाईका कारण ‘पेण्डिङ’को अबस्थामा छन् । यो हाम्रो तागतको एउटा मापक पनि भएको छ । यो लडाईमा हामी चुक्यौ वा शिथिल भयौं भने हाम्रो स्वतन्त्रताको अभ्यासमा बन्देज लाग्ने छ, तसर्थ सतर्कतापूर्वकको खबरदारी हाम्रो सामयीक दायित्व बनेको छ ।

पछिल्लो समयमा नेपाली पत्रकारिताप्रतिको बिश्वसनीयतामा केही प्रश्नहरु उठेका छन् । हामीले निशर्त ती प्रश्नहरुको व्यवहारिक रुपमा जवाफ दिदै आफुप्रतिको बिश्वसनीयतालाई अभिबृद्धि गर्नु पर्ने चुनौतीलाई स्वीकार गर्नै पर्दछ । हाम्रो आचारसंहिता र हाम्रो सामाजिक उत्तरुदायित्वप्रति प्रतिबद्ध भएर आफुलाई प्रस्तुत गर्ने हो भने यो चुनौती आफै परास्त हुने छ ।
प्रबिधिको चामत्कारिक विकास र त्यसको उपयोग गर्ने सन्दर्भमा देखिएको अलमलले पनि हामीमाझ चुनौती थपिदिएको छ । यो चुनौतिको सामना गर्न क्षमता अभिबृद्धिको लागि उत्सुक हुन पनि हामी तयार हुन जरुरी छ ।

राज्यको उल्लेख्य लगानी बिना नै निजी लगानीवाट देशमा पत्रकारहरु उत्पादन भैरहेको अबस्था छ । राज्यले स्तरीय र स्वायत्त तालिम प्रतिष्ठान स्थापना गरोस् र दक्ष पत्रकार उत्पादनमा योगदान पु¥याओस् भनी माग गर्दै आएको पनि धेरै भैसक्यो । यो सत्कार्यका लागि राज्यलाई दवाव र सुझाव दिन हामी सक्रिय हुनु पर्ने देखिएको छ ।

पत्रकार महासंघले आफ्नो सांगठनिक जीवनमा महत्वपूर्ण निर्णय गरेको छ, यतिबेला । अब सबै साधारण सदस्यको मतवाट नै सबै संरचनाका नेतृत्व चुनिने छन् । समाबेशी चरित्रको संरचना निर्माण गर्न महासंघको बिधान प्रतिबद्ध छ । अब हामी यो संस्थालाई व्यबस्थित, अत्यधिक लोतान्त्रिक र अत्यधिक समाबेशी संस्थाका रुपमा नयाँ पहिचान दिने मोडमा उभिएका छौ । नयाँ पहिचान दिलाउने यो घडीमा सबै सदस्यहरुको महत्वपूर्ण योगदान रहन्छ । हामी त्यो योगदानको अपेक्षा गर्दछौं ।

अन्त्यमा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा, श्रमजिवी पत्रकारको पक्षमा, लोकतन्त्रको पक्षमा, नागरिक अधिकारको पक्षमा हाम्रो बलियो पक्षधरता रहिरहने छ । यो पक्षधरताका आधारमा हाम्रो प्यारो संस्था नेपाल पत्रकार महासंघलाई जीवन्त राखिराख्ने दिशामा भूमिका खेल्न सबैमा उत्प्रेरणा मिलोस् भन्दै ‘होम क्वारेन्टाइन’वाट सबै पृय अग्रज, समकालिन तथा मित्रहरुमा पत्रकार महासंघको स्थापना दिवसका अवसरमा हार्दिक शुभकामना । पत्रकार महासंघ एउटा संस्था मात्र हैन, हाम्रो गौरवशाली अभियान पनि हो ।

पोख्रेल, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष हुन् ।