केपी सुवेदी
सूचनाको सबैभन्दा विश्वसनीय विश्वस्तरीय स्रोतहरुमध्ये रेडियो पहिलो साधन हो । हामी देश–विदेशका समाचार घरमै बसेर प्राप्त गर्ने माध्यम रेडियो हो । आज सूचना प्रविधि धेरै उच्च स्तरमा पुगिसकेको छ । इन्टरनेट सूचनाको साधन बनिरहेको आजको सन्दर्भमा रेडियो पनि इन्टरनेटको सहायताले अझै प्रभावकारी छ ।
कुनै पनि घटना घर जोडिएको छिमेकीले थाहा नपाउँदै पृथ्वीको एउटा धु्रवमा घटेको घटना अर्को ध्रुवमा बस्ने मानिसले सँगै थाहा पाउन सक्ने बनाइदिएको छ । विपरीत ध्रुवका मानिसहरु एकआपसमा प्रत्यक्ष कुराकानी गर्न सक्ने सञ्चार प्रविधिसम्म आइपुग्न रेडियो नै पहिलो पाइला थियो । यसको जन्मदाता तथा आविष्कारक थिए इटलीका सुप्रसिद्ध वैज्ञानिक गुल्गेल्मो मार्कोनी ।
मार्कोनीले सर्वप्रथम सन १८९० मा आफ्नो घरको एउटा कोठाबाट अर्को कोठामा आवाज पु¥याउन प्रयत्न गर्दागर्दै धागोको सहायताले आफ्नो आवाज अर्को कोठासम्म पु¥याए । त्यतिले उनलाई थप अन्वेषण गर्न प्रेरणा जाग्यो । त्यसपछि धागो वा माध्यमरहित हावाको सहायताले आवाजका तरङ्गहरु टाढासम्म पु¥याउन सकिने प्रविधिको आविष्कार गर्न सफल भए ।
दूरसञ्चारको पहिलो पाइला टेलिग्राफपछि कोडहरुको खोजी गरेर त्यसको मद्दतले मार्कोनी ले १८९० मा पत्ता लएको बिनातार सूचना, गीत, संगीत अथवा कुनै पनि आवाज पृथ्वीको कुनै पनि ठाउँमा पठाउन र सुन्न सकिने गराउन चुम्बकीय शक्तिको प्रयोग गरेर गरेका थिए । चुम्बकको सहायताले पठाउने र चुम्बककै सहायताले वायुमण्डलबाट हाम्रो कानसम्म पु¥याउने वायरलेस प्रविधि नै १८९५ मा रेडियोयन्त्र बन्न पुगेको हो । सन् १९२०–२२ तिर बेलायतबाट रेडियो प्रसारण केन्द्र स्थापित भई प्रसारण सुरुवात भएको यसको ऐतिहासिक पृष्ठभूमि हेर्दा भेटिन्छ।
त्यसअघि सूचनाका स्रोत भनेको मानिस स्वयं वा मानिसकै सहायताले उसले आफ्नो सन्देश आफूले जानेको भाषामा लेखेको लिखतबाट वा आमनेसामने आवाज दिएर पु¥याउन सकिन्थ्यो भने रेडियो यन्त्रको विकासले राज्यले गर्ने युद्ध, शान्ति, विकास तथा विविध सूचना प्रसारणको सशक्त माध्यम बनाएपछि जनमानसमा रेडियो मानवीय चेतनाको सम्वाहक बनेर उदाएको हो ।
रेडियोबाट प्रसारण गरिने सबै प्रकारका सूचना एवं शिक्षामूलक, सन्देशमूलक कार्यक्रमहरु राज्यको अभिन्न अङ्ग बनेको थियो र आज पनि सञ्चारको सबै भन्दा विश्वसनीय आधार रेडियो नै हो । जतिबेला तार फोन वा मोबाइल फोन उपलब्ध थिएन त्यो बेलाको सूचनाको एकमात्र साधन भएकोले रेडियोले सबैको विश्वास जित्न सफल भयो र भरपर्दो माध्यम बन्न सफल भयो ।
रेडियो प्रसारणका कोडहरुमा मेगाहर्ज र सर्टवयभ प्रसारण केन्द्रहरु खोजी गर्न र त्यसलाई अवस्थित गरेर सूचना मनोरञ्जन तथा ज्ञानमूलक सन्देश प्रवाह गर्ने सेट र रिसिभर तयार गर्न आफ्नो अनुसन्धान केन्द्रित गर्ने धेरै वैज्ञानिकहरुको अन्वेषण यसमा जोडिएर आजको अवस्थामा आइसकेको हो । रेडियो नेपालमा २००७ चैत्र २० गते पहिलोपटक प्रसारण भएर बन्द भएको भनिन्छ तर प्रजातन्त्र स्थापनासँगै रेडियो पनि आवश्यक संयन्त्र बनेको थियो भन्ने सजिलै बुझ्न सकिन्छ ।
रेडियो सञ्चारको माध्यम भएपछि चेतना स्तर उकास्न महङ्खवपूर्ण साधन हो । त्यसैले निरंकुशताका विरुद्ध जनतालाई जगाउनेदेखि नागरिक अधिकारको बहाली गर्न यस्ता साधनले चामत्कारिक परिणाम दिने हुँदा फेरि पनि सुरुवात भएको रेडियो पञ्चायती निरंकुशता छाइरहँदा पनि हरेक नेपालीको घरको प्रतिष्ठा बन्न पुग्यो । निरंकुश सत्ताले आफ्नो अनुकूलतामा यसको प्रयोग गरेको भए पनि जनचेतना विस्तार गर्न र प्रजातन्त्र पुनःस्थापना गराउने रेडियोको भूमिका महङ्खवपूर्ण रह्यो ।
प्रजातन्त्र पुनःस्थापना भएपछि, सञ्चारमा आमूल परिवर्तन भयो । सामुदायिक रेडियोहरु सञ्चालन गर्ने र त्यस्ता रेडियो सहकारी वा व्यावसायिक रुपमा सञ्चालन गर्न फ्रिक्वेन्सी मोडुलेशन (एफएम ) स्टेशन स्थापना गरेर सञ्चालन गर्न अनुमति दिने सञ्चार नीति बनेपछि देशभर करिब तीन सय एफएम रेडियोहरु सञ्चालनमा छन् ।
जनमानसमा आज पनि सञ्चारका अन्य मोबाइल इन्टरनेट जस्ता अत्याधुनिक साधनहरु दुरुपयोग हुने सम्भावना धेरै छन् र भ्रमित गर्ने समाचार यदाकदा दिने गर्छन् । तर रेडियोप्रति एकदमै विश्वास रहेको छ । रेडियोले नभनेसम्म सरकारले गर्न लागेका वा लिएका निर्णयहरु हुन् या विश्वका घट्ने विभिन्न घटना, दुर्घटना हुन सबैभन्दा पहिले रेडियो सुनेर त्यसको प्रतिक्रिया दिने गरी जनविश्वास जितेको साधन भएकोले यसको विश्वसनीयता अटल रहोस् भन्ने शुभेच्छा छ ।
सामुदायिक रेडियो प्रसारक संघ पनि छ । उसको दायित्व पनि हो कि रेडियोप्रतिको विश्वास डगमगाउनु हुँदैन किनकि सरकारलाई जनताप्रति र जनतालाई अधिकार र दायित्वप्रति सचेत र खबरदारी गर्न यसको जन्म भएको हो ।