व्यवस्था बदल्यौँ, अवस्था बदलिएन

सत्ताइसौँ जनयुद्ध दिवस

खेमराज रिजाल

दाङ,१ फागुन । मुलुकमा आमूल परिवर्तनको लक्ष्य राखेर सुरु भएको सशस्त्र द्वन्द्व शान्ति प्रक्रियामा रूपान्तरण भएर सत्तारुढ घटक नेकपा माओवादीले फागुन १ लाई मुलुकभर सत्ताइसौँ जनयुद्ध दिवसका रूपमा मनाइरहँदा जनयुद्धकै क्रममा कम्मर मुनिका अङ्ग नचल्ने जनयुद्धका घाइते चक्रपाणि शर्मा(सिपी) तुलसीपुर उपमहानगरपालिका—१७ दुधरास स्थित आफ्नो घरको बरण्डामा बैसाखीको सहारामामा परिवारसँग भलाकुसारी गरिरहेका थिए ।

श्रीमान–श्रीमती र ५ छोरी सहितको परिवार पालिरहेका छन् सिपीले, सरकारले उपलब्ध गराउने मासिक १८ हजार रूपैयाँ जीवन निर्वाह भत्ताले । तीन छोरीको विवाह भइसक्यो । यस बीचमा दुई छोरी हेमन्तपुरको शहीद स्मृति स्कूलमा पढिरहेका छन् । विसं २०६१ सालको चैत महिनामा माओवादी सेनाले रुकुमको खारा चौकी आक्रमण गर्ने क्रममा बमको धक्काले फालेको थियो, सिपीलाई । यसक्रममा उनको स्पाइनलले काम गर्न छोड्यो । उपचारले अरु त निको भयो तर स्पाइनलले काम नगर्दा कम्मरमुनिको भाग सधैँका लागि नचल्ने भयो, उनको ।

नेपालजञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा आइएल पढ्दापढ्दै विसं २०५६ सालमा भूमिगत भएका उनी निरन्तर आन्दोलनमा योद्धाकै भूमिकामा खटिए । उनको शरीर चल्न छाडेको १७ वर्ष पूरा भएको छ तर मनमस्तिष्क भने चलिरहेको छ । तात्कालीन समाजमा व्याप्त उत्पीडनको अन्त्यका लागि उनले अध्ययनलाई थाँती राखेर जनयुद्धमा होमिए तर मुलुकले अहिले सत्ताइसौँ जनयुद्ध मनाइरहँदा उनको मन पनि पूर्णसन्तोष छैन । कतै नेताहरू सत्तामोहमै बरालिने हुन् कि भन्ने अन्दाज गरिरहन्छन्, सिपीले । ‘मुलुकमा संविधानसभा, संघीयता, गणतन्त्र र संघात्मक गणतान्त्रिक संविधान हाम्रो जनयुद्धकै एजेण्डा हुन् तर अझै पनि धेरै जनअपेक्षा पूरा हुनसकेका छैनन्’, जनयुद्धका घाइते शर्मा भन्छन्, ‘व्यवस्था त फेरियो तर अवस्था फेरिनसकेको छैन ।’

शर्माजस्तै जनयुद्धमा कम्तिमा १२ हजार जति नागरिक द्वन्द्वको घाउबीच बाँचिरहेका छन् । सिपी शर्मालगायत केहीले त राज्यबाट जीवन निर्वाह भत्ताको पहुँचमा पुगेका छन् तर धेरैजना अपाङ्ग तथा घाइतेहरू त यो सुविधाको पहुँचमा समेत पुग्न सकेका छैनन् । सल्यान जिल्लाको साविक कोटमौला गाविसमा जन्मिएका शर्मा अहिले जनक्रान्ति घाइते योद्धा संगठनका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजकको भूमिकामा समेत रहेका छन् ।

उनकै भनाइमा शर्माजस्तै कोटिका घाइतेहरू यस प्रदेशमा करिब ३५ जना छन् । अन्य फरक प्रकृतिका घाइते त मुलुकमा कति छन् कति ? यो राज्यले नै अभिलेखीकरण गरेको छैन । संघीय सरकारले घाइतेको अवस्था हेरेर केहीलाई मासिक १८ हजार जीवन निर्वाह भत्ता दिन्छ, उनीहरूलाई विशिष्ट श्रेणी भनिएको छ । त्यो भन्दा मुनिकालाई मासिक ९ हजार र सबैभन्दा कम ४ हजार मासिक जीवन निर्वाह भत्ता दिने गरिएको शर्माले बताए ।

