समाज रूपान्तरणका मियो ‘बुद्धि’

पुनाराम पन्थी

जीवन संघर्षको अर्को नाम हो ‘बुद्धि पन्थी’ । पन्थीको जीवन वृत्तान्त नियाल्दा वहाँ स्वयंमा एक उपन्यासको पुस्तक हुनुहुन्छ । उपन्यासका हरेक पानामा जीवन दर्शन, संघर्ष र सफलताको ऐना छर्लङ्ग देखिन्छ । त्यो ऐनाका प्रत्यक्षदर्शी हामी धेरै छौँ ।

पन्थीको जीवनयात्रा र संघर्षको गाँथा अरुको भन्दा भिन्न छ । अनपढ “बाआमा” का कान्छा छोरा बुद्धि पन्थी हंसपुर–९, अर्घाखाँचीमा जन्मिनु भएको हो । वहाँको बाल्यकाल दुर्गम गाउँ–ठाउँ र पाखापखेरामै बित्यो । हंसपुरमा माध्यमिक शिक्षा आर्जन गरेर उच्च शिक्षाका लागि वहाँ पाल्पा पुग्नुभयो । पाल्पामा पढ्दै गर्दा ‘ग्रामीण स्वावलम्बन विकास केन्द्र’ नामको एक सामाजिक संस्थामा जागिरमा लाग्नुभयो ।

पढाइ खर्चका लागि पनि वहाँलाई जागिर गर्नैपर्ने अवस्था थियो । पाल्पामा उहाँले पेशा र शिक्षालाई सँगै हाँक्नुभयो । स्वावलम्बी समाज निर्माणको अभियानका उत्प्रेरक बुद्धि पन्थीको भूमिका समाज रुपान्तरणका क्षेत्रमा प्रशंसनीय बन्दै गयो । दु्रत परिणाम ल्याउन सफल पन्थीलाई स्वावलम्बन संस्थाले प्रोत्साहन र सम्मान गर्दै क्रमशः उत्प्रेरक, बरिष्ठ उत्प्रेरक र जिल्ला प्रबद्र्धकको जिम्मेवारी दिँदै गयो । जागिर सँगसँगै वहाँले पाल्पाबाट अर्थशास्त्रमा स्नातकोत्तर शिक्षाको डिग्री पूरा गर्नुभयो ।

स्वावलम्बन कार्यक्रमको अवधि साँघुरिँदै थियो । पन्थीले आफ्नै अगुवाइमा रुपन्देहीमा ‘दीगो सामुदायिक विकासका निम्ति एकता’ नामको सामाजिक संस्था स्थापना गर्नुभयो । स्वावलम्बन परियोजना सकिएपछि वहाँ सोही संस्थाको अध्यक्षमा निर्वाचित हुनुभयो ।

संस्थाको मिसनसँगै वहाँको कार्यकुशलता, लगनशीलता र व्यक्तित्वको प्रभावले समुदायमुखी कार्यक्रम सञ्चालन गर्न करोडौँको सहयोग दिन दाताहरु तयार भए । संस्थाले परियोजना सञ्चालन गर्ने अवसर प्राप्त गर्दै गयो । कार्यक्रमलाई कुशल कार्यसम्पादन, रिपोर्टिङ र प्रभावकारी समन्वयका लागि सो संस्थाले पन्थीलाई नै कार्यकारी निर्देशक पदमा नियुक्त ग¥यो ।

लामो समयसम्म संस्थाको मिसनको मियो पन्थी नै हुनुभयो । उहाँको नेतृत्वमा समाज रुपान्तरणका धेरै अभियानहरु अगाडि बढे ।वहाँ निर्देशक भएर काम गर्दा थुप्रै बेरोजगार युवाहरुले रोजगार पाए । विपन्न मानिसहरुको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक अवस्थामा गुणात्मक परिवर्तन आयो ।

सीमान्तकृत मानिसको चेतनाको बिर्को खोल्ने काममा सफल प्रयत्नहरु भए ।संस्थाका कार्यक्रमले गर्दा धेरै मानिसहरु आय–आर्जनमा जोडिए । स्वास्थ्य, सरसफाई र पोषण सुधारमा परिवर्तन आयो । समुदायमा धेरै सामाजिक लिडरहरु जन्मिए ।समानता र समावेशीकरणमा सुधार आयो । कैयौँले उद्यमी बन्ने अवसर पाए ।

पन्थीको सामाजिक पहिचानको दायरा क्रमशः फराकिलो हुँदै गयो । सरकारी र गैरसरकारी संस्थाहरुको क्षमता विकासका लागि वहाँले धेरै योगदान दिनुभयो । रुपन्देही क्षेत्रमा तालिम, गोष्ठी, प्रशिक्षण र प्रवचनलगायतका कार्यक्रमहरु आयोजना गर्दा बुद्धि पन्थीको खोजी हुने गर्छ । वहाँले आर्जन गरेको ज्ञान धेरैलाई बाँड्नुभएको छ ।

