खेमराज रिजाल
तुलसीपुर, ८ फागुन । शनिवार बिहान तुलसीपुरको उपमहानगरपालिकाको सभाहलमा आयोजित एउटा कार्यक्रम तोकिएको समयभन्दा करिब डेढघण्टा पछि मात्र सुरु भयो । यही विषयमा कार्यक्रमका एकजना सहभागी तुलसीपुर उपमहानगरपालिका–१८ का जागेश्वर भण्डारीले आक्रोश पोखे । ‘कृपया ! किसानको पनि समय हुन्छ भनेर बुझिदिनुहोला, भैँसी दुहुने समय हुन्छ, मकै रोप्ने समय हुन्छ, तोरी रोप्ने समय हुन्छ, रासायिनिक मल खरिद गर्ने पनि समय हुन्छ, अहिले तपाईंहरूले हाम्रो समय यसरी वर्वाद पार्दै जाने हो भने किसानको कसरी प्रगति हुन्छ ?’ भण्डारीको दुःखेसो हो यो ।
पुलुक्क घडी हेरेँ, उपमहानगरपालिकाको सभाहलको भित्तेघडी चल्न छाडेको रहेछ । कहिलेदेखि चल्न छाड्यो ? कुन विभागले हेर्छ घडी नचलेको ? अर्थात् घडी मर्मत विभागको जिम्मेवारी कसले पाएको होला ? यिनै प्रश्न उठिरहे । सायद त्यो घडीले पूरा एक दिनमा जम्मा २ पटक मात्रै सही समय दिनेछ । कार्यक्रममा किसानले समयको महत्व सुझाइरहँदा घडी रुकेको थियो, तुलसीपुरको । त्यसैले अचेल हरेक कार्यक्रममा जनप्रतिनिधिहरूबाटै समयको कुनै ख्याल हुँदैन । मानवअधिकार तथा शान्ति समाजको कार्यक्रम बाहेक कुनै पनि कार्यक्रम समयमा चल्न छाडेका छन् ।
यही माघ महिनाभर म खुबै कार्यक्रममा सहभागी बनेँ, नगर प्रमुख घनश्याम पाण्डे प्रमुख अतिथि भएका यस्ता सबै कार्यक्रमहरू कम्तिमा पनि एक घण्टा डिले भइरहेका छन् । तुलसीपुर खानेपानीमा चुनढुङ्गा उत्खनन्को अन्तरक्रिया होस् वा बेलझुण्डी खानेपानीको रिजर्भायर टेंकी उद्घाटनमा नगर प्रमुख पाण्डे निर्धारित समयभन्दा करिब डेढघण्टा ढिलो पुगेँ । तुलसीपुरको टरिगाउँ विमान स्थलको स्तरोन्नतिका लागि तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको सर्वपक्षीय अन्तत्र्रिmया कार्यक्रममा पनि नगर प्रमुखको उपस्थिति यस्तै ढिलो नै रह्यो । आयोजकले नै प्रमुख अतिथिलाई ढिला बोलाइदिन्छन् कि प्रमुख अतिथिको नै ढिलो उपस्थिति हुन्छ मैले सोधिखोजी गरेको छैन ।
व्याट्री सकिएर हो वा इन्जिन बिग्रिएर,े घडी रुकेको मलाई जानकारी भएन । कहिले बिग्रिएको त्यो पनि थाहा भएन तर तुलसीपुर रोकिएको धेरै भएको छैन । करिब एक÷दुई वर्षको अन्तरालमा यसपालि तुलसीपुर पुरै ठप्प भएको छ । घडी चलाउन व्याट्रीजस्तै तुलसीपुर चलाउने पैसाले हो तर यो आर्थिक वर्षमै तुलसीपुर उपमहानगरपालिका कम्तिमा ७१ करोडको ऋणमा चुर्लुम्म डुबेको छ । उधारोमा काम हुँदै गए ऋण अझै थपिने छ । त्यसैले उधारोको भार बोक्नभन्दा बरु नचल्ने अभ्यास गर्दैछ तुलसीपुर यो आर्थिक वर्षका लागि ।

