तुफानबाबु श्रेष्ठ : रेडियो कार्यक्रम शान्त तलाउका प्रस्तोता
स्वामी विवेकानन्द आफ्ना गुरु स्वामी रामकृष्ण परमहंसको देहावसान पश्चात तीर्थयात्रामा निस्किए ।
धेरै ठाउँको भ्रमण गर्दै उनी काशी पुगे र विश्वनाथ मन्दिरको दर्शन गर्न गए । दर्शन गरेर मन्दिरबाट बाहिर निस्कँदा मन्दिर अगाडि केही बाँदरहरू यताउता घुमिरहेका थिए ।
त्यसबेला स्वामीजीले ठुलो खल्ती भएको कपडा लगाएका थिए । उनी पढाइको प्रेमी थिए, त्यसैले उनको खल्ती किताब र कागजले भरिएको थियो । भरिएको गोजी देखेर बाँदरहरूलाई त्यसमा केही खानेकुरा छ कि भन्ने भ्रम भयो र उनीहरू स्वामीजीको पछि लागे ।
आफ्नो पछिपछि बाँदरहरू आउँदै गरेको देखेर स्वामीजी डराए र आत्तिएर छिटो हिँड्न थाले । बाँदरहरूले पनि आफ्नो गति बढाए, जसका कारण स्वामीजीको डर झनै बढ्यो र उनी दौडन थाले । तर बाँदरहरु पनि उनको पछि लाग्न थाले ।
स्वामीजीले बुझेनन् अब के गर्ने? बाँदरले छोड्ने नाम लिइरहेका थिएनन् । उनी डरको पसिनाले निथ्रुक्क भिजिसकेका थिए । तर त्यहाँ उपस्थित कोही पनि मानिस उनलाई सहयोग गर्न अगाडि आएनन् । सबै दर्शक बनेर तमाशा हेरिरहेका थिए ।
त्यसपछि स्वामीजीले भीडबाट एउटा आवाज सुने, “नभाग ।“ त्यो शब्द स्वामीजीको कानमा ठोक्किने बित्तिकै उनी रोकिए । उनले महसुस गरे कि जब हामी प्रतिकूलताको डरले भाग्छौं, यसले हामीलाई छिटो पछ्याउँछ । यदि हिम्मतका साथ सामना गर्यो भने अनुहार लुकाएर ऊ आँफै भाग्नेछ ।
त्यसपछि के थियो र? उनी पछाडि फर्किए र निर्भीकतापुर्वक अडिए । स्वामीजी अडिएको देखेर बाँदरहरु पनि अडिए । केही बेर उभिएपछि ती सबै बाँदरहरू वापस फर्किए ।
त्यो दिनको घटनाले स्वामीजीको जीवनमा एउटा नयाँ मोड ल्यायो । त्यसपछि आफ्नो जीवनमा आईपरेका हरेक समस्या र समाजका विकृतिहरू प्रति नडराएर उनले हौसलाका साथ साहसले सामना गरे ।