रुपन्देही र पाल्पालगायतका जिल्लाहरुमा बुद्धि पन्थीलाई विख्यात व्यक्तित्व भनेर सम्झिन्छन् । सामाजिक अभियन्ता बनेर रुपान्तरणका लागि वहाँले खेलेको भूमिकाप्रति धेरैले खुलेर कदर गर्छन् । वहाँको व्यक्तित्व र कुशलताको सागरलाई संंक्षिप्तमा सम्प्रेषण गर्न यो पंक्तिकार पुनाराम पन्थीलाई निकै गाह्रो भइरहेको छ ।

अर्घाखाँचीको हंसपुरबाट बुबाआमा र दाजुहरुको साथमा कपिलवस्तु झर्नुभएका पन्थी अहिले बुटवलको देविनगरमा बस्दै आउनुभएको छ । पन्थीकी श्रीमती विष्णु खनाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नर्सिङ निरीक्षक हुनुहुन्छ । छोरी विवेचनाले पाल्पामा एमबिबिएस पढ्दै छिन र छोरा विवेकले जर्मनमा कम्प्यूटर साइन्स अध्ययन गर्दै छन् । बुद्धि पन्थीले ५३ बसन्त पार गर्नुभएको छ ।

हामी गफाडी गुरु मात्र होइन हाम्रो शिक्षा र सिद्धान्तलाई व्यवहारमा उतार्नु पर्छ र असल अभ्यासका लागि आफै नमुना बन्नुपर्नेमा वहाँको तर्क छ । व्यवहारवादी सिद्धान्तका हिमायती पन्थीले आफ्नै निजी स्वामित्वमा बुटवल उमनपा–१३, नयाँगाउँमा लोकल कुखुरा र टर्की फर्म सञ्चालनमा ल्याउनुभएको छ ।

त्यहाँ हजार बढी स्थानीय जातका कुखुरा, टर्की, ड्रागनफ्रुट, केरा खेती, तरकारी र अन्य धेरै उपजहरु छन् । बुद्धि पन्थी कृषि फर्ममा प्रायः आफै खट्नुहुन्छ । कुखुराको सुली सोहर्नुहुन्छ । टर्कीलाई दाना र ड्रागन खेतीमा मलपानी हाल्ने काममा दिनहुँ संलग्न हुनुहुन्छ । उहाँको फर्म सिकाइ केन्द्रको रुपमा स्थापित हुँदै गएको छ । स्थानीय स्तरमै धेरै गर्न सकिने वहाँको व्यावहारिक ज्ञान र अनुभव छ ।

शिक्षामा स्नातकोत्तर मात्र होइन पद र प्रतिष्ठाका हिसाबले विभिन्न संस्थाको अध्यक्ष, प्रबन्धक र निर्देशक भएका पन्थीलाई सुली सोहर्न कुनै बाध्यता थिएन । फर्ममा काम गर्ने कर्मचारीको कमी भएर पनि होइन । आफ्नो दृष्टिकोण र मूल्य–मान्यतालाई व्यवहारमै लागू गर्ने वहाँको विचित्रको सौख हो । फर्ममा अध्ययनका लागि आउने हरेक आगन्तुकहरुलाई वहाँको सुझाव छ– ‘स्वस्थ जीवनका लागि माटोमै खेल्नुपर्छ, अर्गानिक वस्तुको अधिक प्रयोग गर्नुपछ ।’

राष्ट्र निर्माणका लागि ‘समृद्ध नेपालसुखी नेपाली’को नारा साकार पार्न हामी हरेकले स्थानीय उत्पादनमा जोडिनु आवश्यक छ । सरकारले ‘एक व्यक्ति एक उत्पादन’को नीति ल्याउनुपर्नेमा पन्थीको सुझाव छ । कृषि कर्म र पशुपंक्षी पालन पन्थीको पुख्र्यौली पेसा हो । जीवनको उत्तराद्र्धमा आफू पुख्र्यौली पेसामै फर्केर सफल उद्यमीको नामले चिनिन चाहनुहुन्छ, वहाँ ।

हजारौँ युवाहरु कामको खोजीमा वर्षेनी विदेश पलायन भइरहेको सन्ंदर्भमा पन्थीले पस्केको पौरख र सफल दृष्टान्त सबैका लागि अनुकरणीय छ । आफ्नो मालिक आफै हुने र स्थानीय स्तरमै स्वरोजगार सिर्जना गर्न सकिने गत्तिलो उदाहरण प्रस्तुत गर्नुभएको छ ।

पन्थीको कामलाई प्रोत्साहन र पेशालाई प्रबद्र्धन गर्नका लागि बुटवल उपमहानगरपालिकाले यस वर्ष एक लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । आफ्नो पेसाको प्रबद्र्धन र व्यावहारिक विद्वत्ताको सम्मान स्वरुप बुटवल उपमहानगरपालिकाले गरेको यो सहयोगप्रति म कृतज्ञ छु भन्नुहुन्छ, बुद्धि पन्थी ।