शर्माले आफूजस्ता सयौँ घाइतेहरूलाई अब माओवादीको घाइतेका रूपमा नलिएर परिवर्तनका घाइतेका रूपमा लिन पनि आग्रह गरे । ‘हामी राज्यका घाइते हौँ, परिवर्तनका घाइते हौँ, हाम्रै बलिदानीपूर्ण संघर्षका कारण मुलुकमा यो परिवर्तन आएको हो’, शमाले भने, ‘तर हाम्रा सबै सपना पूरा हुनसकेका छैनन् ।’ आफू माओवादी केन्द्रको हालैको महाधिवेशनमा प्रतिनिधिका रूपमा पनि सहभागी भएको बताउने शर्माले महाधिवेशनमा पार्टीलाई अझै पनि परिवर्तनको दिशामा आन्दोलनमा जान सुझाव दिएको बताए ।

‘एक चरणको सशस्त्र आन्दोलन हामीले पूरा गरेर मुलुकमा यो परिवर्तन ल्यायौँ तर अझै पनि हाम्रा अधिकारहरू पूरा गराउन थुप्रै नीतिगत समस्याहरू यथावत रहेका छन्’, शर्माले भने । अझै पनि आम नागरिकलाई समावेशी मूलधारमा ल्याउन बाँकी रहेको बताउँदै उनले अझै पनि मानसम्मान र व्यवस्थापनको अभाव रहेको बताए । राज्य व्यवस्था बदल्न जुटेकाहरू अब शैली बदल्न पनि जुट्नुपर्ने उनको आग्रह थियो । उनीहरूले राज्यले दिएको आत्मसम्मानलाई ठेस लाग्न नदिने र बचाइराख्ने पनि बताए ।

जनयुद्ध दिवसको अवसरमा उनले पत्रकारहरू माझ मुलुकमा आमूल परिवर्तनका क्रममा शहीद हुनेहरूप्रति पनि श्रद्धासुमन व्यक्त गर्दै परिवर्तनको प्रत्याभूति सबै वर्ग र समुदायलाई दिलाउन पनि राज्यलाई आग्रह गरे । आफूहरूले उत्पीडनको मुक्तिका लागि सशस्त्र युद्ध गरेको र हजारौँले बलिदानी पनि गरेको स्मरण गर्दै युद्ध सधैँ एकै प्रकारको नहुने हुनाले सत्तामा गएको स्मरण गरे । तर, अझै पनि आफ्ना सपनाहरू पूरा गराउन राज्यले थुप्रै काम गर्न बाँकी रहेको पनि उनको अभिव्यक्ति थियो ।

त्यस्तै बंगलाचुली गाउँपालिकाका जनयुद्धका घाइते खगेश्वर घर्तीले पनि जनयुद्धकै क्रममा एउटा आँखा गुमाए । उनकीश्रीमती पनि जनयुद्धकी घाइते हुन् । उनको परिवारले पनि अझै परिवर्तनको अनुभूति गर्न पाएको छैन । युगान्तकारी परिवर्तनका लागि सशस्त्र युद्ध गर्दागर्दै खगेश्वर विसं २०५९ सालमा अर्घाखाँचीको सन्धीखर्कमा सेनाको ब्यारेक आक्रमणका क्रममा आफ्नो एउटा आँखा गुमाए । उनकी श्रीमती पनि जनयुद्धकै घाइते हुन् । उनी भालुवाङमा दोहोरो भिडन्तका क्रममा घाइते बनिन् । २ छोरा, एक छोरी र बिरामी श्रीमतीको पालनपोषणका लागि खगेश्वर अहिले ग्यारेजमा लेबरको काम गर्दै छन् ।

‘मुलुकमा शान्ति स्थापना भएको अहिले १५ वर्ष पुग्दासम्म पनि हामीले राज्यको आश्वासनको पोका भन्दा अरु केही पाउन सकेका छैनौँ’, खगेश्वरले भने । उर्वर उमेर जति जनयुद्धमा लगाएको बताउने उनले बाँकी बुढ्यौली उमेरमा परिवार पाल्न समेत निकै कठिनाइ भएको बताए । ‘आँखा नभएको कारण आफूलाई विदेशमा मजदुरी गर्न जाने अवस्था समेत रहेन’, खगेश्वरले भने । तर नेपाल सरकारले भने यहाँ अपाङ्ग परिचयपत्र बनाउनका लागि दुवै आँखा नभएकालाई मात्रै दिने गरेको छ ।

त्यो सुविधाबाट पनि खगेश्वरको परिवार वञ्चित छ । नेताहरूले आफूलाई बाँडेका सपना पूरा गर्नुको साटो सत्तामा पुगेर आफू मात्रै सुविधाभोगी बन्न लागेको उनको बुझाइ छ । खगेश्वर र सिपी त प्रतिनिधि पात्र मात्रै हुन् । मुलुकभर २७औँ जनयुद्ध दिवस मनाइरहँदा हजारौँ जनयुद्धका घाइतेहरूले सरकारप्रति यस्तै गुनासाहरू पोखिरहेका छन् ।