घडी रोकिएजस्तै ठेकेदारहरू भुक्तानीका लागि रोकिनुपरेको छ । वडाहरूले भुक्तानी हुने आधार नभएकाले योजनाका काम रोक्नुपरेको छ । हैरानीमा छन् लेखाका कर्मचारीहरू, भुक्तानीका लागि चेक काट्न रोकिएको छ । भुक्तानीका लागि टिप्पणी उठाउने अधिकारीको कलम रोकिएको छ, भुक्तानी दिनु भनी सिफारिस गर्ने नगर प्रमुखको आदेश रोकिएको छ, नगरसभा हलको घडीजस्तै ।
‘हामीले चालु आर्थिक वर्षका लागि विकासे योजनाकै काम रोकेका छौँ, किनकि भुक्तानीको आधार भनेकै आन्तरिक स्रोत हो तर त्यसले सबै वडाका विकासे योजनाका भुक्तानी हुने छैनन्’, तुलसीपुर उपमहानगरपालिका–१७ का वडा सदस्य मदन बस्नेतले भने । १८ का वडा सदस्य पनि योजनाको भुक्तानीको काम रोकिएको स्वीकार्दै यो वर्षका योजनाको भुक्तानीमा निकै ढिलो भएको स्वीकारे । ‘मलाई लाग्छ, यो वर्ष विकासे योजना भुक्तानीमा सहज छैन, यसैले विचार पु¥याएर मात्रै योजनामा हात हाल्ने तयारीमा छौँ’, वडा सदस्य बस्नेतले भने ।
खेलकुद क्षेत्रको बजेट रोकिएको छ, स्वरोजगार तालिम र लैङ्गिक सचेतनाका वडास्तरीय अभियान रोकिएका छन् । ज्येष्ठ नागरिकलाई यो वर्ष न्यानो कपडा पनि बाँडिएन । रोकिएको छ, ज्येष्ठ नागरिकलाई घरमै निःशुल्क औषधी पु¥याउने अभियान । बसपार्कको ठेक्का रोकिएको छ । नदीजन्य पदार्थको उत्खनन् रोकिएको छ, सभाहलको घडी रोकिएजस्तै । प्रदेश सरकारले निर्धारण गरेको नदीजन्य पदार्थको राजश्व बढाएकाले ठेकेदारहरूले ठेक्का आवेदन रोकेका छन् ।
२८ स्थानमा ठेक्का आह्वान गर्दा ६ स्थानमा मात्रै ठेक्का प¥यो । ठेक्का पाएका व्यवसायीले विज्ञापन कर उठाउन रोकेका छन्, विज्ञापन कर महँगो भयो भन्ने व्यापारीको गुनासोले । नगरपालिकाका कर्मचारीहरूबाट फोहर व्यवस्थापन कर उठाउन रोकिएको छ । कसरी उठ्ला वार्षिक ६० करोड आन्तरिक राजश्व ? निकाशी कर उठाउनका लागि तुलसीपुरमा केही पनि छैन बाहिर निकासी गर्ने त्यसैले यो कर उठ्ने त कुरै भएन ।
यस अघि कहिल्यै भएन तुलसीपुरलाई अघिल्लो आर्थिक वर्षको ऋण बोक्ने अवस्था । कार्यकालको अन्त्यमै थोपरिएको ऋणको पुस्ता हस्तान्तरणजस्तै हुनेछ । आउने स्थानीय सरकारले पहिलो आर्थिक वर्ष त सायद अघिल्लो सरकारले बोकाएको ऋण तिनै ठिक्क हुनेछ । केही नेताहरूले भनिरहेका छन्, चुनाव जितेर पनि निकै चुनौती छ, रोकिएको तुलसीपुरलाई उठाउन । घडी त दश रूपैयाँको व्याट्री फेरे चल्न थाल्ला तर तुलसीपुर कसरी चलाउने ? प्रसङ्ग बदलौँ, किन रोकिएको होला घडी ? नजिकै बसेका पत्रकार नारायण खड्काको जवाफ थियो, ‘आज शनिवार सार्वजनिक बिदाको दिन, सायद बिदा मनाइरहेको होला सभाहलको घडीले… ।’