बालाराम खड्का
तुलसीपुर, २ फागुन । स्मार्ट सिटीका साँघुरा सडकले दैनिक ट्राफिक व्यवस्थापनमा चुनौती थपेका छन् । बजार कुरुप देखिनुका साथै सबैलाई सास्ती हुने गरेको छ । ५ मिटरको सडकमा निर्माण सामग्री त्यही छ, फुटपाथको पसल त्यहीँ, पैदल यात्रुहरु त्यसैमा हिँड्नुपर्ने बाध्यता छ । त्यसैमा हेवी सवारीका साधन र वरपर सडकमा साना–ठूला सवारीका साधनहरु अस्तव्यस्त पार्किङले दुर्घटनाको जोखिम पनि बढेको छ ।
साँघुरो सडक त्यसैमा पैदल यात्रुदेखि साना–ठूला सवारी साधन, सडक वरिपरी निर्माण सामग्री त्यसमा पनि फुटफाटको सडक ढाक्नेगरी पसलका सामग्री । तुलसीपुरमा सडक नाला मर्मतको काम केही लाइनमा सञ्चालन भएको छ । यसले गर्दा तुलसीपुर बजारमा ट्राफिक जाम हुने गरेको छ । ट्राफिक प्रहरी तथा सरोकारवालालाई यस विषयमा दैनिक टाउको दुखाई भएको छ । विभिन्न स्थानमा निश्चित पार्किङको लागि होर्डिङ बोर्ड राखिएको छ तर पार्किङको दीर्घकालीन व्यवस्थापनको सवालमा न त स्थानीय सरकार गम्भीर छ नत सरोकारवालाहरु नै । यो विषयमा बेला–बेलामा कुरा उठ्ने गरे पनि त्यसको दिगो व्यवस्थापन हुन सकेको छैन ।
दैनिक जसो ट्राफिक प्रहरीहरु सडकमै ट्राफिक व्यवस्थापनमा तल्लिन हुन्छन् । उनीहरुले एउटा रोडमा पार्किङ व्यवस्थापनको काम गरिहँदा अर्को रोडमा गाडीको फेरि त्यस्तै अवस्था देखिने समस्या हुने गरेको छ । सीमित जनशक्तिमा पनि साँघुरो सडकमा पनि ट्राफिक व्यवस्थापन र सडक पेटी खाली गर्ने अभियानलाई भने ट्राफिक प्रहरी र नगरका व्यक्तिहरु भने बेला–बेलामा लाग्ने गरेका छन् । आइतवार पनि ट्राफिक प्रहरी, जनपथ प्रहरी, अटो व्यवसायी र उपमहानगरका प्रतिनिधिहरु व्यवस्थापनमा तल्लिन थिए ।
ट्राफिक प्रहरीले बजार व्यवस्थापन संगै अटो तथा अन्य सवारी चालकलाई सचेना पनि दिदै हिडेका थिए । ट्राफिक नियमको वारेमा तथा दुर्घटना न्यूनीकरणका लागि । ‘कसरी सवारी साधन पार्किङ गर्ने ? दुर्घटना न्यूनीकरण, ओभरलोडका बारेमा प्रशिक्षणसमेत दिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तीर्थ भुसालले जानकारी दिए । त्यस्तै ट्राफिक प्रहरी प्रमुख भुसालले आफूहरु दैनिक ट्राफिक व्यवस्थापनमा लागे पनि धेरै समस्या हुने गरेको बताए । ‘हामीले जतिसक्यो व्यवस्थापनमा लागेका छौं तर सधै यसरी दैनिक हिँडेर कहाँ सम्भव हुन्छ’, उनले भने । उनले कारबाही गरेर मात्र ट्राफिक व्यवस्थापन नहुने भन्दै सचेतना र त्यसको स्थायी व्यवस्थापन आवश्यक रहेको बताए ।
आइतवारदेखि सुरु भएको अभियान ३ दिनसम्म सञ्चालन गर्ने उनले बताए । ‘ट्राफिक प्रहरीको काम कारबाही गरेर राजश्व बढाउनेमात्र होइन, सचेतना दिनेर दुर्घटना न्यूनीकरण र व्यवस्थापन कसरी गर्ने पनि हो, अटेरीलाई त्यसपछि कारबाही सुरु हुन्छ’, उनले भने । त्यसको दीर्घकालीन व्यवस्थापन नहुँदासम्म तुलसीपुरको बजार व्यवस्थित नहुने देखिएको छ । ‘बेला–बेलामा बैठकमा यो विषयमा कुरा उठ्ने गर्छ तर कार्यान्वयन हँुदैन’ सरोकारवालाहरु बताउँछन् । अहिले सीमित सवारी साधनहरुका लागि बनाएका सडकहरुमा सवारी साधनको चाप बढेकाले पनि बजार सडक अस्तव्यस्त हुने गरेको छ ।
‘बाटोको अवस्था पुरानै हो, सवारी साधन दिनप्रतिदिन बढेको छ कहाँबाट ट्राफिक व्यवस्थापन राम्रो हुन्छ ?’ चालकहरु भन्छन्– ‘त्यसका लागि सबै पक्षले चासो देखाउनुपर्ने समय आएको छ ।’ कसैले अटेरी त कसैले जान–अन्जान तथा स्थान अभावले समस्या व्यहोर्नुपर्ने अवस्था आएको सवारी चालकहरु बताउँछन् । ‘सडकछेउभरि मोटरसाइकल छन्, कहाँ पर्किङ गर्ने हामीलाई पनि समस्या छ’, मोटरसाइकल चालक गोविन्द वलीले भने । त्यस्तै चालकहरुले पनि ट्राफिक नियम मान्नुपर्ने भए पनि पर्याप्त स्थान अभावका कारण आफूहरुलाई पर्किङको समस्या हुने गरेको बताए ।
पुरानो संरचनाका कारण त्यतिबेलाका सडकहरु अहिले साँघुरो हँुदै गएका छन् । बाइपास रोडहरु नहुँदा ठूला सवारीका साधनहरुदेखि सबै सवारीका साधनहरु मुख्य बजारबाटै आवत–जावत हुने अवस्था छ । त्यसमा पनि बजारमा घरहरु निर्माण गर्दा निर्माण सामग्रीहरु पनि बाटोमै राख्ने प्रचलनले बजार व्यवस्थापनमा समस्या हुने गरेको स्थानीय व्यवसायी तथा राप्ती बुकस्टलका सन्चालक शंकर शर्माले बताए । तुलसीपुर उपमहानगरपालिकाले पटक–पटक घरहरु निर्माण गर्दा सडकमा निर्माण सामग्री नराख्न सूचना जारी गरे पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।
‘सडकै ढाक्नेगरी निर्माण सामग्री हुन्छ त्यही बाटोमा गाडी, पैदलयात्रु अनि कसरी हुन्छ बजार व्यवस्थापन ?’, पैदलयात्रुहरु भन्छन् । ‘यसले गर्दा बजारमा बृद्ध, बालबालिका र स्कुले विद्यार्थीहरुलाई झनै समस्या हुने गरेको छ ।’ तुलसीपुर उपमहानगरपालिकाले फुटपाथका व्यापारहरु हटाउनुका साथै ठेला रिक्सालाई पनि बन्देज लगाएको थियो । नियन्त्रणमा लिएका ठेलागाडाहरु उपमहानगरपालिका कार्यालय परिसरमा अहिले देख्न सकिन्छ । उनीहरुलाई उपयुक्त स्थान दिनेहो भने त्यो समस्या समाधान हुनसक्ने बताएको छ ।